नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी र नवप्रवर्तनमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तीनदिने औपचारिक भारत भ्रमणका लागि नयाँदिल्ली पुगेकी ताकाइचीले भारतले गरेको न्यानो स्वागतप्रति आभार व्यक्त गर्दै भ्रमणप्रति उत्साहित रहेको बताएका हुन् । जापानी क्याबिनेटको जनसम्पर्क कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वागतका लागि धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री ताकाइची भारत भ्रमण गर्न पाउँदा उत्साहित रहेको जनाएको छ।
यसअघि भारतका केन्द्रीय विज्ञान तथा प्रविधि राज्यमन्त्री जितेन्द्र सिंहले पालम प्राविधिक विमानस्थलमा उनलाई स्वागत गरेका थिए। उनले भ्रमणका क्रममा हुने १५औँ भारत–जापान वार्षिक शिखर सम्मेलनले दुई देशबीचको बढ्दो रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ताकाइचीलाई स्वागत गर्दै उनको पहिलो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले दुवै नेताबीच द्विपक्षीय तथा क्षेत्रीय विषयमा विस्तृत छलफल हुने र संयुक्त प्रयासमार्फत इन्डो–प्यासिफिक क्षेत्रसहित विश्वमा शान्ति, स्थिरता र समृद्धि प्रवर्द्धन गर्ने लक्ष्य रहेको उल्लेख गरे।
प्रधानमन्त्री ताकाइचीले अन्तर्राष्ट्रिय परिस्थितिमा बढ्दो अनिश्चितताबीच समान मूल्य र रणनीतिक हित साझा गर्ने भारतसँगको सहकार्य झन् महत्त्वपूर्ण बन्दै गएको बताइन्। उनले प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा जापान–भारत रणनीतिक साझेदारीलाई थप गहिरो बनाउने, आर्थिक सुरक्षामा सहकार्य विस्तार गर्ने तथा दुवै देशका कम्पनीबीच लगानी र नवप्रवर्तनमा सहकार्य बढाउने विषयमा ठोस प्रगति हुने अपेक्षा व्यक्त गरिन्।
उनले सरकारी तथा निजी क्षेत्रबीचको साझेदारीलाई अझ बलियो बनाउँदै जापान–भारत सहकार्यको दायरा विस्तार गर्ने लक्ष्य रहेको पनि बताए।
प्रधानमन्त्री मोदीको निमन्त्रणामा ताकाइची जुलाई १ देखि ३ सम्मको तीनदिने औपचारिक भ्रमणका लागि भारत आएकी हुन्। भ्रमणका क्रममा रणनीतिक साझेदारी, व्यापार, प्रविधि, आपूर्ति शृङ्खला, रक्षा सहकार्य तथा इन्डो–प्यासिफिक क्षेत्रीय सुरक्षालगायत विषयमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया