सम्बन्धमा धोका र न्यायमा ढिलासुस्तीले बिकराल बन्दै मनोसामाजिक समस्या « Khabarhub

सम्बन्धमा धोका र न्यायमा ढिलासुस्तीले बिकराल बन्दै मनोसामाजिक समस्या

मनोसामाजिक संकटबारे मनोविद् जितेन्द्र राईसँगको कुराकानी


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का सचिव महेश बस्नेतमाथि कारबाहीको माग गर्दै लामो समयदेखि आन्दोलनमा रहेकी शोभा पाठकले सामाजिक सञ्जाल फेसबुकमा ’अन्तिम भिडियो’ भन्दै भावुक पोस्ट गर्दै सम्पर्कविहीन बनिन् ।

उनको पोस्टलगत्तै सक्रिय भएको जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई वनस्थली क्षेत्रबाट उद्धार गर्‍यो । मनोसामाजिक समस्याबाट विक्षिप्त देखिएकी पाठकलाई आवश्यक उपचार र परामर्शका लागि भन्दै प्रहरीले मनमोहन मेमोरियल अस्पताल पठायो ।

उच्च राजनीतिक नेतृत्व जोडिएका यस्ता घटना र त्यसले निम्त्याएका मानसिक आघातको उदाहरण यो पहिलो भने होइन । यसअघि एमाले नेता कर्ण मल्लमाथि बलात्कार तथा यौन शोषणको आरोप लगाउँदै कालिकोटकी २९ वर्षीया महिलाले लामो समय माइतीघर मण्डलामा अनसन र आन्दोलन गरिन् ।

त्यस्तै, एमालेकै अर्का नेता ऐन महरमाथि पनि बलात्कारको आरोप लगाउँदै अर्की एक महिलाले लामो समय संघर्ष गरिन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीले विभिन्न प्रलोभन देखाएर शारीरिक सम्बन्ध राखेको र आफू गर्भवती भएको थाहा पाएपछि भागेको एक नाइजेरियन महिलाले आरोप लगाइन् ।

शक्तिशाली राजनीतिक पहुँच भएका ती आरोपित संसद्‍मा गर्जने वा निर्धक्क आफ्नो जीवन जिउने अवस्थामा रहँदा, न्यायको ढोका ढक्ढक्याउने पीडितले भने झन् ठुलो मानसिक र सामाजिक पीडा भोग्नुपरिरहेको छ ।

लामो समयको प्रेम वा शारीरिक सम्बन्धमा रहँदासम्म सहज देखिए पनि, सम्बन्धमा असमझदारी वा धोका भएपछि उत्पन्न हुने विरक्तिले मानिसलाई चरम मानसिक विक्षिप्तताको अवस्थामा पुर्‍याउने गरेको छ-चाहे त्यो महिला होस् वा पुरुष ।

लामो समयको प्रेम वा शारीरिक सम्बन्धमा रहँदासम्म सहज देखिए पनि, सम्बन्धमा असमझदारी वा धोका भएपछि उत्पन्न हुने विरक्तिले मानिसलाई चरम मानसिक विक्षिप्तताको अवस्थामा पुर्‍याउने गरेको छ-चाहे त्यो महिला होस् वा पुरुष ।

एकातिर सम्बन्ध टुट्नु र धोका पाउनुको व्यक्तिगत पीडा, अर्कोतिर समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारका कारण कतिपयले त चरम निराशामा पुगेर आत्मघाती निर्णय (आत्महत्या) समेत गर्ने गरेका डरलाग्दा उदाहरण हाम्रै समाजमा छन् ।

न्याय नपाउँदा र सामाजिक तिरस्कार भोग्नुपर्दा पीडित डिप्रेसन र कडा मानसिक स्वास्थ्य समस्याको सिकार भइरहेका छन् । आखिर यस्तो अवस्था किन सिर्जना हुन्छ ? यस प्रकारको मानसिक विक्षिप्तता र आघातलाई के भनिन्छ ? यस्तो कठिन परिस्थितिबाट व्यक्तिलाई बाहिर निकाल्न कस्तो प्रकारको मनोपरामर्श वा उपचारको आवश्यकता पर्छ ? यसै विषयमा केन्द्रित रहेर टिपिओ नेपालका कार्यक्रम संयोजक तथा मनोविद् जितेन्द्र राईसँग गरिएको कुराकानी :

धेरै मानिस सम्बन्धजन्य विवादका कारण मुद्दै दर्ता गरेर केस लडिरहेका छन् भने कतिपयले न्याय नपाएको अवस्था छ । यसरी धोका पाउँदा वा अन्याय भएको महसुस हुँदा कतिपयले आत्महत्या समेत गरेका घटना पाइन्छन् । यस्ता घटनाले व्यक्तिको मानसिक स्वास्थ्यमा कस्तो खालको असर पर्छ ?

पछिल्लो समय न्यायका लागि अनसन बस्ने वा आन्दोलन गर्ने कुराहरू निरन्तर आइरहेका छन् । सामुदायिक स्तरमा यस्तो अवस्थाबाट गुज्रिरहेका धेरै व्यक्ति छन् । मानसिक स्वास्थ्यलाई प्रभाव पार्ने विभिन्न कारक तत्त्वहरू हुन्छन् । सामान्य भाषामा भन्दा यसमा जैविक, मनोवैज्ञानिक र सामाजिक कारण पर्दछन् । तपाईंले भन्नुभएका घटना हेर्दा सामाजिक कारण जस्ता देखिन्छन्, तर यस्ता घटनाको अन्य कारक तत्त्वहरूसँग पनि अन्तरसम्बन्ध हुन्छ । अर्थात्, व्यक्तिको मनोवैज्ञानिक अवस्था कस्तो छ, उसले घटनालाई कसरी लिन्छ र उसको पारिवारिक वा वंशानुगत जोखिम छ कि छैन भन्ने कुराले पनि असर पार्छ ।

हामी सामाजिक प्राणी हौँ र समाजमा विभिन्न मानिससँग हाम्रो अन्तरक्रिया भइरहेको हुन्छ । मानव भएकाले हाम्रो व्यक्तिगत मर्यादा, आत्मसम्मान र आत्मविश्वास अगाडि बढ्नका लागि आवश्यक हुन्छ । समाजको अन्तरक्रिया कसरी अगाडि बढ्छ र त्यसको परिणाम के आउँछ भन्ने कुराले व्यक्तिको मानसिक स्वास्थ्यमा असर पुर्‍याउँछ । कतिपय अवस्थामा मानिसले सहयोग पाएको महसुस गर्छ भने कतिपय अवस्थामा धोका वा अन्याय भएको र आफू अप्ठ्यारोमा परेको महसुस गर्छ ।

यसलाई समग्रमा हामी ’मनोसामाजिक समस्या’ भन्छौँ । यस्तो अवस्थामा पर्दा व्यक्तिले आफ्नो जीवनमा भएका सम्भावना हासिल गर्न, अगाडि बढ्न र उन्नति प्रगति गर्न बाधा उत्पन्न हुन्छ । यसले शारीरिक रूपमा समस्या देखिने, भावनात्मक रूपमा अप्ठ्यारो महसुस हुने र व्यवहारमा पनि परिवर्तन ल्याउँछ । व्यक्तिले दैनिक क्रियाकलाप निर्धक्कसँग गर्न सक्दैन र आपसी सम्बन्धमा पनि असर पुग्छ । यसको समाधानका लागि हामीले मनोसामाजिक सहयोगलाई प्रवर्द्धन गर्नुपर्छ ।

हाम्रो समाजमा कोही मानिस पीडामा हुँदा घर–परिवार र समाजबाट खासै साथ–सहयोग पाएको देखिँदैन । यस्तो अवस्थामा उनीहरूलाई परिवारको कस्तो खालको सहयोग हुनुपर्छ ?

सबैभन्दा पहिला, हामीले यस्तो समस्यालाई व्यक्तिगत कमजोरी वा दोषको रूपमा लिनु हुँदैन । यो व्यक्तिगत कमजोरी नभएर समाजकै अन्तरक्रियाबाट उत्पन्न भएको समस्या हो । परिवार पनि समाजकै एउटा एकाइ हो । जब समाज वा परिवारसँगको तालमेल मिल्दैन, तब मानिसले हौसला वा सान्त्वना पाउनुको साटो भावनात्मक, व्यावहारिक र शारीरिक रूपमा थप समस्या भोग्दै पछाडि धकेलिन्छ ।

यस्तो बेलामा सबैभन्दा पहिले सचेतना आवश्यक हुन्छ । समाजमा बस्दा सबैको अवस्था फरक हुनसक्छ । कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि धोका हुने वा सम्बन्धमा समस्या आउने हुनसक्छ ।

यस्तो परिस्थितिमा व्यक्तिको आफन्त, साथीभाइ र परिवारका सदस्यले उसमा कस्तो भावनात्मक असर परिरहेको छ र यसले कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने कुरा बुझ्नुपर्छ । सचेतना भएन भने हामी ’यो त उसकै दोष हो, कमजोरी हो वा उसले नजानेर यस्तो भएको हो’ भनी व्याख्या गर्न थाल्छौँ, जसले पीडितलाई झन् अप्ठ्यारो पार्छ ।

जीवनको कुनै न कुनै कालखण्डमा सोचे जस्तो मात्र हुँदैन, अप्ठ्यारा पनि आउँछन् । त्यस्तो बेला परिवारका सदस्यले कसरी बुझ्ने र कसरी ढाडस दिने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

यदि उनीहरूमाथि कुनै जघन्य अपराध, दुर्व्यवहार वा अन्याय भएको छ भने न्याय प्राप्तिका लागि राज्यका संयन्त्रहरूमा कसरी सहयोग गर्ने भन्ने कुरामा परिवार र साथीभाइ सजग हुनुपर्छ । “यो अप्ठ्यारो बेलामा म तिम्रो साथमा छु“ भन्ने भावनात्मक सहयोग मात्र पाइयो भने पनि मानिस आफ्नो समस्यासँग संघर्ष गर्न आफैँ काफी हुन्छ ।

तर जब आफ्नै वरिपरिका र जान्नेबुझ्ने भनिएका मानिसबाटै असहयोग हुन्छ, तब मानिसले आत्महत्याको प्रयास गर्ने वा आत्महत्या गर्ने जस्ता घटना हुन पुग्छन् । त्यसैले भावनात्मक, वैचारिक वा कानुनी रूपमा व्यक्तिको आवश्यकता अनुसार सहयोग गर्नुपर्छ । हाम्रै समाज र राज्यका संयन्त्रभित्र यस्ता सेवा छन्, जसलाई प्रभावकारी रूपमा परिचालन गरेर हामीले यस्ता घटनाहरू रोकथाम गर्न सक्छौँ ।

यस्ता समस्यालाई मनोसामाजिक समस्याको रूपमा हेर्नुपर्छ भन्नुभयो। यो मनोसामाजिक समस्या नै हो भनेर थाहा पाउने मुख्य–मुख्य लक्षण के–के हुन् ?

मनोसामाजिक समस्या हुनका लागि सामाजिक कारणहरू (जस्तैः हिंसा, दुर्व्यवहार, अपमान, तिरस्कार वा समाजमा घट्ने अन्य घटना) मुख्य कारकका रूपमा आउँछन् ।

यसले व्यक्तिलाई असर गरिरहेको छ भनेर बुझ्न शारीरिक रूपमा जिउ भारी हुने, निद्रा र खानपानमा गडबडी हुने, जाँगर नहुने र कुनै कडा श्रम नगर्दा पनि अत्यधिक थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् ।

त्यस्तै मनमा एकदमै नकारात्मक भावना आउने, दुःखी र निराश हुने, धेरै रिस उठ्ने तथा जीवन नै बेकार लाग्ने हुन्छ । व्यवहारमा मानिस आक्रामक हुने, झगडा गर्न खोज्ने वा एक्लै बस्ने गर्छ । उसले सामाजिक गतिविधिमा भाग लिन छाड्छ, गर्दै आएको काम प्रभावकारी रूपमा गर्न सक्दैन र परिवार तथा आफन्तसँगको सम्बन्ध पनि बिग्रिँदै जान्छ ।

सामान्यतया अप्ठ्यारो परिस्थितिमा यी लक्षण जो कोहीमा पनि देखिन सक्छन् । तर, जब यी लक्षण निरन्तर रूपमा कम्तीमा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार देखिन्छन् र व्यक्तिको दैनिक क्रियाकलाप वा उत्पादकत्वमा नकारात्मक असर पार्छन्, तब मात्र यसलाई समस्याको रूपमा लिनुपर्छ । यस्तो अवस्थामा विशेषज्ञकहाँ गएर काउन्सिलिङ (परामर्श) वा थेरापी गराउनुपर्छ ।

यो केवल पीडितको मात्र विषय होइन । परिवार, आफन्त र साथीभाइले आत्मविश्वास जगाउन उत्तिकै महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । अर्को मुख्य कुरा, कानुनी वा हिंसाजन्य मामिलामा राज्यका जिम्मेवार निकायहरूले प्रभावकारी रूपमा काम गर्नुपर्छ ।

एउटा नागरिकले न्यायका लागि महिनौँसम्म माइतीघर मण्डलमा अनसन बस्नुपर्ने वा आन्दोलन गर्नुपर्ने अवस्था आउनु हुँदैन । राज्यले आफ्नो जिम्मेवारी बुझेर न्याय निरूपणमा प्रभावकारी भूमिका खेल्नुपर्छ ।

न्याय पाउन ढिलासुस्ती हुँदा पीडितको अवस्था झन् जटिल बन्दै जान्छ र उसले राज्यबाटै न्याय नपाएको महसुस गर्दा झन् अप्ठ्यारो स्थिति सिर्जना हुन्छ । त्यसैले व्यक्तिगत, पारिवारिक र राज्यको स्तरबाट समयमै सेवा र सहयोग उपलब्ध गराउनु आवश्यक छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल हुने एउटा होड चलेको छ । मानिस जस्तोसुकै कन्टेन्ट बनाएर भए पनि भाइरल हुन खोज्छन् । यसलाई पनि मनोसामाजिक समस्यासँग कतै न कतै जोड्न मिल्छ ?

यसलाई सामान्यीकरण गरेर हेर्दा सामाजिक सञ्जालको जमानामा चर्चामा आउन वा देखिनका लागि मानिसले यस्तो गर्ने ट्रेन्ड देखिएको छ । तर यसको पछाडि व्यक्तिको स्वभावका साथै अन्य कारण पनि हुन सक्छन् ।

कतिपय अवस्थामा मानिसले अन्य ठाउँमा उपाय नपाएपछि वा आफ्नो कुरा सुन्नुपर्ने निकायले नसुनिदिएपछि बाध्य भएर सार्वजनिक रूपमा सामाजिक सञ्जालमा आफ्ना कुराहरू राख्ने गरेको पनि पाइएको छ । त्यसैले कुन सन्दर्भमा र के विषयमा कोही व्यक्ति सामाजिक सञ्जालमा आइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

यसको पछाडि परिवारभित्र आफ्नो कुरा विश्वासिलो ढंगले राख्ने वातावरण नभएर वा साथीभाइको सर्कलमा आफ्ना भावनाहरू सेयर गर्ने ठाउँ नपाएर पनि हुन सक्छ ।

कतिपय अवस्थामा समस्यामा परेर विकल्प नहुँदा मानिसहरू यहाँ आउँछन् । आम रूपमा अहिले आफ्नो कुरा तुरुन्तै व्यक्त गर्ने माध्यम सहज भएकाले यो अलि बढी देखिएको हो, तर यसका पछाडि विभिन्न गम्भीर कारणहरू हुन सक्छन् ।

सम्बन्धजन्य विवादमा प्रायः राजनीतिक रूपमा पहुँच भएका व्यक्ति जोडिएका हुन्छन्, जसका कारण पीडितले न्याय नपाइरहेको अवस्था छ । यस्तो अवस्थामा पीडित व्यक्तिलाई मानसिक रूपमा बलियो रहनका लागि तपाईंको सुझाव के छ ?

समस्यामा परेको व्यक्ति आफैँमा पीडामा हुन्छ र कहिलेकाहीँ ऊ आफैँले मात्र सबै समस्या समाधान गर्न सक्ने अवस्थामा हुँदैन । यस्तो बेलामा समुदाय र सहयोग प्रणाली सचेत हुनुपर्छ । यस्ता घटना जीवनमा जो कोहीलाई पनि पर्न सक्छन् भन्ने बुझेर पीडितको कुरा सुनिदिने र भावनात्मक सहयोग गर्ने वातावरण हामीले निर्माण गर्नुपर्छ ।

अर्को कुरा, तपाईंले भन्नुभए जस्तै जब घटनाको राजनीतिकरण हुन्छ, तब शक्ति सन्तुलनका आधारमा कसको पहुँच बढी छ भन्ने कुराले न्याय निरूपणलाई प्रभावित गर्छ । यस्तो अवस्था रोक्नका लागि राज्य संयन्त्रभित्रका निकाय बलियो र प्रभावकारी हुनुपर्छ । हामीले व्यक्तिलाई मात्र सुझाव देकर पुग्दैन, सिस्टम नै बलियो हुनुपर्छ । अन्यथा आज एकजना पीडित भएको ठाउँमा भोलि अर्को मानिस पीडित हुन्छ ।

नागरिकको मनोसामाजिक सुस्वास्थ्यका लागि राज्यको सबैभन्दा मुख्य भूमिका हुन्छ । राज्यले उपयुक्त वातावरणको निर्माण गर्ने, सेवाको ग्यारेन्टी गर्ने र आफ्ना निकायलाई प्रभावकारी बनाउने काम गर्नुपर्छ । परिवार र साथीभाइले भावनात्मक सहयोग दिनुपर्छ र पीडितको व्यक्तिगत कमजोरी खोज्ने गल्ती गर्नु हुँदैन । व्यक्तिगत रूपमा भन्नुपर्दा, आफू अप्ठ्यारोमा परेको बेला सम्बन्धित निकायमा आफ्ना कुराहरू राख्ने र समयमै सेवा वा परामर्श खोज्नुपर्छ ।

सहयोग खोज्नु कमजोरी होइन, बरु यो एउटा क्षमता हो । जीवनका सबै समस्या एक्लै समाधान गर्न सम्भव नहुने भएकाले समाजमा रहेका सहयोग प्रणालीहरूको मद्दत लिनुपर्छ । यस विषयमा जनचेतना फैलाउन सकियो भने धेरै मद्दत पुग्छ ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ९ : ५९ बजे

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

कास्की– पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी

एक्सप्रेस–टीको बालकुमारी सर्भिस सेन्टर १५ घण्टा सञ्चालनमा

काठमाडौं– एक्सप्रेस–टीले बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय

एमालेको दुईदिने राष्ट्रिय कार्यशाला आजदेखि हुँदै

काठमाडौँ– नेकपा एमालेको दुईदिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक

सम्बन्धमा धोका र न्यायमा ढिलासुस्तीले बिकराल बन्दै मनोसामाजिक समस्या

काठमाडौँ – नेकपा (एमाले) का सचिव महेश बस्नेतमाथि कारबाहीको माग

राष्ट्रियसभा बैठक बस्दै, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक