काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणमा निस्कनुअघि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहलाई राष्ट्रिय हितलाई केन्द्रमा राखेर द्विपक्षीय सम्बन्ध मजबुत बनाउन सुझाव दिएका छन् ।
प्रधानमन्त्री शाह औपचारिक राजकीय भ्रमणका लागि मंसिर आइतबार भारत प्रस्थान गर्नुअघि भएको भेटका क्रममा सभापति लामिछानेले पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा कूटनीतिक संवाद अघि बढाउन ध्यानाकर्षण गराएको रास्वपाले जनाएको छ ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार भ्रमणको तयारी र एजेन्डाबारे विस्तृत जानकारी लिन तथा छलफल गर्न प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग भेट गरेका थिए ।
भेटमा सभापति लामिछानेले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन र द्विपक्षीय साझेदारी बलियो बनाउन यो भ्रमण कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री शाहसहित ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल दुईदिने भ्रमणका लागि भारत प्रस्थान गरेको हो । भ्रमण दलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, समकक्षी नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्नुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा जनाइएको छ । रास्वपाले दुई देशबीचको राजनीतिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी हुने अपेक्षासहित सफलताको शुभकामना व्यक्त गरेको छ ।














प्रतिक्रिया