काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा युवतीलाई भारत लगेर अवैध रूपमा डिम्ब दान गराउने गिरोह सक्रिय रहेको तथ्य सार्वजनिक भएसँगै मानव बेचबिखनको नयाँ स्वरूपबारे चिन्ता बढेको छ ।
भारतीय अखबार दैनिक भास्करले कैलाली र कञ्चनपुरमा गरेको अनुसन्धान तथा नेपालका मानव अधिकार र मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाहरूको तथ्यांकले यस्तो गतिविधि भइरहेको संकेत गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले यो नयाँ प्रकृतिको मानव बेचबिखनलाई पुष्टि गरे पनि स्पष्ट कानुनको अभावमा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।
विशेषगरी आर्थिक रूपमा कमजोर, सीमावर्ती क्षेत्रमा बसोबास गर्ने तथा रोजगारीको खोजीमा रहेका युवतीहरूलाई लक्षित बनाउने गरेको छ । उनीहरूलाई प्रत्येक एग दानबापत ३० हजार भारतीय रुपैयाँसम्म प्राप्त हुने, महिनामा ३० देखि ६० हजार भारतीय रुपैयाँ कमाउन सकिने जस्ता आश्वासन दिइन्छ । तर वास्तविकता फरक हुन्छ ।
दैनिक भास्करले सार्वजनिक गरेको एउटा घटनामा कैलालीको घोडाघोडी क्षेत्रका दुई किशोरीलाई नयाँ दिल्ली पुर्याइएको पाइएको थियो । त्यहाँ उनीहरूको डिम्ब निकालियो । तर अन्ततः उनीहरूले प्राप्त गरेको रकम जनही पाँच हजार भारतीय रुपैयाँ मात्रै थियो ।
यता, त्यही डिम्ब प्रयोग गरेर सञ्चालन हुने प्रजनन सेवाबाट दलाल र संस्थाहरूले लाखौँ रुपैयाँ कमाउने गरेको अनुसन्धानले देखाएको छ ।
मानव बेचबिखनको बदलिँदो स्वरूप
मानव बेचबिखन वा चेलीबेटी बेचबिखन भनेपछि यौन शोषण वा जबर्जस्ती श्रममा लगाउने भन्ने मात्रै हामीले बुझ्दै आएका थियौँ । अब यो नयाँ शैली पनि तस्करहरुले अपनाईरहेका पाइएको छ । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख वेदराज चौधरीका अनुसार अण्डदानको विषय मानव बेचबिखनसम्बन्धी कार्यक्रममा उठेको थियो ।
शान्ति पुनर्स्थापना गृहले कैलालीको घोडाघोडी क्षेत्रका युवतीहरूको उद्धार गरिएको जानकारी आयोगलाई दिएको थियो । उनका अनुसार राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनमा समेत उक्त घटना समेटिएको छ । तर पीडितको गोपनीयताको कारण विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
चौधरीले भने जोखिम र शोषणका संकेत स्पष्ट देखिए पनि यससम्बन्धी कानुनी व्यवस्था अस्पष्ट भएकाले कारबाहीको प्रक्रिया अगाडि बढाउन कठिनाइ भएको जनाएका छन् ।
स्थानिय तह अनभिज्ञ
मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना गृहका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका दुई युवतीलाई यस प्रकारको शोषणबाट उद्धार गरिएको थियो । आयोगले प्रकाशन गरेको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदनको पृष्ठ २५ मा पनि यो गम्भीर विषयलाई समेटिएको छ ।
तर, पीडितहरूको व्यक्तिगत गोपनीयता र पारिवारिक प्रतिष्ठाका कारण घटनाका धेरै विवरणहरू सार्वजनिक नगरिएकाले स्थानीय तह यस्ता घटनाबाट अनभिज्ञ रहने गरेको पाइएको छ । शान्ति पुनर्स्थापना गृह कैलालीकी कैलाश रानाले पिडित किशोरीको आग्रहमा उनको गोपनियताको ख्याल गर्दै स्थानीय तहसम्म नपुगेको बताइन् ।
उनका अनुसार उद्धार गरिएकी एक युवतीको विषयमा मनोपरामर्शपश्चात् सरकारी वकिल कार्यालयमा मुद्दा दर्ताका लागि समन्वय गरिएको थियो । तर, सरकारी वकिल कार्यालयले यस प्रकारको अण्ड दान वा तस्करीको कसुरलाई समेट्ने स्पष्ट र विशिष्ट कानुन नभएको उल्लेख गर्यो ।
यो कार्य स्वास्थ्य र अधिकारका हिसाबले अत्यधिक जोखिमपूर्ण भए तापनि कानुनी अस्पष्टताकै कारण सो घटनामा मुद्दा दर्ता र कारबाहीको प्रक्रिया अगाडि बढ्न नसकेको उनको भनाइ छ ।
तथ्याङ्क र पहिचानको चुनौती
सीमा नाकामा हुने निगरानीका क्रममा यो अपराध सजिलै ट्र्याक हुन नसक्ने अधिकारीहरू बताउँछन् । शान्ति पुनर्स्थापना गृह, कैलालीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा यसरी अण्ड संकलनका लागि भारत लैजान लागिएकी एक युवतीको फेला पारिएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा पनि एक जना पीडित फेला परेकी थिइन् भने चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको डाटामा भने यस्ता केसहरू फेला परेका छैनन् । रानाका अनुसार दलालहरूले प्रत्यक्ष रूपमा अण्ड दानको कुरा गर्दैनन् ।
सुरुमा रोजगारी, घुमघाम, उपचार वा अन्य अवसरको बहाना बनाइन्छ । लामो समयसम्म सम्बन्ध र विश्वास निर्माण गरेपछि मात्रै वास्तविक उद्देश्य खुल्ने गर्छ । ‘कसैले म एग दान गर्न जाँदैछु भनेर सुरुमै भन्दैन । धेरै विश्वास भएपछि मात्रै यस्ता कुरा थाहा हुन्छन्,’ रानाले भनिन् ।
उनका अनुसार खुला सीमा, गरिबी, बेरोजगारी र सामाजिक सञ्जालको बढ्दो पहुँचले यस्ता सञ्जाललाई अझ सहज बनाएको छ । सीमा नाकामा धेरै गहिरो र विश्वासिलो ढङ्गले मनोविमर्श (काउन्सिलिङ) गरेपछि मात्र यस्ता रहस्यहरू खुल्ने गरेका उनले बताइन् ।
हाल उद्धार गरिएका युवतीहरू करिब डेढ वर्षदेखि आफ्नै घरमा सुरक्षित रूपमा बसिरहेका छन् । पीडित र उनीहरूका अभिभावकले ‘जे हुनु भइहाल्यो, अब समाजमा कुरा नफैलियोस्’ भन्दै घटनालाई अगाडि बढाउन नचाहँदा पनि अनुसन्धानमा थप जटिलता थपिने गरेको उनले बताइन् ।
मानव तस्करीका लागि गौरीफन्टा–पलिया रुट तस्करका लागि सहज रहेको पनि जनाइएको छ । भारतको दुधुवा राष्ट्रिय निकुञ्ज क्षेत्रको करिब ३० किलोमिटरसम्म सञ्चार नेटवर्कले काम नगर्ने गरेका कारण तस्करका लागि यो रुट सहज रहेको बताइएको हो ।
महिला पुनर्स्थापना केन्द्र (ओरेक) की जिल्ला संयोजक गीता चौधरीले यो नाका अरू नाकाको तुलनामा सहज रहेकाले पूर्वतिरका महिलालाई पनि यही नाकाबाट भारततर्फ लगिने गरेको उल्लेख गरिन् । शान्ति पुनर्स्थापना गृहले विभिन्न नाकाबाट भारत गइरहेको अवस्थाबाट एक वर्षको अवधिमा ४२० महिला तथा बालबालिकालाई फर्काएको छ ।
के हो डिम्ब दान प्रक्रिया ?
प्राकृतिक रूपमा महिनावारी हुँदा १/२ वटा अण्डाहरू निस्किन्छ । पीडित युवतीलाई महिनावारी हुनेबित्तिकै औषधि दिने वा सुई लगाएर एकैचोटी धेरै अण्डा निकालिन्छ ।
सामान्यतया आईभीएफ प्रविधिमा पनि त्यसै गरिँदै आएको चिकित्सकहरु बताउँछन् । तर आईभीएफ गर्दा जसको अण्ड निकालिएको हो उसैका लागि प्रयोग गरिन्छ भने यस्ता घटनामा एउटाको अङ्गबाट अण्ड निकालेर अर्को मान्छेकोमा राख्ने गरिन्छ ।
सुई लगाउने, औषधी दिने र अण्डा निकाल्दा अण्डाको संख्या घट्ने जस्ता समस्या देखिने चिकित्सक बताउँछन् । त्यसमा पनि औजारहरूको प्रयोग गरी शारीरिक सम्पर्कमा नआइसकेका भर्खरका किशोरीहरूको योनीबाट अण्डाहरू निकाल्दा यौनाङ्ग च्यातिने, रक्तस्राव हुने जोखिम हुन्छ ।












प्रतिक्रिया