सम्बन्धमा धोका र न्यायमा ढिलासुस्तीले बिकराल बन्दै मनोसामाजिक समस्या « Khabarhub

सम्बन्धमा धोका र न्यायमा ढिलासुस्तीले बिकराल बन्दै मनोसामाजिक समस्या

मनोसामाजिक संकटबारे मनोविद् जितेन्द्र राईसँगको कुराकानी


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का सचिव महेश बस्नेतमाथि कारबाहीको माग गर्दै लामो समयदेखि आन्दोलनमा रहेकी शोभा पाठकले सामाजिक सञ्जाल फेसबुकमा ’अन्तिम भिडियो’ भन्दै भावुक पोस्ट गर्दै सम्पर्कविहीन बनिन् ।

उनको पोस्टलगत्तै सक्रिय भएको जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई वनस्थली क्षेत्रबाट उद्धार गर्‍यो । मनोसामाजिक समस्याबाट विक्षिप्त देखिएकी पाठकलाई आवश्यक उपचार र परामर्शका लागि भन्दै प्रहरीले मनमोहन मेमोरियल अस्पताल पठायो ।

उच्च राजनीतिक नेतृत्व जोडिएका यस्ता घटना र त्यसले निम्त्याएका मानसिक आघातको उदाहरण यो पहिलो भने होइन । यसअघि एमाले नेता कर्ण मल्लमाथि बलात्कार तथा यौन शोषणको आरोप लगाउँदै कालिकोटकी २९ वर्षीया महिलाले लामो समय माइतीघर मण्डलामा अनसन र आन्दोलन गरिन् ।

त्यस्तै, एमालेकै अर्का नेता ऐन महरमाथि पनि बलात्कारको आरोप लगाउँदै अर्की एक महिलाले लामो समय संघर्ष गरिन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीले विभिन्न प्रलोभन देखाएर शारीरिक सम्बन्ध राखेको र आफू गर्भवती भएको थाहा पाएपछि भागेको एक नाइजेरियन महिलाले आरोप लगाइन् ।

शक्तिशाली राजनीतिक पहुँच भएका ती आरोपित संसद्‍मा गर्जने वा निर्धक्क आफ्नो जीवन जिउने अवस्थामा रहँदा, न्यायको ढोका ढक्ढक्याउने पीडितले भने झन् ठुलो मानसिक र सामाजिक पीडा भोग्नुपरिरहेको छ ।

लामो समयको प्रेम वा शारीरिक सम्बन्धमा रहँदासम्म सहज देखिए पनि, सम्बन्धमा असमझदारी वा धोका भएपछि उत्पन्न हुने विरक्तिले मानिसलाई चरम मानसिक विक्षिप्तताको अवस्थामा पुर्‍याउने गरेको छ-चाहे त्यो महिला होस् वा पुरुष ।

लामो समयको प्रेम वा शारीरिक सम्बन्धमा रहँदासम्म सहज देखिए पनि, सम्बन्धमा असमझदारी वा धोका भएपछि उत्पन्न हुने विरक्तिले मानिसलाई चरम मानसिक विक्षिप्तताको अवस्थामा पुर्‍याउने गरेको छ-चाहे त्यो महिला होस् वा पुरुष ।

एकातिर सम्बन्ध टुट्नु र धोका पाउनुको व्यक्तिगत पीडा, अर्कोतिर समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारका कारण कतिपयले त चरम निराशामा पुगेर आत्मघाती निर्णय (आत्महत्या) समेत गर्ने गरेका डरलाग्दा उदाहरण हाम्रै समाजमा छन् ।

न्याय नपाउँदा र सामाजिक तिरस्कार भोग्नुपर्दा पीडित डिप्रेसन र कडा मानसिक स्वास्थ्य समस्याको सिकार भइरहेका छन् । आखिर यस्तो अवस्था किन सिर्जना हुन्छ ? यस प्रकारको मानसिक विक्षिप्तता र आघातलाई के भनिन्छ ? यस्तो कठिन परिस्थितिबाट व्यक्तिलाई बाहिर निकाल्न कस्तो प्रकारको मनोपरामर्श वा उपचारको आवश्यकता पर्छ ? यसै विषयमा केन्द्रित रहेर टिपिओ नेपालका कार्यक्रम संयोजक तथा मनोविद् जितेन्द्र राईसँग गरिएको कुराकानी :

धेरै मानिस सम्बन्धजन्य विवादका कारण मुद्दै दर्ता गरेर केस लडिरहेका छन् भने कतिपयले न्याय नपाएको अवस्था छ । यसरी धोका पाउँदा वा अन्याय भएको महसुस हुँदा कतिपयले आत्महत्या समेत गरेका घटना पाइन्छन् । यस्ता घटनाले व्यक्तिको मानसिक स्वास्थ्यमा कस्तो खालको असर पर्छ ?

पछिल्लो समय न्यायका लागि अनसन बस्ने वा आन्दोलन गर्ने कुराहरू निरन्तर आइरहेका छन् । सामुदायिक स्तरमा यस्तो अवस्थाबाट गुज्रिरहेका धेरै व्यक्ति छन् । मानसिक स्वास्थ्यलाई प्रभाव पार्ने विभिन्न कारक तत्त्वहरू हुन्छन् । सामान्य भाषामा भन्दा यसमा जैविक, मनोवैज्ञानिक र सामाजिक कारण पर्दछन् । तपाईंले भन्नुभएका घटना हेर्दा सामाजिक कारण जस्ता देखिन्छन्, तर यस्ता घटनाको अन्य कारक तत्त्वहरूसँग पनि अन्तरसम्बन्ध हुन्छ । अर्थात्, व्यक्तिको मनोवैज्ञानिक अवस्था कस्तो छ, उसले घटनालाई कसरी लिन्छ र उसको पारिवारिक वा वंशानुगत जोखिम छ कि छैन भन्ने कुराले पनि असर पार्छ ।

हामी सामाजिक प्राणी हौँ र समाजमा विभिन्न मानिससँग हाम्रो अन्तरक्रिया भइरहेको हुन्छ । मानव भएकाले हाम्रो व्यक्तिगत मर्यादा, आत्मसम्मान र आत्मविश्वास अगाडि बढ्नका लागि आवश्यक हुन्छ । समाजको अन्तरक्रिया कसरी अगाडि बढ्छ र त्यसको परिणाम के आउँछ भन्ने कुराले व्यक्तिको मानसिक स्वास्थ्यमा असर पुर्‍याउँछ । कतिपय अवस्थामा मानिसले सहयोग पाएको महसुस गर्छ भने कतिपय अवस्थामा धोका वा अन्याय भएको र आफू अप्ठ्यारोमा परेको महसुस गर्छ ।

यसलाई समग्रमा हामी ’मनोसामाजिक समस्या’ भन्छौँ । यस्तो अवस्थामा पर्दा व्यक्तिले आफ्नो जीवनमा भएका सम्भावना हासिल गर्न, अगाडि बढ्न र उन्नति प्रगति गर्न बाधा उत्पन्न हुन्छ । यसले शारीरिक रूपमा समस्या देखिने, भावनात्मक रूपमा अप्ठ्यारो महसुस हुने र व्यवहारमा पनि परिवर्तन ल्याउँछ । व्यक्तिले दैनिक क्रियाकलाप निर्धक्कसँग गर्न सक्दैन र आपसी सम्बन्धमा पनि असर पुग्छ । यसको समाधानका लागि हामीले मनोसामाजिक सहयोगलाई प्रवर्द्धन गर्नुपर्छ ।

हाम्रो समाजमा कोही मानिस पीडामा हुँदा घर–परिवार र समाजबाट खासै साथ–सहयोग पाएको देखिँदैन । यस्तो अवस्थामा उनीहरूलाई परिवारको कस्तो खालको सहयोग हुनुपर्छ ?

सबैभन्दा पहिला, हामीले यस्तो समस्यालाई व्यक्तिगत कमजोरी वा दोषको रूपमा लिनु हुँदैन । यो व्यक्तिगत कमजोरी नभएर समाजकै अन्तरक्रियाबाट उत्पन्न भएको समस्या हो । परिवार पनि समाजकै एउटा एकाइ हो । जब समाज वा परिवारसँगको तालमेल मिल्दैन, तब मानिसले हौसला वा सान्त्वना पाउनुको साटो भावनात्मक, व्यावहारिक र शारीरिक रूपमा थप समस्या भोग्दै पछाडि धकेलिन्छ ।

यस्तो बेलामा सबैभन्दा पहिले सचेतना आवश्यक हुन्छ । समाजमा बस्दा सबैको अवस्था फरक हुनसक्छ । कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि धोका हुने वा सम्बन्धमा समस्या आउने हुनसक्छ ।

यस्तो परिस्थितिमा व्यक्तिको आफन्त, साथीभाइ र परिवारका सदस्यले उसमा कस्तो भावनात्मक असर परिरहेको छ र यसले कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने कुरा बुझ्नुपर्छ । सचेतना भएन भने हामी ’यो त उसकै दोष हो, कमजोरी हो वा उसले नजानेर यस्तो भएको हो’ भनी व्याख्या गर्न थाल्छौँ, जसले पीडितलाई झन् अप्ठ्यारो पार्छ ।

जीवनको कुनै न कुनै कालखण्डमा सोचे जस्तो मात्र हुँदैन, अप्ठ्यारा पनि आउँछन् । त्यस्तो बेला परिवारका सदस्यले कसरी बुझ्ने र कसरी ढाडस दिने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

यदि उनीहरूमाथि कुनै जघन्य अपराध, दुर्व्यवहार वा अन्याय भएको छ भने न्याय प्राप्तिका लागि राज्यका संयन्त्रहरूमा कसरी सहयोग गर्ने भन्ने कुरामा परिवार र साथीभाइ सजग हुनुपर्छ । “यो अप्ठ्यारो बेलामा म तिम्रो साथमा छु“ भन्ने भावनात्मक सहयोग मात्र पाइयो भने पनि मानिस आफ्नो समस्यासँग संघर्ष गर्न आफैँ काफी हुन्छ ।

तर जब आफ्नै वरिपरिका र जान्नेबुझ्ने भनिएका मानिसबाटै असहयोग हुन्छ, तब मानिसले आत्महत्याको प्रयास गर्ने वा आत्महत्या गर्ने जस्ता घटना हुन पुग्छन् । त्यसैले भावनात्मक, वैचारिक वा कानुनी रूपमा व्यक्तिको आवश्यकता अनुसार सहयोग गर्नुपर्छ । हाम्रै समाज र राज्यका संयन्त्रभित्र यस्ता सेवा छन्, जसलाई प्रभावकारी रूपमा परिचालन गरेर हामीले यस्ता घटनाहरू रोकथाम गर्न सक्छौँ ।

यस्ता समस्यालाई मनोसामाजिक समस्याको रूपमा हेर्नुपर्छ भन्नुभयो। यो मनोसामाजिक समस्या नै हो भनेर थाहा पाउने मुख्य–मुख्य लक्षण के–के हुन् ?

मनोसामाजिक समस्या हुनका लागि सामाजिक कारणहरू (जस्तैः हिंसा, दुर्व्यवहार, अपमान, तिरस्कार वा समाजमा घट्ने अन्य घटना) मुख्य कारकका रूपमा आउँछन् ।

यसले व्यक्तिलाई असर गरिरहेको छ भनेर बुझ्न शारीरिक रूपमा जिउ भारी हुने, निद्रा र खानपानमा गडबडी हुने, जाँगर नहुने र कुनै कडा श्रम नगर्दा पनि अत्यधिक थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् ।

त्यस्तै मनमा एकदमै नकारात्मक भावना आउने, दुःखी र निराश हुने, धेरै रिस उठ्ने तथा जीवन नै बेकार लाग्ने हुन्छ । व्यवहारमा मानिस आक्रामक हुने, झगडा गर्न खोज्ने वा एक्लै बस्ने गर्छ । उसले सामाजिक गतिविधिमा भाग लिन छाड्छ, गर्दै आएको काम प्रभावकारी रूपमा गर्न सक्दैन र परिवार तथा आफन्तसँगको सम्बन्ध पनि बिग्रिँदै जान्छ ।

सामान्यतया अप्ठ्यारो परिस्थितिमा यी लक्षण जो कोहीमा पनि देखिन सक्छन् । तर, जब यी लक्षण निरन्तर रूपमा कम्तीमा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार देखिन्छन् र व्यक्तिको दैनिक क्रियाकलाप वा उत्पादकत्वमा नकारात्मक असर पार्छन्, तब मात्र यसलाई समस्याको रूपमा लिनुपर्छ । यस्तो अवस्थामा विशेषज्ञकहाँ गएर काउन्सिलिङ (परामर्श) वा थेरापी गराउनुपर्छ ।

यो केवल पीडितको मात्र विषय होइन । परिवार, आफन्त र साथीभाइले आत्मविश्वास जगाउन उत्तिकै महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । अर्को मुख्य कुरा, कानुनी वा हिंसाजन्य मामिलामा राज्यका जिम्मेवार निकायहरूले प्रभावकारी रूपमा काम गर्नुपर्छ ।

एउटा नागरिकले न्यायका लागि महिनौँसम्म माइतीघर मण्डलमा अनसन बस्नुपर्ने वा आन्दोलन गर्नुपर्ने अवस्था आउनु हुँदैन । राज्यले आफ्नो जिम्मेवारी बुझेर न्याय निरूपणमा प्रभावकारी भूमिका खेल्नुपर्छ ।

न्याय पाउन ढिलासुस्ती हुँदा पीडितको अवस्था झन् जटिल बन्दै जान्छ र उसले राज्यबाटै न्याय नपाएको महसुस गर्दा झन् अप्ठ्यारो स्थिति सिर्जना हुन्छ । त्यसैले व्यक्तिगत, पारिवारिक र राज्यको स्तरबाट समयमै सेवा र सहयोग उपलब्ध गराउनु आवश्यक छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल हुने एउटा होड चलेको छ । मानिस जस्तोसुकै कन्टेन्ट बनाएर भए पनि भाइरल हुन खोज्छन् । यसलाई पनि मनोसामाजिक समस्यासँग कतै न कतै जोड्न मिल्छ ?

यसलाई सामान्यीकरण गरेर हेर्दा सामाजिक सञ्जालको जमानामा चर्चामा आउन वा देखिनका लागि मानिसले यस्तो गर्ने ट्रेन्ड देखिएको छ । तर यसको पछाडि व्यक्तिको स्वभावका साथै अन्य कारण पनि हुन सक्छन् ।

कतिपय अवस्थामा मानिसले अन्य ठाउँमा उपाय नपाएपछि वा आफ्नो कुरा सुन्नुपर्ने निकायले नसुनिदिएपछि बाध्य भएर सार्वजनिक रूपमा सामाजिक सञ्जालमा आफ्ना कुराहरू राख्ने गरेको पनि पाइएको छ । त्यसैले कुन सन्दर्भमा र के विषयमा कोही व्यक्ति सामाजिक सञ्जालमा आइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

यसको पछाडि परिवारभित्र आफ्नो कुरा विश्वासिलो ढंगले राख्ने वातावरण नभएर वा साथीभाइको सर्कलमा आफ्ना भावनाहरू सेयर गर्ने ठाउँ नपाएर पनि हुन सक्छ ।

कतिपय अवस्थामा समस्यामा परेर विकल्प नहुँदा मानिसहरू यहाँ आउँछन् । आम रूपमा अहिले आफ्नो कुरा तुरुन्तै व्यक्त गर्ने माध्यम सहज भएकाले यो अलि बढी देखिएको हो, तर यसका पछाडि विभिन्न गम्भीर कारणहरू हुन सक्छन् ।

सम्बन्धजन्य विवादमा प्रायः राजनीतिक रूपमा पहुँच भएका व्यक्ति जोडिएका हुन्छन्, जसका कारण पीडितले न्याय नपाइरहेको अवस्था छ । यस्तो अवस्थामा पीडित व्यक्तिलाई मानसिक रूपमा बलियो रहनका लागि तपाईंको सुझाव के छ ?

समस्यामा परेको व्यक्ति आफैँमा पीडामा हुन्छ र कहिलेकाहीँ ऊ आफैँले मात्र सबै समस्या समाधान गर्न सक्ने अवस्थामा हुँदैन । यस्तो बेलामा समुदाय र सहयोग प्रणाली सचेत हुनुपर्छ । यस्ता घटना जीवनमा जो कोहीलाई पनि पर्न सक्छन् भन्ने बुझेर पीडितको कुरा सुनिदिने र भावनात्मक सहयोग गर्ने वातावरण हामीले निर्माण गर्नुपर्छ ।

अर्को कुरा, तपाईंले भन्नुभए जस्तै जब घटनाको राजनीतिकरण हुन्छ, तब शक्ति सन्तुलनका आधारमा कसको पहुँच बढी छ भन्ने कुराले न्याय निरूपणलाई प्रभावित गर्छ । यस्तो अवस्था रोक्नका लागि राज्य संयन्त्रभित्रका निकाय बलियो र प्रभावकारी हुनुपर्छ । हामीले व्यक्तिलाई मात्र सुझाव देकर पुग्दैन, सिस्टम नै बलियो हुनुपर्छ । अन्यथा आज एकजना पीडित भएको ठाउँमा भोलि अर्को मानिस पीडित हुन्छ ।

नागरिकको मनोसामाजिक सुस्वास्थ्यका लागि राज्यको सबैभन्दा मुख्य भूमिका हुन्छ । राज्यले उपयुक्त वातावरणको निर्माण गर्ने, सेवाको ग्यारेन्टी गर्ने र आफ्ना निकायलाई प्रभावकारी बनाउने काम गर्नुपर्छ । परिवार र साथीभाइले भावनात्मक सहयोग दिनुपर्छ र पीडितको व्यक्तिगत कमजोरी खोज्ने गल्ती गर्नु हुँदैन । व्यक्तिगत रूपमा भन्नुपर्दा, आफू अप्ठ्यारोमा परेको बेला सम्बन्धित निकायमा आफ्ना कुराहरू राख्ने र समयमै सेवा वा परामर्श खोज्नुपर्छ ।

सहयोग खोज्नु कमजोरी होइन, बरु यो एउटा क्षमता हो । जीवनका सबै समस्या एक्लै समाधान गर्न सम्भव नहुने भएकाले समाजमा रहेका सहयोग प्रणालीहरूको मद्दत लिनुपर्छ । यस विषयमा जनचेतना फैलाउन सकियो भने धेरै मद्दत पुग्छ ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ९ : ५९ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी