टी–२० विश्वकप : पाकिस्तान र बंगलादेशलाई बन्नसक्छ गलपासो  « Khabarhub

टी–२० विश्वकप : पाकिस्तान र बंगलादेशलाई बन्नसक्छ गलपासो 



काठमाडौं– आगामी शनिबारदेखि सुरु हुने टी–२० विश्वकप अघि पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने निर्णय लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट जगतमा ठूलो तरंग पैदा भएको छ । 

पाकिस्तान सरकारले आफ्नो टोली विश्वकप खेल्ने तर भारतसँग प्रतिस्पर्धा नगर्ने स्पष्ट पारेको छ । यस निर्णयले केवल दुई देशबीचको क्रिकेट सम्बन्ध मात्र होइन, सम्पूर्ण प्रतियोगितामै असर पार्ने देखिएको छ ।

पाकिस्तानको निर्णय सार्वजनिक हुनासाथ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आफ्नो निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ । आईसीसीले चेतावनी दिँदै यस्तो कदमले पाकिस्तानलाई भविष्यमा गम्भीर समस्यामा पार्न सक्ने संकेत पनि दिएको छ ।

भारतविरुद्ध नखेल्ने निर्णयको ठोस कारण पाकिस्तानले सार्वजनिक गरेको छैन। यद्यपि, बंगलादेशलाई टी–२० विश्वकपबाट हटाउने आईसीसीको पछिल्लो निर्णयसँग पाकिस्तान असन्तुष्ट रहेको अनुमान गरिँदै आएको छ । यही असन्तुष्टिको प्रतिक्रिया स्वरूप पाकिस्तानले यस्तो कडा निर्णय लिएको हुन सक्ने विश्लेषण भइरहेको छ ।

आईसीसीको खेलसम्बन्धी नियमअनुसार, कुनै टोलीले खेल बहिष्कार गरेमा त्यस टोलीले २० ओभरमा शून्य रन बनाएको मानिन्छ, जबकि विपक्षी टोलीको एक ओभर गणना हुँदैन । 

यसको प्रत्यक्ष असर पाकिस्तानको नेट रनरेटमा गम्भीर रूपमा पर्न सक्छ, जसका कारण बाँकी सबै खेल जिते पनि समूह चरण पार गर्न मुस्किल हुन सक्छ ।

समूह–ए मा भारत र पाकिस्तानसँगै नामिबिया, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । यीमध्ये कुनै एक खेलमा पनि हार बेहोर्नुपरेमा पाकिस्तान समूह चरणबाटै बाहिरिने जोखिममा पर्न सक्छ । 

स्मरणीय छ, अघिल्लो विश्वकपमा अमेरिकाले पाकिस्तानलाई हराउँदै प्रतियोगिताबाट बाहिर पठाएको थियो, जबकि नेदरल्यान्ड्स पनि ठूला उलटफेरका लागि परिचित टोली हो ।

प्रतिबन्धको खतरा अझ गहिरिँदै

आईसीसी र पाकिस्तानबीचको सम्बन्ध विगतदेखि नै सहज छैन । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आईसीसीमा बलियो प्रभाव रहेको चर्चा हुँदै आएको छ । 

आईसीसी अध्यक्ष जय शाह बीसीसीआईका पूर्वसचिव समेत हुन् । यस्तो अवस्थामा भारतविरुद्ध खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णयले आईसीसीलाई कडा कदम चाल्न प्रेरित गर्न सक्ने देखिन्छ ।

आईसीसीले पाकिस्तानसँग भारतविरुद्धको खेल किन बहिष्कार गरियो ? भन्ने स्पष्ट जवाफ माग्नेछ । यदि जवाफ सन्तोषजनक नभएमा, पाकिस्तानलाई यही विश्वकपबाटै प्रतिबन्ध लगाउनेदेखि भविष्यका प्रतियोगितामा सहभागिता नगराउने सम्मका विकल्प खुला रहने बताइन्छ ।

यसअघि सुरक्षा र राजनीतिक कारण देखाउँदै अन्य देशहरूले पनि विश्वकप खेल बहिष्कार गरेका उदाहरण छन् । 

तर पाकिस्तानको हकमा भने आईसीसी नरम नहुने संकेत देखिएको छ । विश्वकपका सबै खेलहरू भारतमा नभई श्रीलंकामा आयोजना भइरहेकाले सुरक्षाको कारण देखाउन पाकिस्तानलाई कठिन हुने विश्लेषण छ ।

पीएसएलदेखि रेभेन्युसम्म : पाकिस्तानलाई दोहोरो आर्थिक झट्काको खतरा

यदि पाकिस्तानले भारतविरुद्ध खेल बहिष्कार गर्नुको कारण बंगलादेशलाई समर्थन गर्नु भएको पुष्टि भएमा, त्यसको असर केवल विश्वकपसम्म सीमित रहने छैन । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यस्तो अवस्थामा पाकिस्तान सुपर लिग (पीएसएल) लाई आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)नदिने सम्भावना बलियो देखिएको छ । 

यस्तो निर्णय आएमा पीएसएलमा विदेशी खेलाडीको सहभागिता प्रभावित हुनेछ, जसले पाकिस्तानको घरेलु क्रिकेट संरचनामै ठूलो धक्का पुर्‍याउन सक्छ ।

यससँगै, भारत–पाकिस्तानबीचको बहुप्रतीक्षित खेल नहुँदा आईसीसीले ठूलो आर्थिक घाटा व्यहोर्नुपर्नेछ। विश्वकपमा यी दुई टोलीबीचको खेल नै सबैभन्दा बढी दर्शक तान्ने र आम्दानी ल्याउने मानिन्छ । 

यही कारणले आईसीसीले पाकिस्तानलाई दिइने वार्षिक खर्च घटाउने विकल्पसमेत विचार गर्न सक्ने अनुमान गरिएको छ ।

अझ गम्भीर पक्ष के छ भने, भविष्यमा पाकिस्तानले आईसीसी प्रतियोगिता आयोजना गर्ने अधिकारसमेत गुमाउन सक्छ । पाकिस्तानले करिब २९ वर्षपछि २०२५ को च्याम्पियन्स ट्रफी आयोजना गर्ने अवसर पाएको थियो । 

तर हालको विवाद गहिरिँदै गएमा त्यो प्रतियोगिता नै पाकिस्तानका लागि अन्तिम ठूलो आईसीसी आयोजना बन्न सक्ने चिन्ता विश्लेषकहरूले व्यक्त गरेका छन् ।

यो निर्णयले पाकिस्तान क्रिकेटलाई खेलमैदान बाहिर आर्थिक, प्रशासनिक र अन्तर्राष्ट्रिय स्तरमा गहिरो संकटतर्फ धकेल्न सक्ने संकेत देखिएको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  २ : १३ बजे

पत्रकारलाई आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

कर्णाली– यही फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित गरेर

डा. शेखरको आठ बुँदे ‘अठोटपत्र’ : विराटनगरलाई ‘विशेष आर्थिक क्षेत्र’ बनाउने उद्घोष

विराटनगर– नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का

प्रमुख दलका वाचा : सबल र आत्मनिर्भर अर्थतन्त्र

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी– म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको