एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ? « Khabarhub

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?



काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको नेकपा (एमाले)भित्र बुधबारदेखि नयाँ अन्तरसंघर्ष देखिएको छ ।

पार्टी कार्यवाहक प्रमुखको जिम्मेवारी सहित एमाले संसदीय दलको नेतामा माओवादी पृष्ठभूमिका रामबहादुर थापा ‘बादल’ले जिम्मेवारी पाएपछि विकास भएको अन्तरविरोध बिहीबार संसद्‍मा पनि देखियो । उनै बादलले संसद्को पहिलो बैठकमा गरेको भाषणसँगै नयाँ ढंगले बढेको हो ।

विशेषगरी पछिल्लो समयमा पार्टी अध्यक्ष ओली इतर समूहको कित्तामा आफूलाई उभ्याउन कोसिस गर्दै गरेका नेताहरूले सामाजिक सञ्जालमार्फत् आफ्नो असहमतिको धारणा राख्दै ध्रुवीकरण बढाउने प्रयास गरिरहेका छन् । 

शुक्रबार हुने भनिएको सचिवालयको बैठकमा सबै विषयमा समीक्षा हुने र अन्तरविरोधले नयाँ स्वरूप लिनसक्ने पनि अनुमान गरिएको छ ।

तर, पार्टीमा बलियो पकड जमाउन सफल भएको ओली पक्षको समूहका अघि इतर पक्षले असन्तोष मात्रै पोख्छ वा नयाँ मोड लिने हैसियत राख्छ त्यो आगामी दिनले देखाउने छ ।

सुहाङलाई अघि सारेर ट्रायल

संगठनात्मक पद्धतिमा रहेको एमालेमा पार्टी संसदीय दलको नेतामा अध्यक्ष वा वरिष्ठ नेताले मात्रै प्रतिस्पर्धा गर्ने र जिम्मेवारी लिने चलन चल्दै आएको थियो ।

तर, अहिले भने एमालेको संसदीय दलको नेता चयन प्रक्रियामा अध्यक्ष ओलीले उपाध्यक्ष बादललाई अघि सारेपछि सुहाङ नेम्वाङलाई अर्को पक्षले अघि सारेको सार्यो ।

एमालेमा पारिवारिक विरासत भए पनि सुहाङ नेम्वाङ एमालेमा लामो योगदान भएका नेता भने होइनन् । उनी आफ्ना बुवाको मृत्युपछि भएको उप-निर्वाचनमार्फत भावनात्मक सम्बन्ध लिएर एमालेको सक्रिय राजनीतिमा आएका थिए ।

तर, त्यसपछि पार्टीको महाधिवेशन र पछिल्लो प्रतिनिधिसभा सदस्यको निर्वाचनसम्म आइपुग्दा भने उनले आफूलाई सम्भावना बोकेको नेताको रूपमा पनि स्थापित गर्न सफल भएका छन् ।

स्रोतकाअनुसार विशेषगरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेका भनिएका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे र उपमहासचिव योगेश भट्टराई लगायतको योजनामा नेम्वाङले आफ्नो उम्मेदवारी दिएका थिए । यद्यपि उनले आफूले नै नयाँ पहल गरेको भनेर दाबी पनि गरेका छन् ।

तर, अन्तिम समयसम्म विशेषगरी महासचिव शंकर पोखरेलले नेम्वाङलाई प्रतिस्पर्धा गर्ने वातावरण नै पैदा नहोस् भनेर भूमिका खेले र सफल पनि भए । जसकारण नेम्वाङले आफ्नो उम्मेदवारीमा प्रस्ताव र समर्थन गरिदिने अन्य सदस्य बनाउन नसक्दा बादल नै संसदीय दलको नेतामा निर्विरोध चयन भए ।

माओवादी पृष्ठभूमि र एमालेमा कमजोर संगठनात्मक धरातल भएका बादल संसदीय दलको नेतामा चयन भएपछि भने ओली इतर पक्षले सामाजिक सञ्जाल हुँदै जुलुस पनि निकालेर विरोध गर्यो । जुन विरोधमा एमालेका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेदेखि हालका उपमहासचिव योगेश भट्टराईले समेत सहभागिता जनाए ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पूर्व उपाध्यक्ष पाण्डेले ‘दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील होइन, अधोगतितर्फ मात्र धकेल्छ’ भन्दै प्रतिक्रिया दिए । उता उपमहासचिव भट्टराईले ‘सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन’ भनेर प्रतिक्रिया दिए ।

तर, संसदीय दलको नेता चयन प्रक्रियामा भने कूटनीतिक भूमिका खेलेपनि उपाध्यक्ष विष्णु पौडेलले भने कुनै सार्वजनिक प्रतिक्रिया दिएनन् ।

तर, बुधबार नै प्रहरीको नियन्त्रणमा रहेका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि उपाध्यक्ष बादललाई नै दिएपछि एमालेमा असन्तुष्टिसहित ध्रुवीकरणको तह थप बढ्न पुग्यो । जुन निर्णयबाट उपाध्यक्ष विष्णु पौडेल समेत चुर हुन पुगे ।

ओली इतर पक्ष थप ध्रुवीकृत

संसदीय दलको नेतामा चयन भएपछि बिहीबार प्रतिनिधिसभामा उपाध्यक्ष बादलले पार्टीको तर्फबाट धारणा राखे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा राम्रो नतिजा ल्याउनमा नेपाली सेना, बारबारा फाउन्डेसन, अल्गोरिदम लगायतको भूमिका रहेको भनेर भनाइ राखे । जुन भनाइले अध्यक्ष ओली हिरासतमा पुगेपछि संगठित हुन पुगेको इतर पक्षलाई थप मौका दियो ।

बादलको भनाइको स्वीकार्य नभएको भन्दै पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराई लगायतका धेरै नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन् ।

यसका साथै, केही दिनदेखि कुनै प्रतिक्रिया नदिएका पूर्व उपाध्यक्ष ईश्वर पोखरेलले पनि बादलको भनाइमा सामाजिक सञ्जालमार्फत नै विरोध जनाएका छन् ।

पार्टीको संगठनात्मक पक्षमा बलियो पकड रहेका भनिएका उपाध्यक्ष विष्णु पौडेलले शुक्रबार दिउँसो हुने सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने बताएका छन् । जसले एमालेमा ध्रुवीकरणलाई थप उचाइमा पुर्याउने अनुमान गरिएको छ ।

ओलीलाई हटाउने तयारी थियो इतरको

अध्यक्ष ओली इतर पक्षको उच्च स्रोतका अनुसार सो पक्षले केही दिन अघि नै अध्यक्ष ओलीलाई नेतृत्वबाट हटाउने तयारी गरेको थियो ।

पार्टीको सचिवालय बैठकमार्फत् बहुमत सदस्यले औपचारिक रूपमा नै नेतृत्वबाट हट्न आग्रह गर्ने सहमति गरिसकेको स्रोतले जनाएको छ । तर, सोही क्रममा ओलीको पिताको निधन भएको कारणले सो पक्ष स्वभाविक पछि हटेको थियो । 

यसका साथै, उक्त पक्षले ओली गिरफ्तार पर्नुभन्दा पहिला नै पार्टी नेतृत्वबाट हटाउन सके पार्टीलाई कम क्षति हुन्छ भन्ने छलफलमा पनि थियो । तर, ओलीका पिताको मृत्यु र लगत्तै गिरफ्तारी भएकाले परिस्थितिका कारण सो पक्ष पछि हटेको स्रोतले जनाएको छ ।

अहिले एमालेको उच्च तहमा अध्यक्ष ओली पुर्पक्षका लागि थुनामा जान सकिने अनुमान धेरैले गरेका छन् । उक्त अवस्था आएमा पार्टी नेतृत्वबाट उनी स्वभाविक रूपमा हट्ने र नयाँ नेतृत्व निर्माण हुने अवस्था आउने हुँदा त्यसको तयारीमा ओली इतर पक्ष लागेको छ ।

यससँगै अहिलेकै विन्दुमा पार्टीमा ओली पक्ष कमजोर रहेकाले पनि नेतृत्व र नेतृत्व समूह नै नयाँ ढंगले निर्माण गर्न सकिने उनीहरूको बुझाइ रहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १ : ५१ बजे

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी

हायसको ठक्करबाट एक जनाको मृत्यु

बाँके– राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट