खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा « Khabarhub

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

स्थानीय सरकार बेखबर


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा युवतीलाई भारत लगेर अवैध रूपमा डिम्ब दान गराउने गिरोह सक्रिय रहेको तथ्य सार्वजनिक भएसँगै मानव बेचबिखनको नयाँ स्वरूपबारे चिन्ता बढेको छ ।

भारतीय अखबार दैनिक भास्करले कैलाली र कञ्चनपुरमा गरेको अनुसन्धान तथा नेपालका मानव अधिकार र मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाहरूको तथ्यांकले यस्तो गतिविधि भइरहेको संकेत गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले यो नयाँ प्रकृतिको मानव बेचबिखनलाई पुष्टि गरे पनि स्पष्ट कानुनको अभावमा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

विशेषगरी आर्थिक रूपमा कमजोर, सीमावर्ती क्षेत्रमा बसोबास गर्ने तथा रोजगारीको खोजीमा रहेका युवतीहरूलाई लक्षित बनाउने गरेको छ । उनीहरूलाई प्रत्येक एग दानबापत ३० हजार भारतीय रुपैयाँसम्म प्राप्त हुने, महिनामा ३० देखि ६० हजार भारतीय रुपैयाँ कमाउन सकिने जस्ता आश्वासन दिइन्छ । तर वास्तविकता फरक हुन्छ ।

दैनिक भास्करले सार्वजनिक गरेको एउटा घटनामा कैलालीको घोडाघोडी क्षेत्रका दुई किशोरीलाई नयाँ दिल्ली पुर्‍याइएको पाइएको थियो । त्यहाँ उनीहरूको डिम्ब निकालियो । तर अन्ततः उनीहरूले प्राप्त गरेको रकम जनही पाँच हजार भारतीय रुपैयाँ मात्रै थियो ।

यता, त्यही डिम्ब प्रयोग गरेर सञ्चालन हुने प्रजनन सेवाबाट दलाल र संस्थाहरूले लाखौँ रुपैयाँ कमाउने गरेको अनुसन्धानले देखाएको छ ।

मानव बेचबिखनको बदलिँदो स्वरूप

मानव बेचबिखन वा चेलीबेटी बेचबिखन भनेपछि यौन शोषण वा जबर्जस्ती श्रममा लगाउने भन्ने मात्रै हामीले बुझ्दै आएका थियौँ । अब यो नयाँ शैली पनि तस्करहरुले अपनाईरहेका पाइएको छ । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख वेदराज चौधरीका अनुसार अण्डदानको विषय मानव बेचबिखनसम्बन्धी कार्यक्रममा उठेको थियो ।

शान्ति पुनर्स्थापना गृहले कैलालीको घोडाघोडी क्षेत्रका युवतीहरूको उद्धार गरिएको जानकारी आयोगलाई दिएको थियो । उनका अनुसार राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनमा समेत उक्त घटना समेटिएको छ । तर पीडितको गोपनीयताको कारण विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

चौधरीले भने जोखिम र शोषणका संकेत स्पष्ट देखिए पनि यससम्बन्धी कानुनी व्यवस्था अस्पष्ट भएकाले कारबाहीको प्रक्रिया अगाडि बढाउन कठिनाइ भएको जनाएका छन् ।

स्थानिय तह अनभिज्ञ

मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना गृहका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका दुई युवतीलाई यस प्रकारको शोषणबाट उद्धार गरिएको थियो । आयोगले प्रकाशन गरेको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदनको पृष्ठ २५ मा पनि यो गम्भीर विषयलाई समेटिएको छ ।

तर, पीडितहरूको व्यक्तिगत गोपनीयता र पारिवारिक प्रतिष्ठाका कारण घटनाका धेरै विवरणहरू सार्वजनिक नगरिएकाले स्थानीय तह यस्ता घटनाबाट अनभिज्ञ रहने गरेको पाइएको छ । शान्ति पुनर्स्थापना गृह कैलालीकी कैलाश रानाले पिडित किशोरीको आग्रहमा उनको गोपनियताको ख्याल गर्दै स्थानीय तहसम्म नपुगेको बताइन् ।

उनका अनुसार उद्धार गरिएकी एक युवतीको विषयमा मनोपरामर्शपश्चात् सरकारी वकिल कार्यालयमा मुद्दा दर्ताका लागि समन्वय गरिएको थियो । तर, सरकारी वकिल कार्यालयले यस प्रकारको अण्ड दान वा तस्करीको कसुरलाई समेट्ने स्पष्ट र विशिष्ट कानुन नभएको उल्लेख गर्‍यो ।

