तेहरान– इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै हत्या गर्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानर राजधानी तेहरानका विभिन्न स्थानमा प्रदर्शन गरेको छ ।
तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको एउटा विशाल होर्डिङमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ । उक्त होर्डिङमा ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्दा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि तेहरानमा ट्रम्पको आलोचना र बदलाको चेतावनीसहितका प्रचार सामग्री राखिँदै आएका छन् ।
यसैबीच, मध्यपूर्वमा जारी युद्ध थप चर्किन नदिन तेहरान र वासिङ्टनलाई वार्तामा ल्याउने कूटनीतिक प्रयास भइरहेका छन् । युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा समेत मूल्यवृद्धि भएको छ ।
अमेरिकामा मङ्गलबार मध्यावधि निर्वाचन हुन लागेका बेला राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताएका छन् । इरानसँगको युद्धलाई लिएर अमेरिकी मतदातामा असन्तुष्टि बढिरहेका बेला निर्वाचन हुन लागेको हो ।
तेहरानको ताज्रिस स्क्वायरमा आयोजित खुला प्रदर्शनीमा पनि ट्रम्पलाई लक्षित विभिन्न चित्र र कलाकृति राखिएका छन् । एउटा चित्रमा उनको अनुहार रगतले लतपतिएको अवस्थामा भुइँमा देखाइएको छ भने अर्कोमा उनको टाउकोमाथि एक व्यक्तिको खुट्टा राखिएको दृश्य चित्रण गरिएको छ ।
त्यस्तै, अर्को चित्रमा ट्रम्पको अनुहार बमले छोपिएको देखाइएको छ । उक्त चित्र बेल्जियमका अतियथार्थवादी चित्रकार रेने माग्रिटको सन् १९६४ को चर्चित चित्र ‘द सन अफ म्यान’बाट प्रेरित रहेको बताइएको छ ।
प्रदर्शनीस्थल नजिकै जेलको कोठाजस्तो संरचनासमेत निर्माण गरिएको छ । त्यहाँ ट्रम्पको भेष धारण गरेका एक कलाकार दिनभर बस्ने गरेका छन् । छेउमा राखिएको पर्दामा इरानमाथि अमेरिकी आक्रमणबाट भएको क्षतिका दृश्यहरू प्रदर्शन गरिन्छन् ।
इरानले युद्धका क्रममा अमेरिकाले विद्यालय र विवाह समारोहजस्ता सर्वसाधारणका क्षेत्रलाई जानाजानी निशाना बनाएको आरोप लगाउँदै आएको छ । त्यस्ता आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ मानिस मारिएको इरानको दाबी छ ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानका सार्वजनिक स्थलमा सरकारले प्रायोजन गरेका विशाल होर्डिङ, ब्यानर र भित्तेचित्रमार्फत राजनीतिक सन्देश दिने परम्परा रहँदै आएको छ । यस्ता प्रचार सामग्रीमा सहयोगी राष्ट्र र सैन्य व्यक्तित्वको प्रशंसा गर्नुका साथै अमेरिका र इजरायलजस्ता विरोधी राष्ट्रलाई लक्षित सन्देश प्रस्तुत गरिन्छ ।














प्रतिक्रिया