नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा अहिले भारतीय मिडियामै बाक्लोसँग भइरहेको छ। इरानमाथि आक्रमण गर्ने योजना एक हप्ता अघि नै तय भएको अवस्थामा मोदी इजरायल पुगेका थिए । उनी फर्किएको भोलिपल्टै इरानमाथि आक्रमण भयो ।
अमेरिकाको समाचार साइट एक्सियोसले अमेरिका र इजरायलले वास्तवमा इरानमाथि एक हप्ताअघि नै आक्रमणको योजना बनाएका खुलासा गरेको छ । तर अमेरिकी र इजरायली अधिकारीहरूका अनुसार अपरेशनल र इन्टेलिजेन्स कारणले आक्रमण सारिएको थियो । आश्चर्यजनक कुरा त के छ भने भारतीय प्रधानमन्त्री इजरायलको भ्रमणबाट फिरेलगत्तै इजरायलले इरानमाथि आक्रमण गर्यो ।
एक हप्तासम्म किन आक्रमण टारियो त ? त्यसबेला एक्सियोसले डोनाल्ड ट्रम्पसँग दुई विकल्प रहेका जनाएको छ । कूटनीति र युद्ध । यो एक हप्तामा अमेरिकी अधिकारीहरूलाई आफ्नो योजनामा काम गर्न थप समय मिल्यो, जसको योजना विगत दुई महिनादेखि भइरहेको थियो। यसैले प्रश्न उठ्छ : के मोदीको भ्रमणलाई इजरायलले कभरको रूपमा प्रयोग गर्यो ?
इरानलाई अन्तिम मौका वा झुक्याउने खेल?
यो एक हप्तामा जेनेभामा इरानसँग वार्ता भएको थियो । दुनियाँलाई गुमराहमा राख्नका लागि पनि अमेरिकाले इरानलाई अन्तिम मौका भन्दै वार्ता गरेको थियो । फेब्रुअरी १७ मा अमेरिकी र इरानी अधिकारीहरूको दोस्रो चरणको वार्ता कुनै नतिजाबिना सकियो ।
त्यसपछि अमेरिका र इजरायली अधिकारीहरूले फेब्रुअरी २१ मा इनमाथि आक्रमणको मिति तय गरे । तर फेब्रुअरी २१ मा आक्रमण गर्ने योजना टारियो । अमेरिका र इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार यसको मुख्य कारण त्यस क्षेत्रको खराब मौसम थियो ।
तर ,अमेरिकी अधिकारीले यसको खण्डन गरेका छन् । उनले भनेका छन्, ‘केही मानिसहरूले यो चन्द्रमा, मौसम वा अरू कुनै कुरासँग सम्बन्धित छ भन्छन् । तर यो बकवास हो ।’
उनले भने, ‘मौसमको कुरा त थियो। तर यसमा कुनै शंका छैन, मौसमको मामिला इजरायलीहरूको दिमागमा बढी थियो ।’
जबकि अर्का इजरायली अधिकारीले बताएअनुसार मुख्य रूपमा अमेरिकाका तर्फबाट आक्रमणमा ढिलाइ भयो । इजरायल डिफेन्स फोर्ससँग समन्वय थप सुदृढ बनाउन भन्दै अमेरिकाका तर्फबाट आक्रमणको मिति सारिएको थियो ।
इजरायली राजदूत येचियल लेइटरले दुई फरक बैठकलाई लक्षित गरी आक्रमणको योजना बनाइएको दाबी गरेका छन् ।
इजरायली अधिकारीका अनुसार सुरुको आक्रमण इरानका सर्वोच्च नेता अली खामेनेई र उनका छोराहरूसँगै वरिष्ठ इरानी अधिकारीहरूको बैठकहरूलाई निशाना बनाउन थियो, जसमा हरेक शनिबार हुने नियमित बैठक पनि समावेश थियो ।
तर एक हप्ताको ढिलाइले इजरायली र अमेरिकी इन्टेलिजेन्स अधिकारीहरू खामेनेई आफ्नो घरबाट अन्डरग्राउन्ड बंकरमा सर्ने र उनलाई मार्न कठिन हुने चिन्तामा चिन्तित थिए ।
एक इजरायली गुप्तचर अधिकारीका अनुसार अमेरिका र इजरायलले हमला नहुने संकेत दिन चाहेका थिए, ताकि खामेनेई सुरक्षित महसुस गरेर बंकरमा नजाऊन् । यस सन्दर्भमा मोदीको कूटनीतिक भ्रमणलाई कभरका रूपमा प्रयोग गरिएको आशंका छ ।
इजरायलका एक इन्टेलिजेन्स अधिकारीले अमेरिका र इजरायल इरानसँग वार्ताका नाममा युद्ध नहुने सन्देश दिएर भित्रिभत्रै हमलाको तयारीमा जुटेको खुलासा गरेका छन् । इरानका सर्वोच्च नेता सुरक्षित महसुस गरेर बङ्करमा नजाउन् भन्नका लागि यी दुई देशले वार्ताको ढोङ गरेको उनले खुलाए ।
के यसै कारण भारतीय प्रधामन्त्री नरेन्द्र मोदीलाई इजरायलमा बोलाइएको थियो त ? मोदीको कूटनीतिक भ्रमणलाई आक्रमण नहुने भनेर ‘कभर’का रूपमा प्रयोग गरिएको अनुमान अहिले भइरहेको छ ।
ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले भने खामेनेई जमिनमुनि लुकेका भए पनि भेटिने दाबी गरेका छन् । एक्सियोसले जनाए अनुसार वार्ता चलिरहँदा खामेनेई जमिनमुनि बङ्करमा लुक्न गएका थिएनन् । तर उनले भने, ‘यदि उनी जमिनमुनि भए पनि हामीले उनीहरूलाई समात्थ्यौँ ।’
आक्रमणमा एक हप्ताको ढिलाइले अघिल्लो जेनेभामा भएको वार्ताको अर्को चरणका लागि पनि मार्ग प्रशस्त गर्यो । तर यो बैठक किन बोलाइएको थियो भन्ने अझै स्पष्ट छैन । एक इजरायली अधिकारीले जेनेभा वार्ताको उद्देश्य आक्रमणको नयाँ मिति तय गर्नु थियो । इरानीहरूलाई ट्रम्प अझै कूटनीतिक वार्तामा सकारात्मक छन् भन्ने विश्वास दिलाउन यसो गरिएको थियो ।
अर्का इजरायली अधिकारीले आक्रमणको नयाँ मिति ट्याक्टिकल र अपरेशनल कारणले तय गरिएको जनाएका छन् । उनका अनुसार वार्तालाई वास्तविक रुपमै गम्भीरतापूर्वक लिइएको थियो ।
यदि ट्रम्पले जेनेभा बैठकमा इरानी अधिकारीहरूमा गम्भीरता देखेका भए आक्रमणलाई थप टर्न सक्थ्यो । दुबै अमेरिकी अधिकारीहरूले जेनेभामा भएको बैठक वास्तवमा एक चाल मात्रै थियो भन्ने कुरालाई अस्वीकार गरेका छन् ।
जेनेभामा इरानलाई अमेरिकी प्रस्ताव
अमेरिकी अधिकारीहरूले अमेरिकाको तर्फबाट वार्तामा सहभागी ट्रम्पका दूत ज्यारेड कुश्नर र स्टीभ विटकफ कुनै सम्झौता हुनेमा सशंकित थिए । बिहीबार बिहानको बैठक समाप्त भएपछि कुश्नर र विटकफ अन्तिम अमेरिकी प्रस्ताव लिएर फर्किएका थिए ।
यो प्रस्तावमा इरानी युरेनियम इन्चमेन्टमा १० वर्षको रोक लगाउने माग समावेश थियो । यस क्रममा अमेरिकाले इरानलाई उसको नागरिक आवश्यकता पूरा गर्न निःशुल्क न्यूक्लियर फ्युल सप्लाई गर्ने प्रस्ताव पनि दिएको थियो । ट्रम्प टिमका एक सदस्य र अमेरिकाका एक अधिकारीले यदि इरानीहरूले प्रस्ताव नमाने सैन्य प्रयोगबारे उनीहरूको उद्धेश्य पूर्ण रूपमा स्पष्ट थियो ।
इरानले नयाँ अमेरिकी प्रस्तावलाई पनि अस्वीकार गरेको दाबी उनीहरूको छ । जसपछि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरे ।
इरानसँगको तनावका बीच इजरायलले भारतीय प्रधानमन्त्रीलाई भ्रमणका लागि बोलाएर वास्तविक सैन्य योजना लुकाउन खोजेको भन्ने प्रश्न उठेको छ ।













प्रतिक्रिया