यो कार्य स्वास्थ्य र अधिकारका हिसाबले अत्यधिक जोखिमपूर्ण भए तापनि कानुनी अस्पष्टताकै कारण सो घटनामा मुद्दा दर्ता र कारबाहीको प्रक्रिया अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

तथ्याङ्क र पहिचानको चुनौती

सीमा नाकामा हुने निगरानीका क्रममा यो अपराध सजिलै ट्र्याक हुन नसक्ने अधिकारीहरू बताउँछन् । शान्ति पुनर्स्थापना गृह, कैलालीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा यसरी अण्ड संकलनका लागि भारत लैजान लागिएकी एक युवतीको फेला पारिएको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा पनि एक जना पीडित फेला परेकी थिइन् भने चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको डाटामा भने यस्ता केसहरू फेला परेका छैनन् । रानाका अनुसार दलालहरूले प्रत्यक्ष रूपमा अण्ड दानको कुरा गर्दैनन् ।

सुरुमा रोजगारी, घुमघाम, उपचार वा अन्य अवसरको बहाना बनाइन्छ । लामो समयसम्म सम्बन्ध र विश्वास निर्माण गरेपछि मात्रै वास्तविक उद्देश्य खुल्ने गर्छ । ‘कसैले म एग दान गर्न जाँदैछु भनेर सुरुमै भन्दैन । धेरै विश्वास भएपछि मात्रै यस्ता कुरा थाहा हुन्छन्,’ रानाले भनिन् ।

उनका अनुसार खुला सीमा, गरिबी, बेरोजगारी र सामाजिक सञ्जालको बढ्दो पहुँचले यस्ता सञ्जाललाई अझ सहज बनाएको छ । सीमा नाकामा धेरै गहिरो र विश्वासिलो ढङ्गले मनोविमर्श (काउन्सिलिङ) गरेपछि मात्र यस्ता रहस्यहरू खुल्ने गरेका उनले बताइन् ।

हाल उद्धार गरिएका युवतीहरू करिब डेढ वर्षदेखि आफ्नै घरमा सुरक्षित रूपमा बसिरहेका छन् । पीडित र उनीहरूका अभिभावकले ‘जे हुनु भइहाल्यो, अब समाजमा कुरा नफैलियोस्’ भन्दै घटनालाई अगाडि बढाउन नचाहँदा पनि अनुसन्धानमा थप जटिलता थपिने गरेको उनले बताइन् ।

मानव तस्करीका लागि गौरीफन्टा–पलिया रुट तस्करका लागि सहज रहेको पनि जनाइएको छ । भारतको दुधुवा राष्ट्रिय निकुञ्ज क्षेत्रको करिब ३० किलोमिटरसम्म सञ्चार नेटवर्कले काम नगर्ने गरेका कारण तस्करका लागि यो रुट सहज रहेको बताइएको हो ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक) की जिल्ला संयोजक गीता चौधरीले यो नाका अरू नाकाको तुलनामा सहज रहेकाले पूर्वतिरका महिलालाई पनि यही नाकाबाट भारततर्फ लगिने गरेको उल्लेख गरिन् । शान्ति पुनर्स्थापना गृहले विभिन्न नाकाबाट भारत गइरहेको अवस्थाबाट एक वर्षको अवधिमा ४२० महिला तथा बालबालिकालाई फर्काएको छ  ।

के हो डिम्ब दान प्रक्रिया ?

प्राकृतिक रूपमा महिनावारी हुँदा १/२ वटा अण्डाहरू निस्किन्छ । पीडित युवतीलाई महिनावारी हुनेबित्तिकै औषधि दिने वा सुई लगाएर एकैचोटी धेरै अण्डा निकालिन्छ ।

सामान्यतया आईभीएफ प्रविधिमा पनि त्यसै गरिँदै आएको चिकित्सकहरु बताउँछन् । तर आईभीएफ गर्दा जसको अण्ड निकालिएको हो उसैका लागि प्रयोग गरिन्छ भने यस्ता घटनामा एउटाको अङ्गबाट अण्ड निकालेर अर्को मान्छेकोमा राख्ने गरिन्छ ।

सुई लगाउने, औषधी दिने र अण्डा निकाल्दा अण्डाको संख्या घट्ने जस्ता समस्या देखिने चिकित्सक बताउँछन् । त्यसमा पनि औजारहरूको प्रयोग गरी शारीरिक सम्पर्कमा नआइसकेका भर्खरका किशोरीहरूको योनीबाट अण्डाहरू निकाल्दा यौनाङ्ग च्यातिने, रक्तस्राव हुने जोखिम हुन्छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ८ : ०५ बजे

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड

गोरु पाल्ने किसानलाई प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड