काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको फिल्म ‘किङ’ प्रदर्शनमा आउनुअघि नै चर्चाको शिखरमा छ ।
फिल्मको पोस्टर र स्टारकास्टले मात्रै होइन, यसको प्रि–रिलिज व्यापारले पनि बलिउडमा नयाँ रेकर्ड बनाउने संकेत गरेको छ ।
आगामी डिसेम्बर २४ मा प्रदर्शन हुने फिल्मले थिएटर, डिजिटल, म्युजिक र अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्रीबाटै करोडौँ रुपैयाँको कारोबार गरिसकेको छ।
तीन वर्षपछि ठूलो पर्दामा फर्किन लागेका शाहरुखका लागि ‘किङ’ निकै महत्त्वपूर्ण फिल्म मानिएको छ। यही कारण पनि फिल्मप्रति दर्शकको उत्सुकता बढ्दो छ ।
तर रोचक कुरा के छ भने, फिल्म प्रदर्शनमा आउनुअघि नै यसको कारोबारले भारतीय फिल्म उद्योगको ध्यान खिचेको छ।
a
तर, यति ठूलो कारोबारका बाबजुद ‘किङ’का लागि चुनौती कम छैन। किनकि फिल्मको निर्माण लागत पनि असाधारण रूपमा उच्च छ। सुरुमा ३०० करोडभन्दा बढी बजेट अनुमान गरिएको फिल्मको सुटिङका क्रममा खर्च बढेर ४०० करोड पुगेको बताइएको छ।
प्रचारप्रसारमा मात्रै करिब ५० करोड खर्च गर्ने तयारी छ । शाहरुखको पारिश्रमिकसमेत जोड्दा फिल्मको कुल लागत करिब ५५० करोड पुग्ने अनुमान गरिएको छ।
यस्तो अवस्थामा फिल्मले लगानी सुरक्षित गर्न हलमा समेत ठूलो व्यापार गर्नुपर्ने हुन्छ । वितरण अधिकारका लागि भएको मिनिमम ग्यारेन्टी सम्झौताअनुसार वितरकले लगानी उठाउनुपर्ने भएकाले ‘किङ’ले विश्वभरबाट कम्तीमा ८०० करोड रुपैयाँको व्यापार गर्नुपर्ने अनुमान गरिएको छ ।
त्यसैले प्रदर्शनअघि नै करोडौँको कारोबार गरेको फिल्मका लागि वास्तविक परीक्षा भने हलमा दर्शकको प्रतिक्रिया र टिकट बिक्रीबाट हुनेछ।
फिल्मको अर्को ठूलो आकर्षण शाहरुखले पहिलोपटक छोरी सुहाना खानसँग एउटै पर्दामा अभिनय गर्नु हो। फिल्ममा शाहरुख र सुहानासँगै दीपिका पादुकोण, रानी मुखर्जी र अभिषेक बच्चन पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन्।














प्रतिक्रिया