काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको कार्यान्वयनबारे प्रश्न उठाएका छन् ।
आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै यस्तो प्रश्न उठाएका हुन् ।
‘जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले गोरखापत्रमै पढ्ने ? सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस्। कांग्रेस दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुँदैन भन्ने मान्यता आज पनि प्रष्ट र दृढ छ’, उनले भने।
सांसद आङ्देम्बेले संसद भवन र सिंहदरबार जस्ता संरचनामा भएको क्षतिको विषयमा पनि ध्यानाकर्षण गराए।
‘किन संसद् भवन जल्यो? किन सिंहदरबार ध्वस्त बनाइयो ? भौतिक संरचनामा भएको विनाशलाई एउटै दृष्टिले हेर्नु जरूरी छ। २३ र २४ गतेको घटनालाई अलग–अलग हेर्ने प्रवृत्ति गलत छ’, उनले भने, ’जाँचबुझ आयोगले २३ गतेको घटनाको अनुसन्धान गर्यो, कारबाहीको सिफारिस पनि गर्यो, तर २४ गतेको त अनुसन्धान पूरा भएन। समय थप्ने बहाना मात्र पर्याप्त छैन ।’
उनले संविधानविपरीत काम भएमा कांग्रेसले चेतावनीसहित उभिने बताए । ‘बितेका ७५ वर्ष कुनै प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न सकेनन्। नयाँ प्रधानमन्त्रीको नियत सकारात्मक हो भन्ने आशा राख्दै हामी उनको पूरा कार्यकालमा सहयोग गर्नेछौँ। तर संविधान र नागरिक अपेक्षाविपरीत कुनै काम भए हामी सचेत भएर प्रतिरोध गर्न तयार छौं,’ आङ्देम्बेले भने।
















प्रतिक्रिया