आफ्नै घरको अमृत त्यागेर बजारको विषतिर झुक्दैछौँ हामी « Khabarhub

आफ्नै घरको अमृत त्यागेर बजारको विषतिर झुक्दैछौँ हामी



काठमाडौं– हाम्रो समाजमा एउटा प्रचलित भनाइ छ– ‘घरकी मुर्गी दाल बराबर’ अर्थात् ‘नजिकको तीर्थ हेला’। यो उखान आज हाम्रो खानपान र जीवनशैलीमा हुबहु लागू भएको देखिन्छ । 

हामी आफ्नै वरिपरि पाइने रैथाने र पोसिला खानेकुरालाई बेवास्ता गर्दै विदेशी र पत्रु खाना (जंक फुड) तर्फ आकर्षित भइरहेका छौँ । घरमा पाहुना आउँदा आफ्नै भान्सामा तयार पारिएका दाल, भात, तरकारी, रोटी, मोही वा बाबरीको सर्बत दिन हामीलाई लाज लाग्छ, तर बजारबाट मगाइएको पिज्जा, केक र स्वास्थ्यलाई हानि गर्ने गुलियो पेय पदार्थ (कोल्ड ड्रिङ्क्स) गर्वका साथ पस्कन्छौँ । 

एउटै चिज भए पनि फर्सीको तरकारी देख्दा नाक खुम्च्याउने हामी होटलमा महँगो ‘पम्पकिन सूप’ खान पाउँदा मक्ख पर्छौँ । त्यस्तै, घरको भटमासलाई वास्ता नगर्ने तर बजारको प्याकेटमा आउने ‘सोयाबिन’ र ‘पीनट’ लाई उच्च गुणस्तरको ठान्ने हाम्रो मानसिकताले हाम्रो मौलिक पहिचान र स्वास्थ्य दुवैलाई जोखिममा पारेको छ ।

हाम्रा पुर्खाहरूसँग आजको जस्तो आधुनिक वैज्ञानिक डिग्री नभए पनि उनीहरूमा हजारौँ वर्षको अभ्यासबाट प्राप्त व्यावहारिक र वैज्ञानिक ज्ञान थियो । उनीहरूले तिल, आलस, मुंग्रेलो, अमला र अम्बा जस्ता वस्तुलाई दैनिक आहारको हिस्सा बनाएर आफूलाई स्वस्थ राखे । 

र आज हामी विदेशीले ‘क्लारिफाइड बटर’ भनिदिएपछि मात्र घ्यूको महत्त्व बुझ्छौं र घरको बाबरीलाई छाडेर बोतलको ‘मिन्ट वाटर’ मा पैसा खर्च गर्छौँ । अंग्रेजी नाम दिइएका खाना राम्रो र नेपाली नामका खाना नराम्रो भन्ने भ्रमले हामीलाई यसरी गाँजेको छ कि, हामी होटलमा ‘फ्राइड राइस’ का लागि महँगो शुल्क तिर्छौं तर घरमा बचेको भात भुटेर खान ‘छ्या’ भन्छौँ । यो केवल खानपानको कुरा मात्र नभएर हाम्रो सोचमा पलाएको एक प्रकारको ‘मानसिक दासता’ र ‘अंग्रेजीमोह’ पनि हो ।

यही बेवास्ताका कारण हाम्रा बालबालिकाहरू कुपोषणको सिकार भइरहेका छन् । हामी गहुँ, फापर, कोदो, आलु र बोडी जस्ता सस्ता र सुलभ खानेकुरालाई महत्त्व दिँदैनौँ, किनकि ती रंगीचंगी प्याकेटमा आउँदैनन् । लट्टेको सागलाई पाहुनाको अगाडि राख्न हिचकिचाउने हामी त्यही सागलाई ठूला होटलमा ‘सुपरफूड अमरान्थ’ का रूपमा पाउँदा गुणकारी मान्छौँ । 

प्रकृतिको वरदान मानिने ‘आलस’ को महत्त्व त हामीले झनै बिर्सिएका छौँ । माछामा पाइने महँगो ‘ओमेगा फ्याट्टी एसिड’ आलसमा सस्तोमै पाइन्छ भन्ने तथ्य धेरैलाई थाहा छैन । आलसमा प्रशस्त प्रोटिन, रेशादार पदार्थ (फाइबर), भिटामिन ‘बी’, क्याल्सियम र म्याग्नेसियम पाइन्छ, जसले कब्जियत, मोटोपन र उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

अन्त्यमा, हाम्रो आफ्नै आँगन र खेतबारीमा फलेका कुभिन्डो, लौका, इस्कुस जस्ता तरकारीहरू कदर नपाएर कुहिएर गइरहेका छन् । जबसम्म कुनै विदेशीले वा अंग्रेजी भाषामा यिनको महिमा गाइँदैन, तबसम्म हामी यिनको महत्त्व बुझ्दैनौँ । 

तसर्थ, स्वास्थ्य रक्षाका लागि औषधि पसलका चक्कीमा भर पर्नु भन्दा हाम्रै भान्सामा रहेका रैथाने, शुद्ध र प्राकृतिक पोषक तत्त्वहरूलाई चिन्नु र प्रयोग गर्नु नै आजको आवश्यकता हो । 

मौलिक खानालाई सम्मान गर्न सके मात्र हामी र हाम्रा भावी पुस्ता स्वस्थ र सबल रहन सक्छन् ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ११ : ३७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्