काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई दिइने भएको छ । नेपाल आयल निगमको उपस्थितिमा ग्यास बिक्रेता महासंघ र ग्यास बिक्रेता संघ काठमाडौंले बुधबार सो सहमति गरेका हुन् ।
सहमतिमा ग्यास बिक्रेताहरूले हाललाई व्यावसायिक प्रयोजनको लागि बिक्री वितरण रोकेर अति आवश्यक उपभोक्तालाई बिक्री गर्ने भनिएको छ । साथै, सहमतिमा ग्यास बिक्रेताहरूले विद्यार्थी, अशक्त, बिरामी, जेष्ठ नागरिक, विभिन्न आश्रम, बाढी पीडितको लागि खुलेका सेल्टर आदिलाइई आवश्यकताअनुसारको ग्यासको व्यवस्था मिलाउने उल्लेख छ ।
केही दिन अघि पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गएपछि नारायणगढ–मुग्लिङ–काठमाडौंको यातायात सेवा ठप्प हुन पुगेको छ । जसले गर्दा विगत लामो समयदेखि आवश्यकताअनुसार आपूर्ति हुन नसकेको ग्यासको आपूर्तिमा थप असर पर्ने देखिएको छ ।
सोही परिस्थितिलाई समेत मध्येनजर गरेर सहमतिमा हाललाई तराईका उद्योगहरूमा ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था मिलाएको भनिएको छ । साथै, समानुपातिक ढंगले ग्यास वितरणको व्यवस्था मिलाउने र व्यावसायिक प्रयोजनमा उपभोग गर्ने व्यवसायीले आफूले उपभोग गर्ने ब्राण्डको एलपी सिलिण्डर सम्बन्धित उद्योगसँग समन्वय गरेर तराइका उद्योगमा गएर रिफिल गर्ने व्यवस्था मिलाउने भनिएको छ ।
ग्यास बिक्रेता महासंघले र काठमाडौं संघले गरेको सहमतिले ग्यासको सहज आपूर्ति नहुने बेलासम्म अब व्यावसायिक बिक्रेताले काठमाडौंबाटै ग्यास नपाउने देखिएको छ ।












प्रतिक्रिया