भुवन केसीको अन्तर्वार्तामाथि सुस्मिताको प्रश्न : फिल्मको प्रचारमा व्यक्तिगत सम्बन्धको चर्चा किन ? « Khabarhub

भुवन केसीको अन्तर्वार्तामाथि सुस्मिताको प्रश्न : फिल्मको प्रचारमा व्यक्तिगत सम्बन्धको चर्चा किन ?


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म रिलिज हुन लाग्दा कलाकारले दर्शकलाई आफ्नो फिल्मबारे जानकारी दिनु, कथावस्तु सुनाउनु र फिल्मप्रति उत्सुकता जगाउनु स्वाभाविक हो । तर फिल्मको प्रचारका लागि दिइने अन्तर्वार्तामा फिल्मभन्दा कलाकारको व्यक्तिगत जीवन, पुराना सम्बन्ध र पारिवारिक विवादले बढी चर्चा पाउन थालेपछि के त्यसलाई उचित मान्न सकिन्छ ? अभिनेत्री सुस्मिता यही प्रश्न लिएर सार्वजनिक रूपमा प्रस्तुत भएकी छन् ।

उनले अभिनेता भुवन केसीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिले अहिले नेपाली फिल्म क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ । यद्यपि उनले भुवनको नाम लिएर प्रत्यक्ष आरोप लगाएकी छैनन्, उनको टिप्पणीको समय र सन्दर्भले भने भुवनको पछिल्लो अन्तर्वार्तासँग जोडेर चर्चा भइरहेको छ ।

सुस्मिताको मुख्य प्रश्न छ– फिल्मको प्रचार गर्ने समयमा फिल्मकै कुरा हुनुपर्ने होइन र ? फिल्मको कथा, विषयवस्तु, कलाकारको भूमिका र निर्माणका क्रममा गरिएको मेहनतबारे दर्शकलाई जानकारी दिनुपर्ने समयमा व्यक्तिगत सम्बन्धका पुराना प्रसङ्गले किन प्राथमिकता पाउने ?

उनको आशय फिल्मको प्रचार भनेको आफ्नो सिर्जना दर्शकमाझ पुर्‍याउने माध्यम हो भन्ने देखिन्छ । कलाकारले आफ्नो काममार्फत दर्शकको मन जित्ने प्रयास गर्नुपर्नेमा विगतका व्यक्तिगत घटनालाई अघि सारेर सहानुभूति बटुल्ने शैली कत्तिको सही हो भन्ने उनले प्रश्न गरेकी छन् ।

विशेषगरी, फिल्म प्रदर्शनको मुखमा व्यक्तिगत सम्बन्धका कुरा निकाल्दै भावुक हुने, आँसु झार्ने र आफूलाई पीडितका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिमाथि उनले असन्तुष्टि व्यक्त गरेकी छन् । भावनात्मक अभिव्यक्तिले दर्शकको ध्यान तान्न सक्छ, तर त्यसले फिल्मको प्रचारलाई नै ओझेलमा पार्न नहुने उनको सन्देश छ ।

सुस्मिताले केवल कलाकारको अन्तर्वार्तामाथि मात्र प्रश्न उठाएकी छैनन्, पत्रकारिताको निष्पक्षताबारे पनि आफ्नो धारणा राखेकी छन् ।

व्यक्तिगत सम्बन्ध र पारिवारिक घटनालाई सार्वजनिक बहसको विषय बनाउने हो भने त्यससँग जोडिएका सबै पक्षलाई आफ्नो कुरा राख्ने अवसर दिनुपर्ने उनको तर्क छ। किनकि कुनै पनि सम्बन्धको कथा एउटा पक्षको अभिव्यक्तिले मात्रै पूर्ण हुँदैन।

उनले दर्शकलाई पनि भावुक अभिव्यक्ति सुनेकै भरमा कसैको पक्ष वा विपक्षमा धारणा नबनाउन आग्रह गरेकी छन्। कसैको आँसु र भावनात्मक प्रस्तुतिलाई मात्रै सत्यको प्रमाण मान्न नहुने उनको भनाइको आशय छ ।

रोचक पक्ष के छ भने, यति धेरै प्रश्न उठाए पनि सुस्मिताले अन्त्यमा भने फिल्मको सफलताको कामना गर्न छुटाएकी छैनन्। महादेवसँग फिल्मले अपार सफलता पाओस् र यसमा संलग्न सबैको मेहनत सफल होस् भन्दै उनले प्रार्थना गरेकी छन्।

सुस्मिताको यो अभिव्यक्ति भुवन केसीको निर्देशनमा बनेको नयाँ फिल्म ‘बाटुलो जुन’ प्रदर्शनको तयारी भइरहेका बेला आएको हो। फिल्म यही कात्तिक २६ गतेदेखि हलमा प्रदर्शन हुँदै छ। फिल्ममा भुवन केसी र गरिमा पन्तसँगै अनमोल केसी तथा प्रिन्सी खतिवडा मुख्य भूमिकामा छन्।

अब सुस्मिताको टिप्पणीले उठाएको प्रश्न भने फिल्म क्षेत्रका लागि पनि विचारणीय बनेको छ। कलाकारको व्यक्तिगत जीवन दर्शकका लागि चासोको विषय हुन सक्छ, तर फिल्मको प्रचारमा त्यसले कति ठाउँ पाउनुपर्छ ? अन्तर्वार्ता फिल्मको चर्चा गर्ने माध्यम बन्ने कि पुराना सम्बन्ध र पारिवारिक घटनालाई फेरि चर्चामा ल्याउने अवसर ? अहिलेको बहस यही हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १२ : ५६ बजे

नेपाली कम्युनिस्ट र नेकपाबीच एकता, १० बुँदे सहमतिपत्रमा हस्ताक्षर 

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने

शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश

काठमाडौँ – शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष

संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब, आङदेम्बेले भेटे सभामुख

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज

तस्बिरमा हेर्नहोस् : जनकपुरको बलिङ, विराटनगरको ब्याटिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर

आन्द्रे, लोकेश र इम्रानको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौँ – विरानटगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको