आफ्नै घरको अमृत त्यागेर बजारको विषतिर झुक्दैछौँ हामी « Khabarhub

आफ्नै घरको अमृत त्यागेर बजारको विषतिर झुक्दैछौँ हामी



काठमाडौं– हाम्रो समाजमा एउटा प्रचलित भनाइ छ– ‘घरकी मुर्गी दाल बराबर’ अर्थात् ‘नजिकको तीर्थ हेला’। यो उखान आज हाम्रो खानपान र जीवनशैलीमा हुबहु लागू भएको देखिन्छ । 

हामी आफ्नै वरिपरि पाइने रैथाने र पोसिला खानेकुरालाई बेवास्ता गर्दै विदेशी र पत्रु खाना (जंक फुड) तर्फ आकर्षित भइरहेका छौँ । घरमा पाहुना आउँदा आफ्नै भान्सामा तयार पारिएका दाल, भात, तरकारी, रोटी, मोही वा बाबरीको सर्बत दिन हामीलाई लाज लाग्छ, तर बजारबाट मगाइएको पिज्जा, केक र स्वास्थ्यलाई हानि गर्ने गुलियो पेय पदार्थ (कोल्ड ड्रिङ्क्स) गर्वका साथ पस्कन्छौँ । 

एउटै चिज भए पनि फर्सीको तरकारी देख्दा नाक खुम्च्याउने हामी होटलमा महँगो ‘पम्पकिन सूप’ खान पाउँदा मक्ख पर्छौँ । त्यस्तै, घरको भटमासलाई वास्ता नगर्ने तर बजारको प्याकेटमा आउने ‘सोयाबिन’ र ‘पीनट’ लाई उच्च गुणस्तरको ठान्ने हाम्रो मानसिकताले हाम्रो मौलिक पहिचान र स्वास्थ्य दुवैलाई जोखिममा पारेको छ ।

हाम्रा पुर्खाहरूसँग आजको जस्तो आधुनिक वैज्ञानिक डिग्री नभए पनि उनीहरूमा हजारौँ वर्षको अभ्यासबाट प्राप्त व्यावहारिक र वैज्ञानिक ज्ञान थियो । उनीहरूले तिल, आलस, मुंग्रेलो, अमला र अम्बा जस्ता वस्तुलाई दैनिक आहारको हिस्सा बनाएर आफूलाई स्वस्थ राखे । 

र आज हामी विदेशीले ‘क्लारिफाइड बटर’ भनिदिएपछि मात्र घ्यूको महत्त्व बुझ्छौं र घरको बाबरीलाई छाडेर बोतलको ‘मिन्ट वाटर’ मा पैसा खर्च गर्छौँ । अंग्रेजी नाम दिइएका खाना राम्रो र नेपाली नामका खाना नराम्रो भन्ने भ्रमले हामीलाई यसरी गाँजेको छ कि, हामी होटलमा ‘फ्राइड राइस’ का लागि महँगो शुल्क तिर्छौं तर घरमा बचेको भात भुटेर खान ‘छ्या’ भन्छौँ । यो केवल खानपानको कुरा मात्र नभएर हाम्रो सोचमा पलाएको एक प्रकारको ‘मानसिक दासता’ र ‘अंग्रेजीमोह’ पनि हो ।

यही बेवास्ताका कारण हाम्रा बालबालिकाहरू कुपोषणको सिकार भइरहेका छन् । हामी गहुँ, फापर, कोदो, आलु र बोडी जस्ता सस्ता र सुलभ खानेकुरालाई महत्त्व दिँदैनौँ, किनकि ती रंगीचंगी प्याकेटमा आउँदैनन् । लट्टेको सागलाई पाहुनाको अगाडि राख्न हिचकिचाउने हामी त्यही सागलाई ठूला होटलमा ‘सुपरफूड अमरान्थ’ का रूपमा पाउँदा गुणकारी मान्छौँ । 

प्रकृतिको वरदान मानिने ‘आलस’ को महत्त्व त हामीले झनै बिर्सिएका छौँ । माछामा पाइने महँगो ‘ओमेगा फ्याट्टी एसिड’ आलसमा सस्तोमै पाइन्छ भन्ने तथ्य धेरैलाई थाहा छैन । आलसमा प्रशस्त प्रोटिन, रेशादार पदार्थ (फाइबर), भिटामिन ‘बी’, क्याल्सियम र म्याग्नेसियम पाइन्छ, जसले कब्जियत, मोटोपन र उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

अन्त्यमा, हाम्रो आफ्नै आँगन र खेतबारीमा फलेका कुभिन्डो, लौका, इस्कुस जस्ता तरकारीहरू कदर नपाएर कुहिएर गइरहेका छन् । जबसम्म कुनै विदेशीले वा अंग्रेजी भाषामा यिनको महिमा गाइँदैन, तबसम्म हामी यिनको महत्त्व बुझ्दैनौँ । 

तसर्थ, स्वास्थ्य रक्षाका लागि औषधि पसलका चक्कीमा भर पर्नु भन्दा हाम्रै भान्सामा रहेका रैथाने, शुद्ध र प्राकृतिक पोषक तत्त्वहरूलाई चिन्नु र प्रयोग गर्नु नै आजको आवश्यकता हो । 

मौलिक खानालाई सम्मान गर्न सके मात्र हामी र हाम्रा भावी पुस्ता स्वस्थ र सबल रहन सक्छन् ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ११ : ३७ बजे

वीरगञ्जका मुख्य सडक विस्तार गर्ने काम रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने काम रोक्न माग

गण्डकी प्रदेशमा बालमैत्री नगरपालिकाको सङ्ख्या पाँच

गण्डकी– बागलुङको जैमिनी नगरपालिकालाई सोमबार बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषण

माल्दिभ्समा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

एजेन्सी– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले माल्दिभ्स सरकारले १६ वर्ष मुनिका

तनहुँमा करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना

दमौली– जिल्लाका करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना गरिएको छ

भारत-अमेरिका व्यापार सम्झौता नजिक

नयाँदिल्ली– भारत र संयुक्त राज्य अमेरिका पहिलो चरणको द्विपक्षीय व्यापार