तेलअभिभ- युद्धबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू देशभित्रै पनि घेरिँदै गएका छन् ।
इजरायलका धेरै नेताहरूले प्रधानमन्त्री नेतन्याहूको लेबनानमाथि आक्रमण रोक्ने निर्णयको आलोचना गरेर घेरेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि लेबनानमाथि प्रस्तावित हमला रोकेपछि नेतन्याहूमाथि दबाब बढेको हो ।
राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन-ग्वीरले सामाजिक सञ्जालमा नेतन्याहूलाई ट्रम्पलाई ‘होइन’ भन्न र हिजबुल्लाहमाथि हमला जारी राख्न अपिल गरेका छन्।
येश आतिद पार्टीका नेता गादी आइजेनकोटले ट्रम्पको लेबनानमा हमला नगर्ने आदेशलाई अपमानजनक भनेका छन्।
उनले भने, ‘नेतन्याहू उही व्यक्ति हुन्, जसले सधैँ अरूलाई सिकाउँथे । इजरायली प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिलाई आवश्यक पर्दा ‘होइन’ भन्न सक्नुपर्छ।’
विपक्षी नेता याइर लापिडले पनि नेतन्याहूको आलोचना गरे। उनले अगाडि भने,‘प्रधानमन्त्रीले यस्तो व्यवहार गरिरहेका छन्, मानौं इजरायल अमेरिकाको कुनै राज्य हो।’
अमेरिकी सांसदले भनिन्- इजरायलको सहयोग रोक्नुपर्छ
एकजना अमेरिकी सांसदले इजरायललाई दिएको सहयोग रोक्नुपर्ने माग गरेकी छन् । डेमोक्रेटिक पार्टीकी महत्वपूर्ण नेता इल्हान ओमरले यो माग गरेकी हुन् । उनी हाउस अफ रिप्रेजेन्टेटिभ्समा मिनेसोटा राज्यकी सांसद हुन्।
अमेरिकी सांसद इल्हान ओमरले इजराइलको लेबनानमा भएको सैन्य कारबाहीको कडा आलोचना गरेकी छन् । अमेरिकाले इजरायललाई दिइने सैन्य सहायता तत्काल रोक्न पनि उनले माग गरेकी छन्।
‘इजरायलले बारम्बार नरसंहार र अन्य अत्याचारहरू लगभग कुनै जवाफदेहिताबिना गर्न सक्छ’, उनले भनेकी छन्, ‘उसमाथि दबाब बढाउन हामीले सहायता रोक्नुपर्छ।’
ओमरले इजरायलले अब गाजामा अपनाएको रणनीतिलाई लेबनानमा पनि लागू गरिरहेको बताइन्। उनले लेबनानमा इजरायलको युद्धका कारण हजारौं मानिसको मृत्यु भएको र १० लाखभन्दा बढी मानिस विस्थापित भएको बताइन्।
इल्हान ओमर लामो समयदेखि अमेरिकी कांग्रेसमा इजरायली नीतिको आलोचना गर्ने नेताहरूमध्ये पर्छिन्। गाजा युद्ध र अहिले लेबनानमा इजरायली सैन्य कारबाहीका विषयमा पनि उनले तत्काली राष्ट्रपति जो बाइडेन र वर्तमान डोनाल्ड ट्रम्प सरकारको नीतिमाथि बारम्बार प्रश्न उठाउँदै आएकी छन्।













प्रतिक्रिया