प्रधानमन्त्रीले माफी मागुन्, नदीले बाटो फेर्दैमा सीमा मिचेको मानिँदैन : पूर्वराजदूत आचार्य « Khabarhub

अन्तर्वार्ता

प्रधानमन्त्रीले माफी मागुन्, नदीले बाटो फेर्दैमा सीमा मिचेको मानिँदैन : पूर्वराजदूत आचार्य



काठमाडौं- भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूभाग मिचेको अभिव्यक्ति अपरिपक्क र गलत सूचनाका आधारमा बोलिएको बताउँछन् । सीमा समस्या पहिचान र समाधान गर्न बनेको नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) का सदस्य समेत रहेका उनी दुई ९७-९८ प्रतिशत स्थानमा सीमा विवादको समाधान भइसकेको दाबी गर्छन् ।

तथ्यभन्दा बाहिर बोलेकाले सदनबाटै नेपाली जनता र आम नागरिकसँग प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने आचार्यको सुझाव छ । भारतको भूभाग मिचिएको भए नेपालले पटक-पटक कूटनीतिक नोट पठाउँदा भारतले पनि तिमीहरुले पनि मिचेका छौ भन्न सक्नुपर्ने उनको तर्क छ ।

तर भारतले अहिलेसम्म नेपालले आफ्नो भूभाग मिचेको भन्ने जानकारी नेपाललाई कुनै पनि ढङ्गबाट नदिएकाले प्रधानमन्त्रीको भनाइ तथ्यपरक नभएको उनले बताए । यसै सन्दर्भमा खबरहबले नीलाम्बर आचार्यसँग प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति, नेपाल-भारत सीमा विवाद लगायतका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

प्रधानमन्त्रीज्यूले आइतबारको प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभयो, यसबारे यहाँ के भन्नुहुन्छ ?

प्रधानमन्त्रीले गलत बोल्नुभएको हो । नेपालले भारतको कुनै पनि भूभाग मिचेको र अतिक्रमण गरेको छैन । प्रधानमन्त्रीको भनाइ तथ्यविपरीत छ। भारतले पनि नेपालले हाम्रो भूभाग मिचेको छ, अतिक्रमण गरेको छ, त्यहाँबाट हट भनेको छैन ।

हाम्रो भूभाग भारतले कब्जा गरेको छ । प्रधानमन्त्रीले बोल्नुभएको कुरा अनुचित, खारेजयोग्य पद अनुसार सुहाउँदो कुरा होइन । कुनै पनि देशको प्रधानमन्त्रीले संसद्‍मा यस्तो कुरा बोल्दैन र बोल्नु पनि हुँदैन । संसदमा उभिएर मेरो देशले फलानो देशको भूभाग कब्जा गरेको छ भन्न मिल्दैन । फेरि, नेपालले त भारतको भूभाग कब्जा गर्ने कुरै छैन ।

चौतर्फी आलोचना भइरहँदा पनि प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउन जरुरी ठान्नुभएको छैन नि ?

यो एकदमै दुःखद कुरा हो । यो खास किन यस्तो भएको हो ? उहाँ आफै बोल्नुपर्छ । प्रधानमन्त्री आफैँले यसको स्पष्टीकरण दिनुपर्छ । प्रधानमन्त्रीले किन गलत बोल्नुभयो ? किन झुक्किनुभयो ? यो उहाँहरुले नै मिलाउनसक्ने कुरा हो । प्रधानमन्त्रीले बोल्न नहुने कुरा बोलेको कुरा परराष्ट्र मन्त्रालयको स्पष्टीकरणले पनि प्रष्ट्याउँछ ।

यो विषयलाई प्रधानमन्त्री आफैँले सच्याउनुपर्छ । गल्ती गरेपछि मैले गल्ती बोलेँ, मबाट गल्ती हुन गयो । यो-यो कारणले गल्ती भयो भनेर भन्न सक्नुपर्छ । प्रधानमन्त्रीले नै स्थितिलाई सम्हाल्नुपर्छ । प्रधानमन्त्रीको यस्तो बोलीले उहाँ र देशकै सम्मानमा आघात पुर्‍याउँछ । त्यसैले यसलाई जति सक्दो चाँडो सम्हाल्न सक्नुपर्छ । गल्ती स्वीकारेर क्षमा याचना गर्न सक्नुपर्छ। त्यसरी नै अगाडि बढ्ने हो ।

उहाँले गल्ती क्षमा याचना अहिलेसम्म माग्नुभएको छैन । यसले कस्तो किसिमको असर गर्ला ?

उहाँ नसच्चिने कुरै छैन । नसच्चिने हो भने पदमा बसिरहनुको पनि अर्थ हुँदैन होला । हाम्रा सेनाहरू भारतको कुन भूभागमा छन् ? जसरी कालापानीमा भारतले कब्जा गरेको छ, त्यस्तै गरी नेपालले कहाँ कब्जा गरेको छ ? सीमा विवादको कुरामा ९७-९८ प्रतिशत कुराहरु दुई देशबीच सहमति भइसकेको छ । कालापानी र सुस्तामा चाहिँ अझै विवाद छ । हाम्रो भूभाग भारतको कब्जामा भएकाले त्यहाँ विवाद भएको हो ।

ठाउँ ठाउँमा दशगजा, पिलरको पनि समस्या होला । ती सीमाको व्यवस्थापनमा आएका समस्याहरू हुन्, त्यो बेग्लै विषय हो । त्यो विषयलाई कालापानीसँग दाँजेर उहाँले कालापानीमा हाम्रो दाबीलाई नै कमजोर पारिदिनुभयो । यो साधारण तरिकाले कुरा प्रस्तुत गर्नुभयो । यो स्वीकार्य र मान्य हुन सक्दैन ।

प्रधानमन्त्रीले विवादित अभिव्यक्ति दिएपछि प्रतिपक्षले निरन्तर सदन अवरोध गरिरहेका छन् । तर, प्रधानमन्त्री किन माफी माग्नुहुन्न ?

प्रधानमन्त्री अलिकति दृढताका साथ आउनुपर्ने आवश्यकता छ । उहाँको स्वभावले त्यो दिँदैन जस्तो लाग्छ । राजनीतिमा आलोचना र विरोध सुन्ने, क्षमा याचना गर्ने, गल्ती भएपछि स्वीकार गरी आत्मालोचना गर्ने यी सबै गुण चाहिन्छ । उहाँले यो विस्तारै सिक्दै जानुहोला । तर उहाँ लचिलो भएर यस विषयमा बोलेको कुरामा माफी माग्नुपर्छ । म फेरि पनि भन्छु– यो सामान्य विषय पटक्कै होइन । उहाँ सदनमा आएर निहुरिएर नेपाली जनता र विपक्षीसँग माफी माग्नुपर्छ ।

अहिले नै प्रधानमन्त्रीको नियतमाथि शङ्का गर्ने ठाउँ चाहिँ छैन ?

त्यो त म जान्दिनँ । उहाँले किन भन्नुभयो ? किन त्यो आयो भनेर उहाँबाटै स्पष्टीकरण नसुन्दासम्म शङ्का गरिहालौँ जस्तो लागेन । उहाँले मैले जानीजानी बोलेकै हो, हामीले भारतको सीमा मिचेकै हो भन्नुभयो भने अर्कै किसिमले मूल्याङ्कन गरौँला । मलाई गलत रिपोर्टिङ गरिएकाले गल्ती हुन गएछ भनेर नेपाली जनतासँग माफी माग्नुभयो भने त्यो छुट्टै कुरा हो ।

त्यसैले स्पष्टीकरण नसुनी उहाँको नियतमाथि शङ्का गर्ने ठाउँ छैन । यति हो कि उहाँले गलत बोल्नुभयो । उहाँले बोल्नु नहुने थियो । यसले नेपालको राष्ट्रिय हितलाई आँँच पुर्‍याएको छ । नेपालको राष्ट्रिय हितलाई धक्का पुर्‍याएको छ ।

कहिलेकाहीँ खोलाले धार परिवर्तन गर्दा यता जमिन यताउता भएको होला । यसैकारण प्रधानमन्त्रीले बोल्नुभयो कि ?

होइन ९७-९८ प्रतिशत सीमा विवाद नेपाल र भारतबीच समझदारी भइसकेको छ । दुबै सरकारी अड्डाहरूमा समेत हस्ताक्षर भइसकेको छ । त्यहाँ केही समस्या उत्पन्न भयो भने त्यो सीमा विवाद र अतिक्रमणका समस्या होइन । त्यहाँका बासिन्दाहरूबीच समस्या पर्न गएको हो । त्यसलाई पनि कसरी समाधान गर्ने भन्ने विषयमा विभिन्न उपायहरु अपनाएका छौँ ।

कहिलेकाहीँ नदी यताउता भयो भने पनि हाम्रो नक्सा बनाउँदा जे स्थिति थियो त्यही स्थितिलाई मान्यता दिने गरेका छौँ । नदीले बाटो मोड्दैमा सीमा फेरिँदैन भन्ने सिद्धान्त अपनाएका छौँ । त्यसरी हामीले सीमा निश्चित गरिसकेको छ । अतिक्रमण भयो भन्ने कुरै छैन । हामीले कहीँ कब्जा गरेर सीमा नाघेका छैनौँ । दशगजामा कसैले घर बनाएका छन्, कसैको आँगन छ । त्यसैले दशगजालाई दशगजाकै रूपमा दुई देशको बीचमा दशगज खाली राख्नुपर्ने आवश्यकता छ ।

कसैका घर नै सीमामा होलान् । यो सीमा व्यवस्थापनको समस्या हो । राज्यले नै सेना खटाएर भूभाग कब्जा गरेको कुरा होइन । त्यसैले भारतको भूभाग कब्जा गरेको छ भनेर प्रधानमन्त्रीले बोलेको कुरा हुँदै होइन । यदि नेपालले भारतको भूभाग कब्जा गरेको थियो भने त भारतले पनि विरोध गर्थ्यो होला नि ? कहीँ कतै विरोध गरेको सुन्नुभएको छ ? हामीले कूटनीतिक नोट पेश गरिरहँदा उसले कहीँ पनि विरोधको अभिव्यक्ति अहिलेसम्म पेश गरेको छैन ।

कूटनीतिक नोट पठाउँदा तिमीले पनि यहाँ कब्जा गरेका छौ भनेर भारतले भन्न सकेको छैन । तर, प्रधानमन्त्रीले सदनमा उभिएर लज्जास्पद र अपरिपक्क कुरा भन्नुभयो । मैले लामो समय दूतावासमा काम गर्दा र अहिले पनि त्यो क्षेत्र हेर्दा कहीँ पनि त्यस्तो अवस्था छैन । तथ्यबिना कुनै पनि देशले बोल्नु पनि हुँदैन । भारतले कालापानीलाई आफ्नो भनिरहेको छ । त्यसलाई हामीले होइन, हाम्रो हो भनेर बुझाएका हौँ । भारतले सुस्ता हाम्रो भनिरहेको छ, त्यसलाई हामीले बुझाइरहेका छौँ । प्रधानमन्त्रीज्यू एक्कासी कसरी जान्ने हुनुभयो, म त अचम्ममा छु ।

तपाईँ त नेपाल भारत सीमा विवादका विभिन्न बैठकहरूमा बस्नुभएको छ । विवाद समाधानका लागि विभिन्न काम गर्नुभएको छ । भारतले कहिल्यै नेपाल माथि शङ्का गरेको थिएन नि होइन ?

थिएन । कहाँ शङ्का गर्नु ? हामीले त्यस्तो गरेकै छैन । हामीले त हिजो अस्ति पनि विरोधपत्र पठाएको हो नि । नयाँ सरकार बनेपछि पनि विरोधपत्र भारत पुगिसक्यो । हरेक सरकारले हाम्रो तर्फबाट विरोधपत्र पठाइरहेका छन् । उताबाट कहिले केही पनि आएको छैन ।

भारतले पत्र पठाएर विरोध गरेको अभिलेख कहिँ कतै छ ? छ भने प्रधानमन्त्रीले हामीलाई देखाइदिनुहोस् । प्रधानमन्त्रीज्यूले तल्लोस्तरको अपरिपक्क कुरा गर्नुभयो । उहाँले सदनमा जवाफ दिनुपर्छ । संसद्‍मा गएर माफी माग्ने, जानकारी दिने, प्रस्ट्याउने र आत्मालोचना गर्ने काम प्रधानमन्त्रीबाट तत्काल हुनुपर्छ ।

प्रधानमन्त्रीले केके गर्न उपयुक्त हुन्छ, सबै गर्नुपर्छ । मैले संसदमा नबोल्नुपर्ने कुरा बोलेँ भनेर उहाँले पनि अहिले महसुस गर्नुभयो होला ।

अब यसलाई सच्याउन के गर्नुपर्छ ?

हामीले कहीँ पनि भारतको जमिन कब्जा र अतिक्रमण गरेका छैनौँ, मेरो भनाइ गलत हुन गयो, गलत जानकारीका आधारमा मैले त्यस्तो बोलेँछु भनेर उहाँले सदनमा माफी माग्नुपर्छ र अगाडिको अभिव्यक्ति हटाउनुपर्छ । जे भएको छ, त्यो गलत भयो त्यो साँचो होइन भनेर उहाँले सदनमा उभिएर सबैसँग माफी माग्न सक्नुपर्छ ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँलाई अप्ठ्यारो पर्छ कि पर्दैन ?

नेपाल र भारतबीच भाइचाराको व्यापक सम्बन्ध छ । राष्ट्रिय स्वतन्त्र पार्टी देशको पहिलो पार्टी हो । सत्तामा रहेको पार्टी र भारतको सत्ताको पार्टी भारतीय जनता पार्टीको निमन्त्रणा दिएर उहाँ भारत पुग्नुभएको छ । भारत भ्रमण जाने र नेपाल भारतको सम्बन्ध राम्रो पार्न प्रयास गर्ने कुरा ठिक छ ।

भेटघाट, कुराकानी हुनुपर्छ । यसले नेपाल भारतको सम्बन्ध सुधार हुन्छ र दुई मुलुकबीच आपसी सद्भाव र शुभेच्छा कायम हुन्छ । दुई देशबीच समस्या हुँदा पनि राजनीतिक दलको नेताले भेट्नुपर्छ र राम्रो हुँदा पनि भेटघाट गर्नुपर्छ । यो स्वभाविक कुरा हो । हामी आफ्नै मित्रहरूबीचमा पनि त पटकपटक भेटवार्ता गर्नुपर्छ । भारतसँग त हाम्रा धेरै सम्बन्धहरू छन् । त्यसका निम्ति वार्ता गर्नैपर्छ ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ७ : २६ बजे

रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि

सहकारी बेथिति प्रतिवेदन कार्यान्वयन, १४ कर्मचारीलाई सोधियो स्पष्टीकरण

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

प्रधानमन्त्रीले माफी मागुन्, नदीले बाटो फेर्दैमा सीमा मिचेको मानिँदैन : पूर्वराजदूत आचार्य

काठमाडौं- भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले

सालकको खपडासहित दोलखामा वृद्ध पक्राउ

दोलखा– दुर्लभ तथा संरक्षित वन्यजन्तु सालकको खपडा लुकाई राखेको आरोपमा