नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डीएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन् ।
चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि बाढीमा हराइरहेका व्यक्तिका आफन्तहरूको डिएनए नमुना (रगत) सङ्कलन भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर (सेवा इकाइ चितवन) र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा हराएका आफन्तबाट रगतको नमुना सङ्कलन भइरहेको छ ।
बारा कलैयाका भगवान शर्मा भोटेकोशीको बाढीपछि छोरा हराएपछि सम्भावित स्थानमा खोजी गर्दै भौँतारिरहेका छन् । छोराको कुनै पत्तो नपाएपछि डिएनए परीक्षण गराएमा पहिचान हुनसक्छ भन्ने थाहा पाएर उनी नागरिकताको फोटोकपी र आफ्नो फोटोसहित चितवन आइपुगेका छन् ।
डिएनए नमुना दिए पनि उनको मन अझै ढुक्क हुन सकेको छैन । यदि शव नै रहेछ भने पनि पहिचान त होला भनेर उनले डिएनए नमुना त दिए, तर उनको मनमा अझै पनि छोरा जीवितै भेटिने आश बाँकी नै छ ।
त्यस्तै, बर्दियाका रामबहादुर थारू पनि हराइरहेका छोराको खोजीमा ११ गतेदेखि नै चितवनमा छन् । आफ्ना छोरासहित १६ जना साथीहरू बाढीमा हराएको बताउने थारूले धेरै शव हेरे पनि छोरालाई भेट्टाउन सकेनन् ।
‘सासको आश मरे पनि लास भए पनि भेटिन्छ कि भनेर डिएनए ‘म्याचिङ’का लागि रगत दिएको हुँ ।’ उनले आफ्नो पीडा पोखे ।
थारूलाई अझै पनि छोराहरू हराएकै स्थानमा पुगेर खोज्ने इच्छा छ । छोराले काम गर्ने कम्पनी काठमाडौँमा रहेको र कम्पनीसँग सल्लाह गरेर त्यहाँ जाने तयारीमा रहेको उनले बताए ।
कम्पनीले पनि खोजीमा सहयोग गरिरहेको जनाउँदै उनले कम्पनीले घटनास्थलसम्म जाने व्यवस्था मिलाइदिए हुन्थ्यो भन्ने आश व्यक्त गरे ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका पहिचान नभएका शवबाट डिएनए नमुना निकालिएको छ ।
उनले यहाँ आफन्तबाट सङ्कलन गरिएको नमुना र शवको डिएनए मिलान गराउनका लागि रगत सङ्कलन भइरहेको जानकारी दिए । यहाँ सङ्कलित नमुना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइने उनले बताए ।
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलले हराइरहेका व्यक्तिको पहिचानका लागि शवबाट मुख्य रूपमा दाँत र हड्डीका नमुना सङ्कलन गरिएको र त्यसको नमुनाबाट डिएनए प्रोफाइल तयार गरी आफन्तको डिएनएसँग सफ्टवेयरमार्फत म्याचिङ गराइने बताए ।
उनले भन, ‘पहिलो प्राथमिकतामा बुबाआमा वा छोराछोरी (पहिलो तहका आफन्त) को डिएनए नमुना आवश्यक पर्छ । यदि पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमुना प्रयोग गरेर पनि परीक्षण गर्न सकिन्छ ।’
नेपाल प्रहरीले पहिचान नभएका र बेवारिसे अवस्थामा रहेका शवलाई आफन्तजनको जिम्मा लगाउन स्वदेश तथा विदेशमा रहेका मृतकका परिवारलाई डिएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ ।
स्वदेशमा रहेका परिवारका लागि: चितवन बाहिर रहेका आफन्तले आफ्नो पायकपर्ने जिल्ला प्रहरी कार्यालय वा नेपाल प्रहरी अस्पताल (महाराजगञ्ज, काठमाडौँ) को प्याथोलोजी ल्याबमा दुईप्रति पासपोर्ट साइजको फोटोसहित सम्पर्क गरी ताजा रगतको नमुना दिन सक्नेछन् ।
विदेशमा रहेका आफन्तका लागि: विदेशमा रहेका पहिलो तहका नातेदारले सम्बन्धित देशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग वा बसोबास गरिरहेकै देशमा डिएनए प्रोफाइल तयार गरी सोको ‘सफ्ट कपी’ नेपाल प्रहरीको आधिकारिक इमेल [email protected] मा पठाउन सक्नेछन् ।












प्रतिक्रिया