सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या « Khabarhub

सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्दा थापाथलीस्थित बागमती किनारसहिका सुकुम्बासीमाथि डोजर चलाएका बालेन्द्र साहका कारण राष्ट्रिय स्वतन्त्र पार्टी समस्यामा परेको छ ।

काठमाडौंका सुकुम्बासीमाथि अन्यायपूर्ण ढंगले डोजर चलाउँदा ठूलो आलोचना खेपेका बालेनले अहिले त्यही समस्या झापा–५ का सुकुम्बासी बस्तीमा भोगेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र अहिले झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

चुनाव प्रचार प्रसारका क्रममा माघ तेस्रो साता झापाको कमल गाउँपालिकामा पुगेका उनलाई सुकुम्बासीलाई लखेट्न किन खोज्नुभयो ? भन्दै मतदाताले प्रश्नसमेत गरे ।

जवाफमा उनले सुकुम्बासीले जग्गा पाउनुपर्ने भन्दै झापाका र काठमाडौंका सुकुम्बासी फरक रहेको व्याख्या गरे ।

उनले काठमाडौंका सुकुम्बासीहरू खोला छेउमा बस्दै आएकाले बर्खायाममा बाढी आउँदा बस्ती जोखिममा पर्ने हुँदा उनीहरूलाई सारेर सुरक्षित स्थानमा लैजान खोजेको जिकिर गरे । त्यही क्रममा डोजर प्रयोग भएको झूटो प्रतिक्रिया उनले दिएका थिए ।

उनको त्यो जवाफ कमल गाउँपालिकामा मतदाताले कति पत्याए, त्यो फागुन २१ मा थाहा होला । तर, उनको ‘दोहोरोपन’बाट त्यही जवाफबाट छरपस्ट भयो ।

सुरक्षित लैजान जनताको टाउका फुटाल्नुपर्छ ? मध्यरातमा घर भत्काइदिनुपर्छ भन्ने प्रतिप्रश्न त्यहाँ आएन । तथापि, उनको जवाफबाट काठमाडौंबासीले जिब्रो टोकेका छन् ।

उनले आफ्नो कार्यकालमा काठमाडौंका सुकुम्बासी, नदी किनारका बासिन्दा, फुटपाथ तथा ठेला व्यवसायी र कवाड व्यवसायी जस्ता अनौपचारिक क्षेत्रका मानिसलाई वर्गीय शत्रुको व्यवहार गरे । अहिले उनी त्यही वर्गसँग भोट माग्न अनेकन उपाय गरिरहेका छन् ।

उनको त्यो शैली देखेर उनीद्वारा प्रताडित तिनै सुकुम्बासी र निम्न वर्गका जनता थप प्रश्न गरिरहेका छन् । उनको राजनीतिक दोहोरोपन, अवसरवाद र द्वेषपूर्ण नियत यसपटक देखिएको टिप्पणी भइरहेको छ ।

२०७९ मा बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदभार ग्रहणपछि शहर विकासको नाममा जुन अभियान सुरु गरे, त्यो वास्तवमा शहरबाट गरिबीलाई होइन गरिबलाई लखेट्ने योजनाबद्ध चाल थियो ।

काठमाडौंका नदी किनारमा सुकुम्बासी बस्तीहरू छन् । जसलाई उनले ‘सार्वजनिक सम्पत्ति फिर्ता र नदी संरक्षण’ को बहानामा वैकल्पिक व्यवस्थाबिना हटाउन बल प्रयोग गरेका थिए ।

त्यसक्रममा ठूलो विवाद निम्त्यायो भने गरिब वर्गप्रति घृणा र द्वैष फैलाउन मद्दत गऱ्यो । सुकुम्बासी समस्याको वैज्ञानिक र न्यायोचित व्यवस्थापनका लागि महगरपालिकाले खेल्नुपर्ने अभिभावकीय भूमिका नखेलेर सुकुम्बासीलाई बद्नाम गराउने उनको कार्य त्यतिबेलै देखिएको थियो ।

गरिबहरूलाई कीरा–फट्याङ्गा ठानेर कुचल्ने प्रयास गरेका उनको दोहोरो चरित्र पटक–पटक बाहिरिएको छ । तर, अहिले त्यसमा उनले विभिन्न बाहना बनाउने गरेका छन् ।

उनको इराशामा महानगरका तत्कालीन नगरप्रहरी प्रमुख राजु पाण्डेले कयौँ गरिबहरूलाई काठमाडौंबाट लखेट्न भूमिका खेले । जो अहिले काठमाडौं–३ बाट उनकै पार्टीबाट उम्मेदवार छन् ।

यी दुई जनाले २०७९ मंसिरमा थापाथली क्षेत्रमा मच्चाएको डोजर आतंक अमानवीयताको एक उदाहरण थियो । उनीहरूले बिरामी, वृद्धवृद्धा, बालबालिका र अशक्तमाथि पनि दया देखाएनन् । उनीहरूलाई काठमाडौंमा मिलेसम्म लखेटे, लछारपछार गरे । जसको मानव अधिकारवादी संस्थाले निन्दा पनि गरेका थिए ।

विसं २०७९ फागुनमा बालेनकै आदेशमा सुकुम्बासीहरूलाई ७ दिनभित्र हट्न सूचना जारी भयो, जसविरुद्ध हजारौं जनता सडकमा उत्रिएका थिए । वि.सं. २०८० वैशाखमा उच्च अदालत पाटनले वैकल्पिक व्यवस्था गरेर मात्रै हटाउन आदेश दियो । तर, उनको जिद्दीपन गैरीगाउँ र मनोहरा बस्तीमा प्रवेश गऱ्यो । यद्यपि, त्यहाँ उनलाई सफलता मिलेन ।

त्यसबेला मानवअधिकार र कानुनी राज्यको फेरि एकपटक उपहास भयो । बालेनले सामाजिक सञ्जालमा २३ अर्ब रुपियाँबराबरको २०८ रोपनी जग्गा फिर्ता गरेको बताउँदै आएका छन् ।

तर, त्यो गरिबहरूलाई लखेट्ने र रगत बगाउने बहाना मात्रै थियो । उच्च अदालत पाटनले वैकल्पिक व्यवस्था सुनिश्चित नगरी हटाउन नहुने आदेश दिएपछि पनि यो उनले तानाशाही शैलीमा बल प्रयोग राखेका थिए । यसले कार्यपालिका र न्यायपालिकाबीच शक्ति सन्तुलनलाई बिगार्‍यो ।

राष्ट्रिय भूमि समस्या समाधान आयोगले २०८१ माघमा सबै तहका सरकारलाई वैकल्पिक व्यवस्थाना हटाउन नहुने चेतावनी दियो । यो मानव अधिकार र मानवीय कानुनविपरीत थियो ।

उनलाई यस्ता कुराले छोएन, बरु उनले जनताको पीडालाई थप चर्काउँदै गए । कानुनअनुसार सुकुम्बासी पहिचान गर्ने जिम्मा स्थानीय तहको हो (फारम भराउने, तीन पुस्ते विवरण जाँच्ने आदि) ।

वि.सं. २०७९ भदौमा महानगर र राष्ट्रिय भूमि आयोगबीच सुकुम्बासी व्यवस्थापनका लागि सम्झौतासमेत भएको थियो । तर, उनले आफ्नो जिम्मेवारी रहेको त्यो प्रक्रियालाई अघि नै बढाएनन् ।

देशभर १ लाख ६८ हजारभन्दा बढी सुकुम्बासीको फारम आयोगमा पुगेको छ । तर, काठमाडौं महानगरपालिकामा कुनै प्रगति भएन । काठमाडौं महागरपालिकाभित्रै हजारौँ सुकुम्बासी छन् । बालेनले आयोगलाई दोष थोपरेर पन्छिए भने उनकै निर्णयले समस्या जटिल बनाएकोप्रति बोलेनन् । यो नियतवश गरिब जनतालाई थप संकटमा धकेल्ने षड्यन्त्र रहेको सुकुम्बासीहरू बताउँछन्।

बालेनको यो अंहकारी शैलीका कारण गरिबी र शहरीकरणको दीर्घकालीन समस्या बलले होइन, नीतिगत सम्बोधनले समाधान गर्नुपर्र्छ भन्ने विषय देशकै सबैभन्दा ठूलो स्थानीय तहको प्रमुखबबाट बुझ्ने प्रयास नै भएन ।

उल्टै जनताको सपनालाई कुल्चिएर आफ्नो राजनीतिक भविष्य चम्काउन उनी उद्दत भए। बालेनको अभियानले सुकुम्बासीको मानवअधिकार हनन गरेको छ । नेपालको संविधानले बसोबासको अधिकार र सम्मानजनक जीवनको ग्यारेन्टी गर्छ (धारा ३७), तर वैकल्पिक व्यवस्थाबिना डोजर चलाउँदा यो उल्लंघन भएको छ ।

एम्नेस्टी इन्टरनेसशलको सन् २०२५ जुलाई रिपोर्टले नेपालमा जबरजस्ती हटाउने घटनाहरू (काठमाडौंसहित) ले दलित र आदिवासीहरूलाई बढी प्रभावित पारेको उल्लेख छ । यसमा परामर्शको अभाव र क्षतिपूर्तिको कमीले गरिबी बढाएको छ । यो बालेनको क्रूरताको प्रमाण हो, साथै मानवताको धज्जी उडाएको देखिन्छ ।

काठमाडौं उपत्यकाका सबै स्थानीय तह र प्रमुखले नदी किनारमा थप २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्चको फैसला अन्यायपूर्ण भएको भन्दै विरोध गरिरहेका बेला काठमाडौं महानगरले रातारात सूचना जारी गरी मापदण्ड कार्यान्वयनमा तत्परता देखायो ।

जसबाट १ लाखभन्दा बढी घरपरिवार सडकमा आउनुपर्ने अवस्था सिर्जना भएको थियो । स्थानीय एवम् नेवाः बाहुल्यता रहेको क्षेत्रमा नदी किनारको मापदण्डका नाम गरिएको ठाडो हस्तक्षेप थियो ।

जसले पैसा तिरेर खदि गरेका नागरिकको सम्पत्तिमाथिको अधिकार कुण्ठित गरिएको थियो । यतिबेला सर्वोच्चले उक्त फैसलालाई सच्चाइसकेको छ । तर, यस काममा बालेन साहको नियत जनताको पीडा र मर्मलाई बुझ्नुभन्दा पनि थप प्रताडित गर्ने देखिन्छ ।

बालेनले सुकुम्बासी र नदी किनारमा बस्ने रैथाने नागरिक विरुद्ध मात्र होइन, साना व्यापारी, फुटपाथमा सामान बिक्रेता र कवाडी व्यवसायीहरूलाई पनि कुचलेका छन् । फुटपाथ खाली गर्ने नाममा हजारौं साना व्यापारीलाई हटाए, जसले उनीहरूलाई बेरोजगार बनायो ।

‘गरिखाने वर्गमाथिको अत्याचार चरम छ’, यसका साथै उनीहरुलाई बदनामसमेत गर्दै लुटेराजस्तै बनाइयो । एम्नेस्टी नेपालले पनि यसलाई सामाजिक न्यायविपरीत भनेको छ ।

यस्तो स्थितिमा काठमाडौंलगायत कयौं जिल्लामा निर्णायक मतदाता रहेका सुकुम्बासी तथा निम्न वर्गको मत बालेन साह र उनको पार्टीलाई कति जान्छ त्यो निक्कै विचारणीय छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ६ : २० बजे

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी

हायसको ठक्करबाट एक जनाको मृत्यु

बाँके– राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट