झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा « Khabarhub

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा



झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल सुरु भइसकेको हुन्छ। खेतको डिल हुँदै, कच्ची सडक पार गर्दै उम्मेदवारहरू आफ्ना कार्यकर्ता र समर्थकसहित मतदाताका घरदैलोमा पुग्छन्।

 झण्डा, ब्यानर र माइकको साथमा पार्टीका गीत घन्किन्छन्, तर यसपटकको दृश्य विगतभन्दा केही फरक देखिन्छ। पहिलेजस्तो यसपटक उम्मेदवार र उनका पार्टीका नेता कार्यकर्ता आश्वासनसहितको प्रतिबद्धता गर्दैनन् । भोट माग्नलाई उनीहरूले देखाउँछन्– प्रतिबद्धतापत्र । अनि यही पत्र पूरा गर्ने वाचा गर्छन् । 

झापा फागुन २१ को चुनावको इपिसेन्टर भएरै होला यहाँका सबै उमेर समूहका व्यक्तिहरूलाई निर्वाचनको रौनकले छोएको छ । 

कमल गाउँपालिकामा मेडिकल व्यवसाय सञ्चालन गर्दै आएका राजन महत पुराना दललाई यसपटक सकस रहेको सुनाउँछन् ।  तर, नयाँ दलप्रति लहर देखिए पनि विश्वास गरिहाल्ने अवस्थामा उनी पुगिसकेका छैनन् । 

‘पुराना दलले मतदाता कुरिरहेका छन् । नयाँ दललाई पनि विश्वास गरिहाल्नुपर्छ भन्ने पक्षमा म चाहिँ छैन। झापा ५ को माहोल कस्तो भयो भने एउटाले यो है भनेपछि ल ल ल भनेर कुदिहाल्ने अवस्था छ,’ महत भन्छन, ’सबैलाई कन्फ्युज र चकित बनाएको छ। सुरुमा माहोल अर्कै थियो अहिले अर्कै बनिसकेको छ ।’

तीन पटकसम्म प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बीच मुख्य प्रतिस्पर्धा हुने आँकलनबीच यहाँका केही मतदाता मौन बसेरै सप्राइज दिने दाउमा छन् ।  हामी स्थलगत रिपोर्टिङका क्रममा केरखा पुग्दा पूर्ण इङनाम बाटामा भेटिए । 

७५ वर्षका इङनामलाई हामीले निर्वाचन कत्तिको लागेको छ भनेर प्रश्न ग¥यौँ । उनले भने, ’केरखा चोकमा सबै उम्मेदवारहरू हात हल्लाउँदै हिँड्छ तर कसलाई मत दिने भन्ने विषयमा निर्णय बाहिर पोख्ने योजनामा छैनौँ। छोरा नाति र देशले के माग्छ त्यसलाई मतदान दिने पक्षमा छौं।’ उनीले २०४८ सालदेखि नै मतदान गर्दै आएको सुनाए । उनी झापा ५ मा यसपटक सप्राइज हुने बताउँछन्। 

गौरीगञ्ज, गौरधार, कम्मल गाउँपालिकाका सहरी क्षेत्रका स्थानीय पनि उस्तै योजनामा छन्। यसपटक कुनै पनि पार्टीलाई नचिड्याइकन गोप्य मतदान गर्ने पक्षमा देखिन्छन् । 

गौरादह बजारमा व्यवसाय गर्दै आएका लक्षीमा योन्जन भन्छिन, ’बिहान उठ्ने बित्तिकै एमाले आउनुभयो। त्यसपछि काङ्ग्रेस त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी, माटो चुनाव चिन्ह र हलो चुनाव चिन्हमा पनि भोट माग्न आउनुभो। सबैको कुरा सुन्दा मत दिउँ दिउँ जस्तो लाग्छ तर यसपटक अलिक फरक तरिकाले अगाडि बढ्ने योजनामा छौँ।’

कस्मेटिक व्यवसायी लक्षीमा झापा ५ मा पुराना दलभन्दा नयाँ दल श्रम संस्कृति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य नयाँ पार्टीको पक्षमा मतदाता रहेको दाबी गर्छिन्। ’मेरो पसलमा आउने अधिकांशहरू पुराना पार्टीलाई धेरै हेयौँ यो पटक नयाँ हेरौं भन्नुहुन्छ । बोल्न थाल्यो भने धेरै कुरा छन् बोल्ने पक्षमा छैन ।’

उम्मेदवारबारे के भन्छन् स्थानीय ?

झापा ५ का उम्मेदवारमध्ये केपी शर्मा ओली आफू जसरी पनि जित्ने रणनीति बनाउन लागिपरेका छन् । उनी विगतको भन्दा बढी मत ५० हजार हाराहारीमा ल्याएर निर्वाचन जित्ने दाबी गर्छन्। यता राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह पनि ५०–५५ हजार मत ल्याएर निर्वाचन जित्ने दाउमा छन्। उनी चुपचाप घन्टीछाप अभियान चलाइरहेका छन्। 

क्याम्पस मोडभित्रपट्टि घरभाडामा लिएर बसेका उनी मतदातासम्म पुग्छन् र त्यहाँ आएर योजना बनाउँछन्। नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमोरिया मौनअवधि सुरु हुनुअघि दकम बजारमा प्रचारमा थिइन् । 

हामीसँगको कुराकानीमा उनले आफूलाई यहाँका मतदाताले चुन्ने कुरामा ढुक्क रहेको सुनाउन भ्याइन् । श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ पनि जित्ने दाबीसहित मतदातासम्म पुगेका छन्।

उनको माहोल दमक बजारभन्दा गौरीगञ्ज गौरादह र कमल गाउँपालिकामा बढी देखिन्छ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार रञ्जित तामाङ सोमबार दमक बजारमै जुलुसमा थिए। उनले स्थानीय उम्मेदवार र भूगोल चिनेको व्यक्ति भएकाले युवासहित सबै उम्मेदवारले आफूलाई विजय गराउने बताए।

सबैले आआफ्नो दाबी प्रस्तुत गरिरहँदा दमक बजारमै विगत १५ वर्षदेखि व्यवसाय गर्दै आएका गौरव थापा उम्मेदवारहरूले आ–आफ्नो दाबी गरे पनि दमक ५ ले योपटक सप्राइज दिने बताउँछन्। थापाले जित्ने उम्मेदवारले ३५ हजार हाराहारी मत ल्याउने अनुमान पनि लगाए । 

’यहाँ करिब १ लाख १० हजार मत झर्ने अवस्था देख्दैछु जित्ने उम्मेदवारले ३२ देखि ३५ हजार मत ल्याएर जित्नुहुन्छ होला,’ थापाले भने, ’नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र नेपाली कांग्रेसबाहेक अरु पार्टीको जमानत जफत हुने अवस्था देख्दैछु ।’ 

झापा ५ मा १,६३,३७९ मतदाता छन् । तीमध्ये  ८१ हजार ०८१ पुरुष र महिला मतदाता ८२ हजार २९६ जना छन् । 

थापाको जस्तै विश्लेषण जेन–जी प्रिन्सी भण्डारी गर्छिन्। दमक बजारकी प्रिन्सी दमक मल्टिपल क्याम्पसमा अध्ययनरत छिन्। क्याम्पसमा अध्ययनरत गर्न आउने अधिकांश विद्यार्थीहरू कसैलाई नचिडाइ परिवर्तनको पक्षमा मतदान गर्ने बताउँदै दुई तीनवटा पार्टीबाहेक अरुले १० हजार मत कटाउन नसक्ने दाबी गर्छिन्। 

 ’जित्नेले ४० हजार मुनि मत ल्याएर जित्छ होला । हाम्रो क्याम्पसका अधिकांश साथीहरू जित्ने उम्मेदवार र हार्ने उम्मेदवार बीचको मतान्तर ५ हजारभन्दा बढी हुँदैन भन्छन् । ’प्रिन्सी भन्छिन,’ व्यवस्थापनको विद्यार्थी भएकाले हामीले पनि अलिअलि अध्ययन गरेका थियौँ। १ लाख १० १५ हजार भन्दा बढी मत खस्ने अवस्था छैन। पुराना धेरैवटा नाम चलेका पार्टीकै जमाना जफत हुने अवस्था छ।’ 

