ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा बिहीबार दर्ता गरेको छ।
तुल्सासहितविरुद्ध लगाइएको अभियोगपत्रमा हुण्डीमार्फत् रकम पठाउने–पठाउन लगाउने कार्य गरेर अवैध सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गरेको आरोप सरकारी वकिलको कार्यालयले लगाएको छ।
तुल्सासहित सपना वली, निलिका लामिछाने, प्रेमनाथ बस्याल, प्रयास पोखरेल र गंगा अधिकारी सुवेदीविरुद्ध पनि मुद्दा चलेको छ। तुल्सासँग मात्रै ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गरिएको छ।
प्रतिवादी तुल्सा भन्ने तुल्सी अधिकारी (तुल्सा कलेक्शन प्रालि) ले कुमार चिमोरियाबाट करिब ४ करोड ५० लाखभन्दा बढी रकम एक्सटर्सन (आपराधिक लाभ)मार्फत् असुलेको, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरेको आरोप अभियोगपत्रमा छ ।
उक्त अभियोग पत्रमा फरार रहेका तुल्सी अधिकारीसहित १० जनाको नाम उल्लेख गरिएको छ। तर अभियोग पत्रको ‘अन्य कुरा खुलाउनु पर्ने’ खण्डमा दुई व्यक्तिको नाम विशेष रूपमा उल्लेख छ– लक्ष्मी खतिवडा र अजय कुमार चौरासिया।
लक्ष्मी खतिवडाको संलग्नता
अभियोगमा नेपाली कांग्रेसकी पूर्वकेन्द्रीय सदस्यसमेत रहेकी खतिवडाको टिकटकर तुलसा अधिकारीसँग साठगाँठ रहेको देखिएको छ। त्यहीकारण खतिवडा पनि अनुसन्धानमा तानिएकी छन् ।
नेतृ खतिवडा अधिकारी निकट मात्रै नभएर दुईजनाबीच आर्थिक कारोबार गरेकै भेटिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले दायर गरेको अभियोगपत्रमा कांग्रेस नेतृ आरजु राणाकी भित्रिया उनको गतिविधि शंकास्पद रहेको उल्लेख छ।
तुल्सी अधिकारी फरार भएपछि पनि लक्ष्मी खतिवडाले निरन्तर र पटक–पटक फोन, टिकटक तथा अन्य सामाजिक सञ्जालमार्फत सम्पर्कमा रहेको पनि भेटिएको छ।
प्रतिवादी निलिका भन्ने नेलिका लामिछानेसँग पनि लक्ष्मीको निरन्तर सम्पर्क देखिएको छ। उनीहरू तीनै जना (तुल्सी, नेलिका र लक्ष्मी) सँगै विदेश भ्रमणमा गएको र नेपालमा पनि सँगै बसेको प्रमाण अभियोग पत्रमा उल्लेख छ।
कुमार चिमोरियाको कार्यालयमा नेलिका लामीछानेले ‘जवरजस्ती करणी मुद्दा हाल्न जाहेरी तयार छ’ भन्दै डर देखाएको अडियो रेकर्डमा नेलिकाले स्पष्ट सँग,‘म आएको कुरा लक्ष्मी खतिवडालाई नभन्नु’, भनेको पनि अनुसन्धान फाइलमा उल्लेख छ ।
पैसा ट्रान्सफरको चेन : लक्ष्मीबाट अजय चौरासियासम्म
अभियोग पत्रको सबैभन्दा महत्वपूर्ण खुलासा सन्तोष घिमिरेको घटना विवरण कागजमा छ। त्यसमा ‘निज लक्ष्मी खतिवडाले भने अनुसार आफ्नो लागि प्रतिवादी तुल्सी अधिकारीले अजय कुमार चौरासिया र कुनाल कुमार जैसवालको खातामा रु. १०/१० लाख रकम जम्मा गरेको…’
अर्थात्, लक्ष्मी खतिवडाको निर्देशनमा तुल्सी अधिकारीले अजय कुमार चौरासियाको खातामा १० लाख रुपैयाँ जम्मा गराएकी थिइन्। यो रकम लक्ष्मीको ‘आफ्नो लागि’ (उनको निर्देशन/लाभका लागि) जम्मा गरिएको अभियोग पत्रमा छ।
बैंक रेकर्डबाट थप प्रमाण
नेलिका लामिछानेको मुक्तिनाथ विकास बैंक खाताबाट लक्ष्मी खतिवडाको मोबाइल नम्बर ९८०११०११०४ र ९८५११०११०४ मा १२ पटक गरी ७,३००.२५ मोबाइल फोन रिचार्ज गरिएको देखिएको छ।
नेलिकाको प्राइम कमर्सियल बैंक खाताबाट लक्ष्मीको नाममा मोबाइल बैंकिङमार्फत् ९८७,१०४.६० भुक्तानी गरिएको छ।
यी सबै कारोबार लक्ष्मी खतिवडा, तुल्सी अधिकारी र नेलिका लामीछानेको सञ्जालभित्र भएको अभियोग पत्रले दाबी गरेको छ।
पैसा लिने अजयकुमार चौरासिया
अभियोग पत्रमा अजय कुमार चौरासिया प्रत्यक्ष प्रतिवादी होइनन्। तर लक्ष्मी खतिवडाको ‘आफ्नो लागि’ भनी तुल्सी अधिकारीबाट १० लाख रुपैयाँ जम्मा भएको उल्लेखले उनलाई यो सञ्जालको पैसा ट्रान्सफर लाइनमा जोडेको छ। अभियोग पत्रले यो रकमलाई सम्पत्ति शुद्धीकरण सञ्जालको हिस्सा मान्ने आधार दिएको छ।
मागदाबी
अभियोग पत्रमा लक्ष्मी खतिवडाको हकमा अनुसन्धान जारी रहेको र थप प्रमाण खुल्न आएमा मुलुकी फौजदारी संहिता २०७४ को दफा ३५ बमोजिम थप अभियोग दायर गर्ने माग गरिएको छ। अजय कुमार चौरासियाको नाम भने पैसा प्राप्तकर्ताको रूपमा मात्र उल्लेख छ।
यस प्रकरणमा कुमार चिमोरियाले २०८२ वैशाखमा जाहेरी दिएका थिए। उनको आरोप थियो-तुल्सी अधिकारीले २०७५ सालतिर शारीरिक सम्पर्कको ब्ल्याकमेल गरी पटक–पटक डर त्रास देखाएर ४ करोड ५० लाखभन्दा बढी नगद, पसल, गरगहना, स्कुटर, विदेश यात्रा खर्च, छोरीको स्कुल खर्च लगायत असुल गरेकी थिइन्।
तुल्सीले पसल खोल्न, डेकोरेसन गर्न, भारत–चीनबाट सामान ल्याउन र आफ्नो विलासी जीवनशैली चलाउन यी रकम प्रयोग गरेको जाहेरीमा उल्लेख छ।
अभियोग पत्रमा तुल्सी अधिकारीको नाममा रहेको तुल्सा कलेक्शन प्रालि, टिपुरी कलेक्शन (प्रयास पोखरेल नाममा तर वास्तविक धनी तुल्सी) लगायतका कम्पनी, बैंक खाता, जग्गा, लकरमा रहेका गरगहना (८४ लाख ६० हजार मूल्य बराबर) र बरामद सामान जफत गर्न माग गरिएको छ।













प्रतिक्रिया