ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र भूमि मात्र होइन । यो युगकवि सिद्धिचरण श्रेष्ठ र व्याकुल माइलाको साहित्यिक सिर्जनाले सुसंस्कृत, ’जिउँदो शहीद’ क्याप्टेन यज्ञबहादुर थापा तथा महान् प्रजातान्त्रिक योद्धाहरू राम–लक्ष्मण उपाध्याय जस्ता व्यक्तित्वहरूको बलिदानले रक्तरञ्जित भूमि पनि हो । निष्ठाका प्रतिमूर्ति बलबहादुर राईजस्ता राजनीतिक व्यक्तित्वको चेतनाले सिञ्चित यो धर्तीको आफ्नै ऐतिहासिक गरिमा छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको सफल इतिहास काठमाडौँका राजनीतिक केन्द्र र राष्ट्रिय नेताहरूको गतिविधिले मात्र निर्माण भएको होइन। त्यसमा लोकतन्त्रको जग बसाल्ने क्रममा देशका गाउँ, पहाड र दूरदराजका बस्तीका नागरिकले उठाएको जोखिम, भोगेको दमन र दिएको बलिदानको उत्तिकै महत्वपूर्ण योगदान छ ।
यही कारणले गर्दा पूर्वी पहाडको ओखलढुङ्गा नेपालको प्रजातान्त्रिक इतिहासको एउटा जीवन्त अध्यायका रूपमा परिचित छ ।
ओखलढुङ्गा नेपाली काङ्ग्रेसको सङ्गठन विस्तार भएको एउटा जिल्ला मात्र होइन, यो राजनीतिक चेतना, सङ्घर्ष, भूमिगत गतिविधि, सशस्त्र प्रतिरोध र बलिदानको लामो परम्परा बोकेको लोकतान्त्रिक उर्वर भूमि हो । २००७ सालको राणाविरोधी क्रान्तिदेखि २०१७ सालपछिको पञ्चायती निरङ्कुशताविरुद्धको सङ्घर्ष, २०३१ सालको ओखलढुङ्गा–टिमुरबोटे सशस्त्र अभियान, २०३६ सालको जनमतसङ्ग्रह, २०४६ सालको जनआन्दोलन, २०५२–२०६२ को सशस्त्र द्वन्द्व र २०६२-६३ को जनआन्दोलनसम्म ओखलढुङ्गाको राजनीतिक यात्रा नेपालको समग्र लोकतान्त्रिक इतिहाससँग गहिरिएर गाँसिएको छ ।
यस अर्थमा ओखलढुङ्गाको इतिहास केवल एउटा जिल्लाको भूगोलमा मात्र सीमित छैन, यो नेपालको लोकतान्त्रिक चेतना निर्माणको एउटा महत्वपूर्ण स्थानीय दस्तावेज हो ।
१. राणाशासनविरुद्धको चेतनादेखि प्रजातन्त्रको उदयसम्म
२००३ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना तथा २००६ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेसबीच एकीकरण भएपछि नेपाली काङ्ग्रेसको गठन भयो।
त्यसपछि राणा शासनविरुद्धको सङ्घर्षले सङ्गठित राजनीतिक रूप लिन थाल्यो र २००७ सालको क्रान्तिका क्रममा पूर्वी नेपाल महत्वपूर्ण सङ्घर्षभूमिका रूपमा स्थापित हुन पुग्यो ।
भोजपुर, ओखलढुङ्गा र आसपासका पहाडी क्षेत्रमा परिवर्तनको चेतना विस्तार हुँदै जाँदा स्थानीय युवामा पनि राजनीतिक जागरण बढ्दै गयो । त्यसैले ओखलढुङ्गामा नेपाली काङ्ग्रेसको प्रारम्भिक राजनीतिक आधार प्रजातन्त्र प्राप्तिका लागि भएको सङ्घर्षकै क्रममा निर्माण भएको थियो भन्न सकिन्छ ।
२००७ सालको राजनीतिक परिवर्तनपछि पनि प्रजातान्त्रिक चेतनाको विकास निरन्तर अगाडि बढिरह्यो । त्यसको महत्त्वपूर्ण राजनीतिक उपलब्धि २०१५ सालको आमनिर्वाचन थियो, जुन नेपालको इतिहासमा पहिलोपटक सम्पन्न भएको आमनिर्वाचन थियो। जसमा नेपाली काङ्ग्रेसले दुई–तिहाइ बहुमत प्राप्त ग¥यो र बीपी कोइरालाको नेतृत्वमा पहिलो जननिर्वाचित सरकार गठन भयो । ओखलढुङ्गाका बलबहादुर राई पनि त्यस ऐतिहासिक राजनीतिक प्रक्रियाका महत्वपूर्ण पात्रका रूपमा स्थापित भए । तर, यो प्रजातान्त्रिक अभ्यास लामो समय टिक्न सकेन ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि बहुदलीय प्रजातान्त्रिक व्यवस्था समाप्त भयो र निरङ्कुश पञ्चायती शासन सुरु भयो। त्यसपछि बीपी कोइराला लगायतका काङ्ग्रेस नेताहरूलाई पक्राउ गरी विराटनगरबाट काठमाडौँ लैजाँदाको ऐतिहासिक मार्ग ओखलढुङ्गा हुँदै गुज्रिएको थियो ।
यसले बीपीको राजनीतिक संघर्ष र ओखलढुङ्गाको भूगोलबीच एउटा प्रत्यक्ष ऐतिहासिक सम्बन्धलाई स्थापित गरायो। यसरी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका प्रमुख वैचारिक नेता बीपी कोइरालाको राजनीतिक यात्रासँग पनि ओखलढुङ्गाको ऐतिहासिक सम्बन्ध जोडिन पुग्यो र यसले ओखलढुङ्गाको लोकतान्त्रिक आन्दोलनलाई नयाँ र अझ कठिन चरणमा प्रवेश गराउन मद्दत ग¥यो।
२. भूमिगत राजनीति र सशस्त्र प्रतिरोध
२०१७ सालपछि नेपाली काङ्ग्रेसमाथि प्रतिबन्ध लगाइएका कारण नेता तथा कार्यकर्ताहरू भूमिगत हुन बाध्य भए । कतिपय भारत प्रवासमा गए भने कतिपय गाउँमै बसेर सङ्गठन निर्माण, राजनीतिक चेतना विस्तार र पञ्चायतविरुद्धका आन्दोलनमा सक्रिय रहिरहे। त्यसै समयक्रममा काङ्ग्रेसभित्र पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक आन्दोलनसँगै सशस्त्र सङ्घर्षको बाटो रोज्ने धार पनि विकसित हुँदै गयो ।
यही राजनीतिक पृष्ठभूमिमा २०३१ सालमा ओखलढुङ्गालाई केन्द्र बनाएर पूर्वी पहाडी क्षेत्रमा पञ्चायती शासनविरुद्ध विद्रोहको वातावरण सिर्जना गर्ने उद्देश्यले सशस्त्र अभियान अघि बढाइयो । यो अभियान नेपालको प्रजातान्त्रिक सङ्घर्षको इतिहासमा महत्वपूर्ण र अत्यन्तै मार्मिक अध्यायका रूपमा स्मरण गरिन्छ ।
ओखलढुङ्गा अभियानको मानवीय पीडा र राजनीतिक स्मृतिको केन्द्रका रूपमा ’टिमुरबोटे’ को नाम विशेष रूपमा आउँछ । त्यस समयको सैन्य नेतृत्व गरेका क्याप्टेन यज्ञबहादुर थापा सहितको सशस्त्र टोली सोलुखुम्बु–ओखलढुङ्गा सीमाक्षेत्रको टिमुरबोटे जङ्गलमा आश्रय लिइरहेका बेला राज्यपक्षबाट भएको बर्बर कारबाहीमा राम–लक्ष्मण उपाध्याय, महेश कोइराला लगायत धेरै क्रान्तिकारीहरूले शहादत प्राप्त गरे।
टिमुरबोटेको त्यो घटना नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा आजसम्म पनि अविस्मरणीय बलिदानका रूपमा स्मरण हुँदै आएको छ । राजनीतिक दृष्टिले हेर्दा ओखलढुङ्गा अभियान तत्कालीन उद्देश्य प्राप्त गर्न सफल नभए तापनि इतिहास केवल सफल अभियानहरूको नाम मात्र होइन ।
निरङ्कुश व्यवस्थाविरुद्ध जोखिम उठाउने युवाहरूको राजनीतिक चेतना, उनीहरूको प्रतिबद्धता र अन्यायविरुद्ध उभिने साहस पनि इतिहासको महत्वपूर्ण हिस्सा हो भन्ने छाप छोड्न भने यो अभियान सफल भयो। यही अर्थमा ओखलढुङ्गा–टिमुरबोटे अभियानले ओखलढुङ्गाको राजनीतिक चेतनालाई राष्ट्रिय स्मृतिमा स्थापित गरायो । यस अभियानसँग जोडिएको अर्को महत्वपूर्ण नाम– तत्कालीन शाही नेपाली सेनाका क्याप्टेन यज्ञबहादुर थापा हो, जो पञ्चायतविरुद्धको सशस्त्र संघर्षमा सहभागी भई सैन्य नेतृत्व सम्हालेका थिए ।
टिमुरबोटेबाट उम्किएपछि केही दिनमै पक्राउ परेका क्याप्टेन थापामाथि पञ्चायती सरकारले राजद्रोहको मुद्दा चलाई मृत्युदण्डको फैसला सुनायो । २०३५ साल माघ २५ गते भीमनारायण श्रेष्ठसँगै उनलाई मृत्युदण्ड दिइयो । राज्यद्वारा दिइएको मृत्युदण्डलाई सहजै स्वीकार गर्दै उनले वीरगति प्राप्त गरे । उनको राजनीतिक जीवन र बलिदानले उनलाई नेपाली लोकतान्त्रिक आन्दोलनमा ’जिउँदो शहीद’ का रूपमा स्थापित गर्यो ।
त्यसैगरी, टिमुरबोटे अभियानमा राम–लक्ष्मण उपाध्यायको नाम विशेष रूपमा स्मरण गरिन्छ । उनीहरू राजनीतिक कमिसारका रूपमा अभियानमा सहभागी भएका थिए र टिमुरबोटेको ओढारमा भएको राज्यको क्रूर कारबाहीमा उनीहरूले शहादत प्राप्त गरे । उनीहरूको बलिदान केवल विगतको एउटा घटनाको स्मरण मात्र होइन, त्यो आफ्नो समयको राजनीतिक प्रतिबद्धता, निरङ्कुशताका विरुद्धको प्रतिरोध र लोकतान्त्रिक मूल्यका लागि व्यक्तिगत जीवनसमेत समर्पण गर्ने साहसको प्रतीक हो ।
आजको पुस्ताका लागि पनि टिमुरबोटेको इतिहास उत्तिकै अर्थपूर्ण छ । किनकि लोकतन्त्र र राज्यसत्ता केवल संविधान, निर्वाचन र राजनीतिक संस्थाहरूबाट मात्र निर्माण हुँदैन, यसको जगमा अघिल्लो पुस्ताले गरेको सङ्घर्ष, सहन गरेको दमन र दिएको बलिदान पनि जोडिएको हुन्छ ।
त्यसैले राम–लक्ष्मण उपाध्याय, यज्ञबहादुर थापा र ओखलढुङ्गाको लोकतान्त्रिक आन्दोलनमा योगदान गर्ने ज्ञात–अज्ञात व्यक्तित्वहरूको स्मरण गर्नु इतिहासप्रतिको सम्मान मात्र होइन, लोकतान्त्रिक मूल्यप्रतिको जिम्मेवारी पनि हो ।
३. रामपुरका शहीदः लीला, ठगी, खगेन्द्र र गोकर्ण
ओखलढुङ्गाको लोकतान्त्रिक आन्दोलनको अर्को महत्वपूर्ण अध्याय रामपुर क्षेत्रका शहीदहरूको बलिदान हो । विभिन्न प्रकाशित विवरणहरूमा उल्लेख भएअनुसार २०३१ सालको नेपाली काङ्ग्रेसको सशस्त्र आन्दोलनका क्रममा फारबिसगञ्जबाट सिरक–डसनाभित्र लुकाएर ल्याएको बमसँग सम्बन्धित घटनामा लीला दाहाल, ठगीराज दाहाल, खगेन्द्र दाहाल र गोकर्ण कार्की काठमाडौँमा पक्राउ परे ।
उनीहरूलाई जेल सार्ने बहानामा २०३१ साल असोज १३ गते राती नख्खु जेलबाट निकालियो र त्यहीँ नजिकै एकान्तमा लगेर निर्मम तरिकाले हत्या गरियो ।
प्रजातन्त्र पुनर्स्थापना पश्चात् उनीहरूलाई ओखलढुङ्गाको प्रजातान्त्रिक आन्दोलनका शहीदका रूपमा स्मरण गरिनुले उनीहरूको बलिदान तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध चलेको लोकतान्त्रिक सङ्घर्षको व्यापक पृष्ठभूमिसँग जोडिएको प्रष्ट हुन्छ ।
उनीहरूको जीवन र बलिदानले पञ्चायतविरुद्धको सङ्घर्ष राजधानी वा राजनीतिक केन्द्रमा मात्र सीमित थिएन, गाउँ–गाउँमा पनि लोकतन्त्र, राजनीतिक स्वतन्त्रता र नागरिक अधिकारका लागि सङ्घर्ष भइरहेको थियो भन्ने एउटा महत्वपूर्ण तथ्य उजागर गर्दछ ।
रामपुर क्षेत्रका यी शहीदहरूको बलिदान त्यही स्थानीय राजनीतिक चेतना र प्रतिरोधको प्रतिनिधि घटना हो । यसैगरी, पेसल दाहालको प्रसङ्ग पनि ओखलढुङ्गाको लोकतान्त्रिक आन्दोलनको पीडादायी अध्यायका रूपमा स्मरण गरिन्छ । उपलब्ध विवरण अनुसार उनको हत्या तत्कालीन श्रीचौर क्षेत्रको यम्दा भन्ने स्थानमा तत्कालीन स्थानीय पञ्च शासकहरूको उपस्थितिमा भएको थियो ।
यस घटनाले पञ्चायती दमनको प्रभाव गाउँ–बस्तीको कुनाकाप्चासम्म पुगेको यथार्थलाई देखाउँछ । यी घटनाहरूले स्पष्ट रूपमा ओखलढुङ्गामा लोकतान्त्रिक चेतनाको मूल्य कति ठूलो थियो भनेर प्रमाणित गर्छन् ।
४. जनमतसङ्ग्रह र चेतनाको नयाँ मोड
नागरिक अधिकार र स्वतन्त्रताको माग केवल राजनीतिक नारामा मात्र सीमित थिएन, त्यसका लागि स्थानीय नागरिकहरूले आफ्नो जीवनसमेत जोखिममा पारेर आन्दोलनमा सक्रिय रूपमा भाग लिएका थिए ।
त्यसैको परिणाम थियो– २०३६ सालको विद्यार्थी आन्दोलन, जसले नेपालको राजनीतिक वातावरणमा महत्वपूर्ण परिवर्तन ल्यायो । देशव्यापी विद्यार्थी आन्दोलन र त्यसपछि बढेको राजनीतिक दबाबका कारण तत्कालीन राजा वीरेन्द्र जनमतसङ्ग्रहको घोषणा गर्न बाध्य भए । यससँगै राजनीतिक सङ्घर्षको एउटा महत्वपूर्ण चरण बन्दुकबाट मतपत्रतर्फ मोडियो ।
जनमतसङ्ग्रहले बहुदलीय व्यवस्था र सुधारिएको पञ्चायती व्यवस्थाबीच जनताको मत परीक्षण गर्ने अवसर प्रदान ग¥यो। ओखलढुङ्गामा पनि यसले राजनीतिक बहसलाई नयाँ दिशा दिँदै बहुदलीय व्यवस्था, नागरिक स्वतन्त्रता, राजनीतिक सहभागिता र जनअधिकारका विषयमा गाउँ–बस्तीको तहसम्म बहस र राजनीतिक सक्रियता बढायो ।
यस चरणलाई ओखलढुङ्गाको लोकतान्त्रिक यात्रामा महत्वपूर्ण सङ्क्रमणका रूपमा हेर्न सकिन्छ । किनकि सशस्त्र प्रतिरोधको कठोर अनुभवबाट गुज्रिएको राजनीतिक चेतना अब जनमत र राजनीतिक सङ्गठनमार्फत परिवर्तन खोज्ने दिशामा अघि बढिरहेको थियो। र, त्यस बेलाको एउटा महत्त्वपूर्ण राजनीतिक सेतूका रूपमा स्थापित व्यक्तित्व हुनुहुन्थ्यो– बलबहादुर राई ।
५. बलबहादुर राईः सङ्घर्षदेखि संसद्सम्म
ओखलढुङ्गाको लोकतान्त्रिक इतिहासमा बलबहादुर राई एउटा बलियो राजनीतिक सेतूका रूपमा स्थापित व्यक्तित्व हुनुहुन्छ । २००७ सालको परिवर्तनको पुस्तादेखि २०१७ सालपछिको पञ्चायती दमन, जेल, सर्वस्वहरण र निर्वासन हुँदै बहुदलीय लोकतन्त्रको पुनर्स्थापनासम्म आइपुग्दा राईको राजनीतिक यात्रालाई केवल व्यक्तिगत जीवनको कथाका रूपमा मात्र बुझ्न मिल्दैन, यो त ओखलढुङ्गाको लोकतान्त्रिक सङ्घर्षकै एउटा प्रतिनिधि यात्रा हो ।
राणाशासनविरुद्धको आन्दोलनदेखि पञ्चायतविरुद्धको सङ्घर्षसम्म निरन्तर राजनीतिक सक्रियता देखाएका राईले लोकतान्त्रिक मूल्यका लागि आफ्नो जीवनको लामो कालखण्ड समर्पित गरे। २०४६ सालको परिवर्तनपछि उनी ओखलढुङ्गाबाट निर्वाचित हुँदै राष्ट्रिय राजनीतिमा पुनः सक्रिय भए।
पदभन्दा जनताको हितलाई सर्वोपरी ठान्ने नेता राईले आफू २०४८ सालमा मन्त्री भएका बेला हाल ’सिद्धिचरण राजमार्ग’ का रूपमा नामाकरणका गरिएको कटारीदेखि ओखलढुङ्गा जोड्ने सडक निर्माणका लागि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग “यो योजना तुरुन्तै आरम्भ नगरे मन्त्री पदबाट राजीनामा दिन्छु“ भनी अडान लिएका थिए ।
उनको दबाबपछि मात्र सो सडकको योजना बन्यो र उनले आफैँले त्यस सडकको शिलान्यास गरेका थिए । यसरी सङ्घर्ष, दमन र निर्वासनको लामो यात्राबाट संसद् र मन्त्रिमण्डलसम्म पुगेको उनको राजनीतिक जीवनले ओखलढुङ्गाको लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय राजनीतिको अन्तरसम्बन्धलाई स्पष्ट पार्छ ।
६. २०४६ सालको ऐतिहासिक जनआन्दोलन र त्यसपछिको दशक
२०४६ सालको जनआन्दोलन नेपालको लोकतान्त्रिक इतिहासमा एउटा निर्णायक मोड थियो। नेपाली काङ्ग्रेस र वामपन्थी शक्तिहरूको संयुक्त जनआन्दोलनले करिब तीन दशक लामो निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य गर्दै बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनः स्थापित ग¥यो । ओखलढुङ्गाका लागि पनि यो परिवर्तन विशेष अर्थपूर्ण थियो ।
दशकौँदेखि लोकतान्त्रिक अधिकारका लागि सङ्घर्ष गरेका, जेल र यातना भोगेका तथा जीवन बलिदान गरेका राजनीतिक योद्धाहरूको सपना संस्थागत रूपमा अगाडि बढ्ने बाटो खुलेको थियो । तर, लोकतन्त्रको पुनर्स्थापना आन्दोलनको अन्त्य थिएन, बरु यो त नयाँ राजनीतिक जिम्मेवारीको सुरुवात थियो ।
लोकतन्त्रलाई संस्थागत गर्ने, नागरिक अधिकारको रक्षा गर्ने, राज्यलाई उत्तरदायी बनाउने र जनताको जीवनमा लोकतान्त्रिक परिवर्तनको प्रत्यक्ष अनुभूति गराउने चुनौती अब राजनीतिक नेतृत्वसामु थियो । ओखलढुङ्गाको लोकतान्त्रिक आन्दोलनले पनि यही नयाँ चरणमा प्रवेश ग¥यो ।
७. २०५२–२०६२ को द्वन्द्व र देउरालीको डिल (घोरखोरी) को घटना
ओखलढुङ्गाको राजनीतिक इतिहासलाई पञ्चायतविरुद्धको सङ्घर्ष र २०४६ सालको परिवर्तनमा मात्र सीमित गरेर हेर्न मिल्दैन । २०५२ सालदेखि सुरु भएको माओवादी सशस्त्र द्वन्द्वले पनि जिल्लाको सामाजिक, राजनीतिक र आर्थिक जीवनमा गहिरो प्रभाव पा¥यो ।
द्वन्द्वका क्रममा ओखलढुङ्गाले पनि ठूलो मानवीय क्षति, विस्थापन, भय र सामाजिक तनावको पीडा भोग्नुप¥यो । राजनीतिक विचार र राज्यसत्ताबीचको द्वन्द्वमा विभिन्न स्थानमा सामान्य नागरिकहरूसमेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भए ।
यही क्रममा २०५९ साल असार ६ गते बिहीबारका दिन ओखलढुङ्गाको हाल चम्पादेवी गाउँपालिका–६ मा पर्ने ’देउरालीको डिल’ (घोरखोरी) घटनामा माधव लुइटेल, थलहरी लुइटेल र तेजबहादुर भुजेलले ज्यान गुमाए । लोकतन्त्र स्थापना पश्चात् राज्यले उनीहरूलाई शहीद घोषणा ग¥यो । उनीहरूको बलिदान ओखलढुङ्गाले द्वन्द्वकालमा भोगेको मानवीय क्षतिको अर्को एउटा दुःखद र महत्वपूर्ण अध्याय हो ।
टिमुरबोटेमा पञ्चायती शासनविरुद्ध लडेका राजनीतिक योद्धादेखि घोरखोरीमा द्वन्द्वका क्रममा ज्यान गुमाएका नागरिकसम्म आइपुग्दा ओखलढुङ्गाको राजनीतिक इतिहासमा एउटा साझा पीडा देखिन्छऔ राजनीतिक परिवर्तनका प्रत्येक उतारचढावमा सामान्य नागरिकले ठूलो मूल्य चुकाएका छन् ।
यही कारण ओखलढुङ्गाको लोकतान्त्रिक इतिहासलाई केवल राजनीतिक दल, नेता र निर्वाचनको इतिहासका रूपमा मात्र बुझ्नु अपूर्ण हुन्छ । यो त त्यहाँका गाउँ, बस्ती र नागरिकले आफ्नो समयको राजनीतिक अन्यायविरुद्ध उठाएको आवाज, भोगेको दमन र दिएको बलिदानको इतिहास हो भनेर बुझ्नु आवश्यक छ।
८. २०६२-६३ को आन्दोलन र लोकतान्त्रिक गणतन्त्र
२०६२-६३ को ऐतिहासिक जनआन्दोलनले नेपालको राजनीतिक इतिहासलाई अर्को निर्णायक मोडमा पु¥यायो । राजाको प्रत्यक्ष शासनको अन्त्य भयो, पुनर्स्थापित प्रतिनिधि सभा हुँदै संविधान सभाका माध्यमबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रतर्फ अघि बढ्यो । यससँगै लामो समयदेखि सङ्घर्षरत नेपाली समाजले राजनीतिक परिवर्तनको अर्को एउटा महत्त्वपूर्ण चरण पार ग¥यो ।
यसरी हेर्दा २००७ देखि २०६२-६३ सम्मको यात्रा एउटा लामो लोकतान्त्रिक प्रवाह जस्तो देखिन्छ- २००७ सालमा राणा शासनको अन्त्य, २०१७ सालमा जननिर्वाचित प्रजातन्त्रको अपहरण, २०३१ सालमा ओखलढुङ्गा–टिमुरबोटेको सशस्त्र प्रतिरोध, २०३६ सालमा जनमतसङ्ग्रह, २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना, २०५२–२०६२ को द्वन्द्वकालीन पीडा र २०६२-६३ मा लोकतान्त्रिक गणतन्त्रतर्फको ऐतिहासिक परिवर्तन ।
यी सबै घटनालाई अलग–अलग हेर्दा फरक राजनीतिक प्रसङ्ग देखिए पनि इतिहासको त्यान्द्रोमा जोडेर हेर्दा नेपाली समाजको निरन्तर लोकतान्त्रिक आकांक्षा र राजनीतिक यात्रा स्पष्ट देखिन्छ, जसमा ओखलढुङ्गाको इतिहास राष्ट्रिय यात्राको एउटा जीवन्त स्थानीय प्रतिबिम्ब हो ।
९. गौरवसँगै जिम्मेवारी
ओखलढुङ्गाको लोकतान्त्रिक इतिहास नेपाली काङ्ग्रेसका लागि निश्चय नै गौरवको विषय हो । तर, गौरबसँगै गम्भीर जिम्मेवारी पनि जोडिएर आउँछ। विभिन्न राजनीतिक कालखण्डका योद्धाहरूले लोकतान्त्रिक आन्दोलनका लागि आफ्नो जीवन अर्पण गरेका थिए । उनीहरूले हामीलाई केवल राजनीतिक विरासत मात्र होइन, एउटा ठूलो नैतिक दायित्व पनि छोडेर गएका छन् ।
शहीदका नाममा श्रद्धाञ्जली अर्पण गर्न सजिलो हुन्छ, तर शहीदहरूले विश्वास गरेको लोकतान्त्रिक संस्कारलाई व्यवहारमा उतार्नु उत्तिकै कठिन हुन्छ । त्यसैले शहीदप्रतिको सच्चा सम्मान केवल स्मृति दिवसमा माल्यार्पण गर्नु वा उनीहरूको नाममा औपचारिक कार्यक्रम आयोजना गर्नुमा मात्र सीमित हुनु हुँदैन । लोकतन्त्रप्रतिको निष्ठा, राजनीतिक इमानदारिता, नागरिक स्वतन्त्रताको सम्मान, असहमतिप्रतिको सहिष्णुता र जनताप्रति उत्तरदायी राजनीतिक व्यवहारमै शहीदहरूको सपना जीवित रहन्छ ।
यसका साथै ओखलढुङ्गाको लोकतान्त्रिक इतिहाससँग जोडिएका रामपुर, टिमुरबोटे, घोरखोरी तथा अन्य महत्वपूर्ण स्मृति स्थलहरूको संरक्षण गर्नु आजको पुस्ताको महत्वपूर्ण दायित्व हो।
यी स्थानहरूलाई केवल एउटा ढुङ्गाको स्मारकमा सीमित नराखी अध्ययन, अनुसन्धान र भावी पुस्तालाई इतिहास बुझाउने केन्द्रका रूपमा विकास गरिनुपर्छ। आधुनिक प्रविधिको प्रयोग गर्दै डिजिटल अभिलेख निर्माण गर्ने र मौखिक इतिहासलाई समेत सुरक्षित गर्ने हो भने ओखलढुङ्गालाई नेपालको लोकतान्त्रिक इतिहास अध्ययनको एउटा महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।
इतिहास संरक्षण भनेको केवल पुराना घटनाको सम्झना मात्र होइन, विगतका सङ्घर्ष र बलिदानबाट वर्तमान पुस्ताले लोकतन्त्रको वास्तविक मूल्य बुझ्ने वातावरण निर्माण गर्नु पनि हो ।
निष्कर्ष
ओखलढुङ्गाको प्रजातान्त्रिक आन्दोलनलाई एउटै घटना वा एउटै व्यक्तिको योगदानले मात्र परिभाषित गर्न सकिँदैन । यो २००७ सालको क्रान्तिबाट सुरु भएको राजनीतिक चेतनाको विस्तार, २०१७ सालपछिको जेल, निर्वासन, शहादत र भूमिगत जीवन बिताउने पुस्ताको सङ्घर्षदेखि द्वन्द्वकालका पीडादायी स्मृतिसम्म फैलिएको एउटा महागाथा हो ।
आज हामी जुन लोकतन्त्र र स्वतन्त्रताको खुला आकाशमा बाँचिरहेका छौँ, नागरिक अधिकार र निर्वाचनमार्फत आफ्ना प्रतिनिधि आफैँ छान्ने जुन अधिकार उपभोग गरिरहेका छौँ, त्यो सजिलै प्राप्त भएको होइन । यसको पछाडि पुस्ताौँको सङ्घर्ष, त्याग र बलिदान लुकेको छ । त्यस सङ्घर्षको एउटा ठूलो हिस्सा ओखलढुङ्गाको माटोमा मिसिएको छ ।
इतिहासका पानामा नाम लेखिन नसकेका असंख्य ज्ञात–अज्ञात लोकतान्त्रिक योद्धा, समर्थक, उनीहरूका परिवार र द्वन्द्वपीडित नागरिकहरूको पीडा र योगदान पनि यसमा जोडिएको छ ।
त्यसैले ओखलढुङ्गाको इतिहास सम्झनु भनेको केवल विगतको पाना पल्टाउनु मात्र होइन, यो त वर्तमानलाई प्रश्न गर्नु पनि हो । जुन आदर्श र निष्ठाका लागि उनीहरूले आफ्नो जीवन उत्सर्ग गरे, के आजको लोकतन्त्र त्यही जगमा उभिएको छ त ? यो प्रश्न केवल नेपाली काङ्ग्रेसका लागि मात्र होइन, लोकतन्त्रमा विश्वास गर्ने प्रत्येक राजनीतिक दल, नेता, कार्यकर्ता र नागरिकका लागि पनि हो। किनकि लोकतन्त्र प्राप्त गर्नु एउटा ऐतिहासिक उपलब्धि हो भने त्यसलाई जोगाइराख्नु प्रत्येक पुस्ताको परम कर्तव्य हो ।
लोकतन्त्र केवल आवधिक निर्वाचनमा मात्र देखिनु हुँदैन; यो त राजनीतिक संस्कारमा, सत्ताको व्यवहारमा, नागरिकको सम्मानमा, असहमतिलाई स्वीकार गर्ने क्षमतामा र सबैभन्दा मत्वपूर्ण कुरा- जनताप्रतिको उत्तरदायित्वमा प्रकट हुनुपर्छ । यस अर्थमा ओखलढुङ्गा केवल नेपालको नक्सामा रहेको एउटा जिल्ला मात्र होइन, यो नेपालको लोकतन्त्रले चुकाएको मूल्यको एउटा जीवन्त र धडकँदो स्मृति हो ।
त्यहाँको माटोमा गाडिएको प्रत्येक बलिदानले आजको पुस्तालाई एउटै प्रश्न गरिरहेको छ— “हामीले सुम्पिएको लोकतन्त्रलाई तिमीहरूले कति इमानदारुीसाथ जोगाइरहेका छौ ?“ यस प्रश्नको इमानसाथ उत्तर खोज्नु नै ओखलढुङ्गाका ज्ञात–अज्ञात शहीद तथा लोकतान्त्रिक योद्धाहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।














प्रतिक्रिया