प्रिन्सीले अङ्कित गरेअनुसार नेपाली कांग्रेस र नेकपाको जमाना जफत हुने अवस्था भएको उनको विश्लेषण छ।

प्रिन्सीले यस्तो विश्लेषण सुनाइरहँदा मोर्डन क्याम्पस दमक कक्षा १२ मा अध्ययनरत विद्यार्थी सुवोध राजवंशीको विचार फरक छ । उनी जित्ने पार्टीले  ४० हजार मत ल्याउँदा दोस्रो हुने पार्टीले आजकै अवस्थामा निर्वाचन हुँदा २० हजार मात्रै मत कटाउने बताउँछन्। 

’पहिलो हुने पार्टीले ४० हजार मत कटाउँदा दोस्रो हुने पार्टीले २० हजार मात्रै मत ल्याउने अवस्था छ। म त बिहान बेलुका नै यहाँका चारैवटा स्थानीय तहमा डुलिरहेको छु। मलाई लाग्छ दोस्रो हुने पार्टीले २० हजार र तेस्रो चौथो र पाँचौँ हुने पार्टीले जमानत जोगाउँछन्,’ राजवंशी भन्छन, ’भन्न मिल्दैन होला तर यहाँका मतदाताले यसपटक दलहरूलाई सप्राइज दिन्छन् ।  सप्राइजदिनकै लागि युवादेखि पाकासम्म यहाँ लाग्नुभएको छ।’

किन बोल्दैनन् मतदाता ?

झापाको दमकमा रहेर ५४ सालदेखि पत्रकारितामा सक्रिय विमल लामिछाने यहाँका जनता विभिन्न पार्टीमा आबद्ध रहेको तर पछिल्लो समय पार्टीभन्दा मनस्थिति बदल्ने पक्षमा रहेकाले कसैलाई नचिड्याउनका लागि नबोल्ने पक्षमा रहेको बताउँछन्।

उनी नबोलेरै  मतदानबाट नतिजा दिने दाउमा झापा ५ का मतदाता रहेको उल्लेख गर्दै प्रत्यक्षमा सप्राइज भोट दिएर समानुपातिकमा आफ्नो पार्टीलाई मत दिने स्थिति रहेको सुनाउँछन्।

’प्रत्यक्षमा फरक व्यक्तिलाई मतदान गरेर समानुपातिकमा आफ्नै पार्टीलाई मत हाल्ने स्थितिमा झापा ५ का जनता छन्। विगतको निर्वाचन जस्तो पार्टीलाई मत जाने अवस्था छैन, ’ लामिछानेले अगाडि भने, ’जसले जिते पनि जित्ने र दोस्रो हुनेको मतान्तर झिनो हुन्छ । प्रत्यक्षमा आफूले रोजेको व्यक्तिलाई मत हाल्ने र समानुपातिकमा आफ्नो पार्टीलाई मत हाल्ने स्थितिमा यहाँका जनता पुगिसकेको विश्लेषण गर्न गाह्रो छैन ।’

लामिछाने भूगोलमा बसेर पार्टीलाई असहयोग गर्दा निर्वाचन पछाडि आलोचना र असहयोग हुने डरले यहाँका जनता नबोल्ने पक्षमा रहेको बताउँछन्। लामिछानेकै जस्तो विश्लेषण दमकमा व्यवसायमा रहेका अभिषेक अधिकारी गर्छन् ।

अधिकारी बोलेको खण्डमा पार्टीहरूले तँलाई पखलास र देखाइदिन्छु भनेको अवस्था रहेकाले मौन बसेरै मतदान गर्ने पक्षमा रहेको सुनाउँछन् । जेन–जी उमेरसमूहका अधिकारी पार्टीको झण्डा बोकेर हिँडे पनि यहाँ मतदान दिने बेलामा अन्तै दिने अवस्था रहेको बताउँछन् ।

’मेरा धेरै साथीहरू पार्टीको झण्डा बोकेर हिँड्नुहुन्छ तर उहाँहरु प्रत्यक्षमा एउटालाई मतदान गर्ने र समानुपातिकमा आफ्नै पार्टीलाई मतदान गर्ने पक्षमा हुनुहुन्छ,’ उनले भने, ‘मेरो उमेरसम्मका व्यक्तिहरू यहाँ पेशा व्यवसाय र रोजगारी सिर्जना हुन नसक्दा विदेश पलायन हुनुभएको छ । उहाँले नेपालमा आमाबुवालाई फोन गरेर पनि परिवर्तन हुनुपर्छ है मत दिँदा धेरै पटक सोच्नु भनेको पाएको छु।’ 

अधिकारी अगाडि भन्छन,’म पनि योपटक सोच्ने पक्षमा छु। जसले युवालाई रोजगारी दिन सक्छ र देशमा देखिएको निराशा चिर्न सक्छ उसैलाई मतदान गर्छु र गर्नुपर्छ भनेर लागेको छु ।’

यो सामग्री तयार पार्नका लागि हामीले २५ जना झापा ५ का स्थानीय मतदातासँग कुरा गरेका थियौं। अनौपचारिक रूपमा थुप्रै मतदाताहरू सप्राइज दिने दाउमा रहेको बताए पनि औपचारिक रुपमा सातजना मतदाताले मात्रै नाम राखिदिन आग्रह गरे । झापा ५ को सबै परिवेशलाई नियाल्दा आफ्नो पार्टीलाई पनि नचिड्याउने र प्रत्यक्षमा पार्टी बाहेक अरु उम्मेदवारलाई मतदान गर्ने पक्षमा मतदाता देखिन्छन्। 

सबै पार्टीको नारा जुलुस र घरदैलो पहिचान गर्दा नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीप्रति यहाँका जनताको आकर्षण देखियो।  नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टीको आकर्षण घटेको पाइयो ।   

दल के चाहन्छन् ?

झापा ५ मा उम्मेदवारी दिएका सबै दलका प्रतिनिधिले स्वच्छ निर्वाचन होस्, धाँधली नहोस् भन्ने चाहेका बताए । 

एक प्रहरी अधिकृतका अनुसार निर्वाचनमा धाँधली नहोस् भनेर सबै पार्टीहरूले आफूहरूलाई ध्यानाकर्षण गराएको सुनाए ।

‘निर्वाचन धाँधली नहोस् भनेर सबै पार्टीहरूले हामीलाई ध्यानाकर्षण गराइरहनुभएको छ, ’इलाका प्रहरी कार्यालय दमकका एक प्रहरी अधिकृतले खबरहबसँग भने, ’ निष्पक्ष र धाँधलीरहित निर्वाचन होस् र भड्काउने प्रयत्न नहोस् भनेर राजनीतिक दलका उम्मेदवार र नेताहरूले हामीलाई सुरक्षा व्यवस्था चुस्त बनाउन भन्नुभएको छ।’

ती प्रहरी अधिकृतको अनुसार जिल्ला प्रहरी कार्यालय झापाले पनि दमकमा ठूलो सुरक्षा दस्ता पठाएको छ । सबै मतदान केन्द्रमा निर्वाचन प्रहरीसहित चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी खटिनेछन् । 

एक राजनीतिक दलका प्रतिनिधिका अनुसार कुनै एउटा उम्मेदवारले निर्वाचन हार्ने परिस्थिति सिर्जना भएको खण्डमा धाँधली गर्ने सम्भावना बढेर गएको देखिन्छ।

’बलियो उम्मेदवारले निर्वाचन हार्ने अवस्था आएमा धाँधली गरेर निर्वाचन बिथोल्न सकिने स्थिति छ। त्यसकारण हामी चुपचाप त्यो वातावरण नहोस् भनेर सुरक्षा निकाय र साथीहरूसँग समन्वय गरिरहेका छौं।’ ती दलका प्रतिनिधिले भने, ’निर्वाचन नसरोस् र धाँधली नहोस् भन्ने कुरालाई जोड दिएका छौं ।’

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  १० : १७ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा