महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक « Khabarhub

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ मिलापको आयोजनामा काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । दाहालका ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट साभार गरिएका गीतहरू समेटिएको एल्बम साहित्य, संगीत र संस्कृतिको सुन्दर संगमका रूपमा प्रस्तुत गरिएको हो ।

चलचित्र निर्देशक माधवराज खरेलको सहजीकरणमा सम्पन्न कार्यक्रमको सभापतित्व मिलापका प्रधान सम्पादक कृष्ण भुसालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा शिक्षाविद् डा. यज्ञेश्वर निरौला उपस्थित थिए ।

कार्यक्रमको प्रारम्भमा गायक रमेश पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यिक सिर्जनालाई संगीतमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने अभियानमा ‘जागृति’ महत्त्वपूर्ण कोशेढुंगा बन्ने विश्वास व्यक्त गरे । समारोहमा एल्बममा समावेश पाँच गीत क्रमशः ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ सार्वजनिक गरिएको थियो ।

यीमध्ये ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’मा कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर रहेको छ भने ‘बित्छ बिहान आमाको’मा ज्ञानु राणा तथा ‘गाउँछौ अब लौ आमाका गीत’मा रमेश पाठकको स्वर सुन्न सकिन्छ। सबै गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ। कार्यक्रममा उपस्थित अतिथिहरूले सबै गीतको श्रव्य–दृश्य प्रस्तुति अवलोकन गरेका थिए ।

शुभकामना मन्तव्यका क्रममा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, साहित्यकार राधेश्याम लेकालीलगायतले दाहालका काव्य सिर्जनाले राष्ट्र, समाज, मानवता र सांस्कृतिक चेतनालाई मुखरित गरेको उल्लेख गर्दै संगीतमार्फत ती कृतिले अझ व्यापक पहुँच बनाउने विश्वास व्यक्त गरे ।

संगीतकार सन्तोष श्रेष्ठले काव्यमा रहेका श्लोकहरूलाई गीतका रूपमा प्रस्तुत गर्नु चुनौतीपूर्ण काम भएको बताउँदै सकेसम्म छन्द भंग नगरी प्रस्तुत गर्ने प्रयास गरिएको बताए । स्रष्टा खेमनाथ दाहालले आफ्ना काव्यमा रहेका सिर्जनाहरू गीतका रूपमा आएकोमा खुसी व्यक्त गर्दै सम्बन्धित सबैलाई धन्यवाद दिए ।

प्रमुख अतिथि डा. यज्ञेश्वर निरौलाले साहित्य र संगीत एकअर्काका परिपूरक विधा भएको उल्लेख गर्दै महाकाव्यका भाव, दर्शन र जीवनदृष्टिलाई गीतमार्फत जनमानससम्म पुर्‍याउने प्रयासको प्रशंसा गरे । उनले नेपाली भाषा, साहित्य र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनात्मक अभियानले महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे ।

सोही अवसरमा साहित्यकार डा. विलोल पोखरेललाई साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप मिलापले तयार पारेको वर्ष १७, अंक १ को ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको थियो। सम्मान ग्रहणपछि उनले आफ्ना भनाइ राख्दै सिर्जनाको सम्मान भनेको समग्र साहित्यिक समुदायको सम्मान भएको बताए। सो अवसरमा उनले एक कविता पनि वाचन गरे ।

समारोहको अन्त्यमा सभापति कृष्ण भुसालले साहित्य र संगीतको सहकार्यले नेपाली सिर्जनशीलताको नयाँ आयाम निर्माण गरिरहेको उल्लेख गर्दै ‘जागृति’ले नेपाली काव्य र संगीतप्रेमीमाझ दीर्घकालसम्म सकारात्मक प्रभाव छाड्ने विश्वास व्यक्त गरे। उनले यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिन सबै साहित्यप्रेमी, कलाकार र सांस्कृतिक संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

समारोहमा उषा दाहाल, वरिष्ठ साहित्यकार लेखनाथ पोखरेल, मिलाप फाउन्डेसनकी अध्यक्ष गीता अधिकारी, संगीत सम्पादक प्रकाश मिश्र, भिडियो छायाँकार तथा सम्पादक राजन खरेल, साहित्यकार शैलेन्द्र चापागाईं, कलाकार शीला गजुरेल, गायक गणेश पराजुली तथा पत्रकार स्वस्तिका पन्थी, राजेन्द्र दाहाल, दीपा दाहाललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १० : ०९ बजे

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा