बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने नाम हो– जोनी लिभर । उनको अनुहार, आवाज र अनौठो हाउभाउले दर्शकलाई हँसाउने मात्र होइन, मनमा स्थायी छाप छोड्छ । ९० को दशकमा उनी कमेडीका पर्याय जस्तै बनेका थिए । उनको सफलता केवल पर्दामा देखिने हाँसो मात्र होइन, यो कठिन संघर्ष, अभाव र अथक मेहनतको परिणाम हो ।
जोनी लिभरको वास्तविक नाम जोन प्रकाश राव जनुमाला हो । उनी मुम्बईमा बसोबास गर्ने एक सामान्य तेलुगु क्रिश्चियन परिवारमा जन्मिएका थिए । जोनीका दुई भाइ र तीन बहिनी छन् । उनी घरको जेठो सन्तान हुन् । उनको बाल्यकाल कुनै सहज थिएन । मुम्बईको सुकुम्बासी बस्तीमा हुर्किएका जोनीले सानै उमेरदेखि अभाव र संघर्षसँग जुध्नुपर्यो । दैनिक जीवन चलाउन पनि कठिन हुने अवस्थामा उनले बाल्यकाल बिताए ।
घरको आर्थिक अवस्था कमजोर भएपछि उनी सात कक्षापछि पढाइ छोड्न बाध्य भए । सानो उमेरमै परिवारको जिम्मेवारी उनको काँधमा आयो । जहाँ अरू बालबालिका लेखपढ गर्थे, त्यही उमेरमा जोनीले काम गरेर परिवार धान्नुपर्यो ।
जीवनयापनका लागि उनले सडकमा डटपेन बेच्ने काम सुरु गरे । बिहानदेखि साँझसम्म सडकमा घुम्दै कलम बेच्दा मात्र उनको परिवारको पेट भरिन्थ्यो । तर, यही कामले उनको जीवनको दिशा परिवर्तन गरिदियो । उनी केवल कलम बेच्दैनथे, बरु मानिसलाई हँसाउँदै बेच्थे ।

डटपेन बेच्दा उनी बलिउड कलाकारको नक्कल गर्थे, रमाइला संवाद बोल्थे र आफ्नै शैलीमा ग्राहकलाई आकर्षित गर्थे । मानिस उनको अभिनय देखेर हाँस्थे, रमाउँथे र डटपेन किन्थे । यही सानो अभ्यासले उनीभित्रको कलाकारलाई बाहिर ल्यायो ।
पछि उनले आफ्नो प्रतिभालाई स्टेजसम्म पुर्याए । विभिन्न स्टेज शो र अर्केस्ट्रामा उनले प्रस्तुति दिन थाले । उनको नक्कल र कमेडीले दर्शकलाई छिट्टै आकर्षित गर्यो । यसरी उनी विस्तारै स्थानीय स्तरबाट चिनिन थाले ।
जोनीका पिता प्रकाश राव मुम्बईको ‘हिन्दुस्तान लिभर’ फ्याक्ट्रीमा काम गर्थे । पिताको भनसुनले उनले पनि त्यहाँ जागिर पाए । फ्याक्ट्रीमा १०० किलोसम्मको भारी बोक्नुपर्थ्यो । भारी बोक्दा पनि उनी सहकर्मीलाई हँसाउन छोड्दैनथे । सबैले उनलाई मायाले ‘जोनी लिभर’ नाम दिए, जुन पछि उनको स्थायी पहिचान बन्यो ।
यही क्षमताका कारण उनले स्टेजमा आफ्नो प्रतिभा देखाउने अवसर पाए । संयोगले एउटा स्टेज शोमा उनलाई बलिउड अभिनेता तथा निर्माता सुनील दत्तले देखे । दत्तले उनलाई आफ्नो फिल्म ‘दर्द का रिश्ता’ मार्फत बलिउडमा प्रवेश गराए ।
फिल्म क्षेत्रमा प्रवेश गरेपछि जोनी लिभरले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । १९९० को दशकमा उनी बलिउडका सबैभन्दा लोकप्रिय र व्यस्त कमेडियन बने । उनले ३०० भन्दा बढी फिल्ममा काम गरे र हरेक फिल्ममा आफ्नो छुट्टै छाप छोडे ।
उनले शाहरुख खान, सलमान खान, अमिताभ बच्चन र अक्षय कुमार जस्ता सुपरस्टारसँग काम गरे । उनी जुनसुकै फिल्ममा भए पनि आफ्नो कमेडीमार्फत सधैँ छुट्टै स्थान बनाउन सफल हुन्थे ।
‘बाजीगर’, ‘करण अर्जुन’, ‘दुल्हे राजा’ र ‘दे दना दन’ जस्ता फिल्मका उनका पात्र आज पनि दर्शकका लागि अविस्मरणीय छन् । सानो दृश्यलाई पनि आफ्नो हाउभाउ, आवाज र टाइमिङले उनले अत्यन्तै प्रभावशाली बनाउँथे । उनको कमेडीको सबैभन्दा ठूलो विशेषता नै ‘टाइमिङ’ हो । कहिले बोल्ने, कस्तो प्रतिक्रिया दिने र कस्तो अनुहार बनाउने भन्ने कुरामा उनी माहिर छन् ।
आज जोनी लिभर संघर्षपूर्ण सुकुम्बासी जीवनबाट उठेर मुम्बईको सम्पन्न क्षेत्र लोखन्डवालामा परिवारसँग आरामदायी जीवन बिताइरहेका छन् । विभिन्न रिपोर्टअनुसार उनी करोडौँ रुपैयाँ सम्पत्तिका मालिक हुन् ।

उनको व्यक्तिगत जीवन पनि प्रेरणादायी छ । उनकी छोरी जेमी लिभर अहिले कमेडी र मिमिक्री क्षेत्रमा सक्रिय छिन् र आफ्नो छुट्टै पहिचान बनाउँदै छिन् । यसले जोनीको कला र प्रतिभा अब नयाँ पुस्तामा पनि हस्तान्तरण भइरहेको देखाउँछ ।
जोनी लिभरको जीवन केवल एक सफल कलाकारको कथा मात्र होइन, यो संघर्ष, धैर्य र आत्मविश्वासको ज्वलन्त उदाहरण हो । सुकुम्बासी बस्तीको सानो बालकले विश्वकै ठूलो फिल्म उद्योगमा आफ्नो नाम स्थापित गर्नु सामान्य कुरा होइन । उनको यात्रा हामी सबैका लागि प्रेरणा हो । परिस्थिति जस्तोसुकै भए पनि मेहनत, लगन र आफ्नो प्रतिभामा विश्वास भए जीवनमा असम्भव केही हुँदैन ।













प्रतिक्रिया