यसरी खटिए चारै सुरक्षा निकाय, हरेक क्षेत्रमा अस्थायी बेस बनाएरै सेना र सशस्त्र प्रहरी तैनाथ « Khabarhub

निर्वाचन सुरक्षा

यसरी खटिए चारै सुरक्षा निकाय, हरेक क्षेत्रमा अस्थायी बेस बनाएरै सेना र सशस्त्र प्रहरी तैनाथ



काठमाडौं- अबको दुई दिनपछि हुन लागेको निर्वाचनका लागि सरकारले सुरक्षा तयारी पूरा गरेको जनाएको छ।

गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार मंगलबारसम्म देशभर सुरक्षा व्यवस्थामा कुनै कमी कमजोरी पाइएको छैन ।

उनका अनुसार सवारी आवतजावत हुने ठाउँमा मतपेटिका पुर्‍याउन गाडीको व्यवस्था गरिएको छ। हिमाली जिल्लाका गाउँमा मतपेटिका सदरमुकामसम्म ल्याउन हेलिकप्ट र जहाजको व्यवस्था गरिएको उनले बताइन्।

‘गृह प्रशासनले देशैभर निर्वाचनको माहोल बनाउन आदेश दिइसकेको छ। धेरै जिल्लामा सर्वदलीय बैठक बसेर काम अगाडि बढेको रिपोर्टिङ आएको छ। सुरक्षादेखि निर्वाचन अधिकृतका कामहरूको बन्दवस्त भइसकेको छ,’ आचार्यले खबरहबलाई भनिन्, ‘सक्दो निष्पक्ष र भयरहित निर्वाचन गराउन गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई परिचालन गरेको छ। सबै मतदानस्थलमा तयारी भइरहेको हामीलाई जानकारी छ।’

मन्त्रालयका सूचना अधिकारी आचार्य मतदाता भयरहित भएर मतदान गर्ने वातावरण सिर्जना भएको बताउँछिन् । अब त्यहीअनुसार मतदान गर्न उनले मतदातालाई आग्रह गरिन्।

कुनै हिसाबले चुनौती र भयको शङ्का भए सुरक्षा निकायलाई सम्पर्क गर्न उनी आग्रह गर्छिन्। ‘मतदाताले भयरहित र ढुक्कसँग मतदान गर्ने व्यवस्था मिलाएका छौँ। गृह मन्त्रालयले सम्पूर्ण तयारी पूरा गरेको छ’, आचार्यले भनिन, ‘कुनै मतदातालाई यदि शङ्का लागेमा सुरक्षा अङ्गलाई खबर गर्न हामी अनुरोध गर्छौं।’

यो निर्वाचनमा सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग र निर्वाचन प्रहरीसहित पाँचै निकायलाई खटाएको छ । विगतभन्दा केही अगाडिबाटै सुरक्षा व्यवस्था मजबुत बनाउन नेपाली सेना खटाइएको छ। सेनालाई माघ २१ गतेदेखि फिल्डमा खटाइएको हो। सेनासँगै सशस्त्र प्रहरी पनि निर्वाचनको दोस्रो घेरामा तैनाथ छ ।

नेपाल प्रहरीका अनुसार निर्वाचन सुरक्षामा दुवै प्रहरीलाई सघाउन एक लाख ४९९० जना म्यादी प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालयका अनुसार उनीहरूलाई आवश्यक सुविधा र तालिमसहित परिचालन गरिएको हो।

आयोग भन्छ : तयारी पूरा भयो

निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले तयारी पूरा भइसकेको बताए । भट्टराईका अनुसार निर्वाचनमा ५ हजारभन्दा बढी परिवेक्षक परिचालन हुने छ्न । अहिले जिल्ला तह र मतदान केन्द्रबाट आएका विभिन्न समस्यालाई सम्बोधन गर्न आयोग लागिरहेको बताउँछन् ।

एकै चरणमा गर्न सुरक्षा व्यवस्था मजबुत

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा एकैपटक निर्वाचन हुँदा सुरक्षालाई मध्यनजर गरेर सुरक्षा अङ्ग त्यहीअनुसार खटाइएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सूचना अधिकारी आचार्यका अनुसार भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा हातहतियार लुटपाट तथा चोरी भएकाले सुरक्षा रणनीति बनाइएको छ।

प्रहरीले दिएको सूचनाअनुसार विगतको भन्दा यसपटक मतदानस्थलमा थप सजगता र सुरक्षा तैनाथी बढाइएको छ । ती प्रहरी अधिकृतका अनुसार संवेदनशील मतदानस्थलमा भित्री घेरामा नेपाल प्रहरीको नेतृत्वमा निर्वाचन प्रहरी खटाउने तयारी छ। त्यसपछि आवश्यकता अनुसार सशस्त्र प्रहरी र सेनालाई पनि बाहिरी घेरामा तैनाथ गरिँदैछ । सादा पोशाकका प्रहरी पनि निगरानीमा खटिनेछन् ।

‘संवेदनशील मतदान केन्द्रमा सुरक्षा व्यवस्था अरुभन्दा मजबुत बनाइन्छ । विगतदेखिको अभ्यास यही हो तर यसपटक अति नै संवेदनशील मतदानस्थलमा सशस्त्र, सेना र सादा पोशाकमा प्रहरी परिचालन हुन सक्छन्’, ती प्रहरी अधिकृतले भने, ‘त्यसका लागि आवश्यक समन्वय र काम अगाडि बढाइसकेका छौँ । जोखिम विश्लेषण गरी तहगत सुरक्षा दिनुपर्ने रणनीतिअनुरुप विशेष प्राथमिकता दिइरहेका छौं ।’

मतदानस्थलमा विगत जस्तै नेपाल प्रहरी र निर्वाचन प्रहरी खटाइँदैछ । यसपटक करिब ७१ हजार नेपाल प्रहरी खटिएका छन् आवश्यक परे त्यसलाई थप्ने तयारी भएको देखिन्छ ।

यता नेपाली सेना र सशस्त्र प्रहरीले एक निर्वाचन क्षेत्र, एक अस्थायी बेसक्याम्प बनाएर सुरक्षा व्यवस्थापन गरिरहेका छन् । एउटामात्रै निर्वाचन क्षेत्र भएको जिल्लामा अति संवेदनशील मतदान केन्द्रमा आवश्यकताअनुसार परिचालन गरिएको छ।

नेपाली सेना दुई सातादेखि गस्तीमा छ। गस्ती अभियान विभिन्न तहमा वर्गीकरण गरेर अगाडि बढाइएको छ।

मौनअवधिको विशेष निगरानी

प्रहरीकाअनुसार मौनअवधिमा हुनसक्ने चलखेलको विशेष निगरानी भइरहेको छ। मौनअवधिमा उम्मेदवारले प्रलोभन देखाउने प्रवृत्ति मध्यनजर गरेर निगरानी पनि भइरहेको छ।

‘मौनअवधिको निगरानी मात्रै गरिएको छैन । मतदातालाई दबाबमा राखेर, प्रलोभन देखाएर धाँधली हुँदै आएको छ। बुथ कब्जा गर्ने प्रवृत्ति र अन्न चलखेललाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ’, ती प्रहरी अधिकृतले भने, ‘विगतका निर्वाचनमा प्रचारमै अप्रिय घटना हुने गरेका थिए। यस पटक त्यो दोहोरिएन । यसपटक धाँधलीरहित र सभ्यरूपमा निर्वाचन हुने मानेका छौँ । मौनअवधिमा मतदातालाई प्रलोभनमा पार्ने प्रवृत्ति रोक्न विशेष योजनासहित निगरानी भइरहेको छ ।’

निर्वाचनमा भाग नलिएका राजनीतिक शक्ति र संघ संस्थालाई निर्वाचन भाँड्ने गतिविधि हुन नदिन पक्राउदेखि निगरानी पनि जारी छ । त्यहीक्रममा दुर्गा प्रसाईं, धर्मेन्द्र बाँस्तोलासहित निर्वाचनविरोधीहरू अहिले हिरासतमा छन् ।

उनीहरूलाई विशेष निगरानीका लागि प्रहरीले अलग्गै समूह नै खटाएको छ। प्रहरीको गुप्तचर सेलको अनुसन्धानलाई ख्यालमा राखेर लुटेका हतियार पनि खोजिँदैछ । त्यहीक्रममा सोमबार एकथान इन्सास राइफल भक्तपुरबाट बरामद भयो।

निर्वाचनका लागि सेनाले करिब ८० हजार जनशक्ति पठाएको छ । सशस्त्रले ३५ हजार भन्दा बढी जनशक्ति परिचालन गरेको छ।

अतिसंवेदनशील स्थानलाई प्राथमिकता

देशैभरकामध्ये ४६ सय १४ मतदानस्थल अतिसंवेदनशील छन्। ११ हजार ९०१ मतदानस्थलमध्ये अतिसंवेदनशीललाई लक्षित गरेर विशेष रणनीतिसहित सुरक्षा तैनाथी गरिएको छ ।

तथ्यांक हेर्दा ४४२ मतदानस्थल संवेदनशील र २८४६ मतदानस्थल सुरक्षाका दृष्टिले कम जोखिमिपूर्ण मानिएको छ । गृह मन्त्रालयका अनुसार अतिसंवेदनशील, संवेदनशील र कम जोखिमपूर्ण क्षेत्रमा सुरक्षा व्यवस्था वर्गीकरण गरिएको छ ।

हेभिवेट नेता र उम्मेदवारको क्षेत्रमा विशेष रणनीतिका साथ सुरक्षा गतिविधि गरिएको प्रहरीको भनाइ छ। यसपटकको निर्वाचनमा जेन-जी आन्दोलनको असर देखिन सक्ने भएकाले सुरक्षा निकाय त्यहीअनुसार परिचालित छ ।

‘जेन-जी आन्दोलनको प्रभाव अझै छ । केही ठाउँमा त्यसको आवेग देखिन सक्छ । त्यहीकारण हामीले तयारी गरेका छौँ । नयाँ शक्ति र पुरानाबीच तनाव हुन सक्ने भएकाले अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रलाई निगरानी गरेका छौँ’, गृहका ती अधिकारीले भने, ‘सबै प्रबन्ध राम्रोसँग मिलाएकाले मतदाता भयरहित निष्पक्ष र चुनौतीबीना मतदान गर्न ढुक्कले जाँदा हुन्छ।’

भयको अवस्था छैन : पूर्वडीआईजी हेमन्त मल्ल

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल अहिलेसम्मको अवस्था हेर्दा निर्वाचनमा कुनै भयको अवस्था नरहेको बताउँछन् । उनी अन्तरिम सरकारले सुरक्षा व्यवस्था राम्रो गरेको बताउँछन् । उनी कुनै भय त्रास र चुनौती नरहेको दोहोर्‍याउँछन्। सरकारले संवेदनशील र अति संवेदनशील मतदानस्थलमा सुरक्षा निगरानी गरेकाले ठूलो समस्या नहुने उनको विश्लेषण छ।

‘निर्वाचनमा कुनै भयको अवस्था छैन । सरकारले यसलाई ध्यानमा राखेर काम गरेको छ’, मल्लले अगाडि भने, ‘विगतकाभन्दा यसपटकको निर्वाचन सुरक्षा र व्यवस्थापनका दृष्टिले राम्रो हुँदैछ। अहिलेसम्म ठूला झडप नभएकाले निर्वाचन पनि शान्तिपूर्ण हुने मान्न सकिन्छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ७ : २७ बजे

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

डोनाल्ड ट्रम्पले भने : इरान वार्ता चाहन्छ, तर ‘अब ढिलो भइसक्यो’

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी सैन्य द्वन्द्व आज चौथो

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौं – ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण

चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौं – चुनाव विश्लेषणसम्बन्धी सामग्री हटाउन वा सम्पादन गर्न दिएको