काठमाडौं- कृषि प्रयोगशालाकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरी कार्यालय सुर्खेतले जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा कविलाल बीसीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार वीरेन्द्रनगरस्थित एकीकृत कृषि प्रयोगशालामा सहायक स्तर चौथो तहमा कार्यरत चन्द्रा सिंह शनिबार बिहान कार्यालयकै आवासगृहको शौचालयमा बेहोस अवस्थामा फेला परेकी थिइन्।
उनका श्रीमान् महेश बस्नेतले तत्काल उद्धार गरी देउती अस्पताल हुँदै प्रदेश अस्पताल कालागाउँ पुर्याएका थिए। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जाजरकोटको कुशे गाउँपालिका–९ पैँक माइती भएकी चन्द्राको विवाह भेरी नगरपालिका–१ कालेगाउँमा भएको थियो। उनी विगत दुई वर्षदेखि एकीकृत कृषि प्रयोगशालामा कार्यरत थिइन्। उनका एक छोरी छन्।
चन्द्राको अस्वाभाविक मृत्यु भएपछि उनका श्रीमान् महेश बस्नेतले आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका थिए।
त्यही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले साउन १६ गते वीरेन्द्रनगर–८ खजुराबाट कविलाल बीसीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा चन्द्रा सिंह र कविलाल बीसीबीच फेसबुकमार्फत भएका कुराकानी तथा केही शंकास्पद च्याट फेला परेका छन्।
‘प्रारम्भिक अनुसन्धानमा उहाँहरूबीच फेसबुकमा नियमित संवाद भएको र केही शंकास्पद विषयवस्तु भेटिएको छ,’ एसपी पोखरेलले भने, ‘अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको छ।’












प्रतिक्रिया