एजेन्सी– अमेरिका र इजरायलसँग जारी युद्धको पृष्ठभूमिमा इरानले आफ्नो आक्रमणको दायरा विस्तार गर्दै खाडी क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गरेपछि तेल तथा ग्यास आपूर्तिमा नयाँ अनिश्चितता देखिएको छ ।
मंगलबार कतार, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) मा भएका आक्रमणले उत्पादन र भण्डारण संरचनामा असर पारेका छन् भने अन्तर्राष्ट्रिय बजारमा मूल्यसमेत उकालो लागेको छ ।
कतारको राज्य सञ्चालित कतार एनर्जीले इरानी आक्रमणका कारण आफ्ना दुई ग्यास प्रशोधन प्लान्ट प्रभावित भएको जनाएको छ । कम्पनीका अनुसार ड्रोन हमलापछि युरिया, पोलिमर, मेथनोल र एल्युमिनियमजस्ता पदार्थहरूको केही डाउनस्ट्रीम उत्पादन रोकिएको छ ।
यस घोषणासँगै लन्डन मेटल एक्सचेन्जमा आल्युमिनियमको मूल्य तत्काल करिब दुई प्रतिशतले बढेको छ । विश्वकै प्रमुख तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यातकमध्ये एक मानिने कतारले सोमबार नै आफ्ना दुई साइटमा ड्रोन प्रहार भएपछि एलएनजी उत्पादन अस्थायी रूपमा स्थगित गरेको थियो । उत्पादन रोकिएपछि युरोपेली बजारमा मूल्य तीव्र रूपमा बढेको जनाइएको छ ।
यसैबीच ओमानमा पनि ऊर्जा संरचनामाथि आक्रमण भएको छ । आधिकारिक समाचार एजेन्सीका अनुसार मंगलबार धेरै ड्रोनले देशको पूर्वी तटमा रहेको डुकम बन्दरगाहलाई निशाना बनाएका थिए ।
सुरक्षा स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा मानवीय क्षति नभएको र भएको क्षति नियन्त्रणमा लिइएको उल्लेख छ । युद्ध सुरु हुनुअघि इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको ओमानका लागि यो तीन दिनयताको दोस्रो आक्रमण हो ।
आइतबार पनि सोही बन्दरगाहमा दुई ड्रोन प्रहार हुँदा एक कामदार घाइते भएका थिए । एउटा ड्रोन कामदार आवासमा खसेको र अर्कोको भग्नावशेष इन्धन ट्याङ्की नजिकै परेको जनाइएको छ ।
मंगलबार ओमानले थप दुई ड्रोन खसालेको र अर्को सलालाह बन्दरगाह नजिकै दुर्घटनाग्रस्त भएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
संयुक्त अरब इमिरेट्समा भने रोकिने क्रममा खसालिएको ड्रोनको भग्नावशेष फुजैराहस्थित तेल भण्डारण तथा व्यापारिक क्षेत्रमा खसेर आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।
फुजैराह मिडिया कार्यालयले कुनै मानवीय क्षति नभएको, आगो नियन्त्रणमा लिइएको र सामान्य सञ्चालन पुनः सुरु भएको जानकारी दिएको छ । युएईले युद्ध सुरु भएयता आफूलाई ८०० भन्दा बढी ड्रोन र करिब २०० मिसाइलले लक्षित गरेको दाबी गरेको छ ।
इरानले सोमबारदेखि साउदी अरेबिया, युएई र कतारजस्ता अमेरिकी सहयोगी देशहरूका पूर्वाधारलाई पनि लक्ष्य बनाउने संकेत दिएको थियो । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले मंगलबार इरानी क्षेप्यास्त्रले दोहा विमानस्थललाई निशाना बनाएको तर त्यसलाई सेनाले खसालेको बताएका छन् ।
अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूले ऊर्जा आपूर्तिमा देखिएको अवरोधले धातु तथा ऊर्जा मूल्यमा थप दबाब सिर्जना गर्ने बताएका छन् । आइएनजी बैंकका विश्लेषकहरूले आल्युमिनियम उत्पादन निलम्बनले बजारमा जोखिम बढाउने उल्लेख गर्दै खाडी क्षेत्रमा विश्व उत्पादनको करिब आठ प्रतिशत हिस्सा केन्द्रित रहेको र आपूर्ति हर्मुज जलडमरूमध्य हुँदै समुद्री मार्गमा निर्भर रहेको बताएका छन् ।
यसै सन्दर्भमा इरानको रिभोल्युसनरी गाड्र्सका एक जनरलले सोमबार हर्मुज जलडमरूमध्य हुँदै आवागमन गर्न खोज्ने कुनै पनि जहाज जलाइदिने चेतावनी दिएका छन् । विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने यो मार्गमा अस्थिरता बढेमा अन्तर्राष्ट्रिय बजारमा थप उथलपुथल आउने आकलन गरिएको छ ।













प्रतिक्रिया