सप्तरी– सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उनका चार सन्तान बिचल्लीमा परेका छन् ।
आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्यु भएको र १० दिनदेखि बुबा पनि सम्पर्कविहीन भएपछि हामी दुई दाजुभाइ र दुई दिदीबहिनी बिचल्लीमा परेको उनको कान्छी छोरी नौ वर्षीया विभा सदाले बताइन् ।
उनले भनिन्, ‘दुई महिनाअघि बुबा त्रिशूली जलविद्युत् पावर हाउसमा कामदारका रूपमा काम गर्दै आउनुभएको थियो । आमा बिरामी हुँदा उपचार गर्ने क्रममा ऋण लागेपछि रोजगारीका लागि त्यहाँ जानुभएको थियो ।’
‘हामी कसको साहारामा बस्ने ?’ विभा सदाले भनिन् । अठार र २० वर्षका दुई दिदीहरूको विवाह भइसकेको छ । तेह्र वर्षीय छोरा सुभाष सदा आफन्त सहयोगमा बाबुको खोजीमा रसुवा गएका छन् ।
त्रिशूली थ्रिवि पावर हाउसमा कामदारका रूपमा कार्यरत बेचन सदासँगै सोही ठाउँका सुुरेन्द्र सदा र शिवकुमार सदा रसुवाको भोटेकोशीमा आएको बाढीपछि १० दिनदेखि सम्पर्कविहीन छन् ।
शिवकुमार सदाको चार जना छोराछोरी छन् । उनको बुबाआमा बूढाबूढी छन् । पत्नी पनि बिरामी भएकाले घरको एक्लो साहार सम्पर्कविहीन भए ।
सात जना परिवारको आहारासमेत खोसिएको उनकी पत्नी गुडिया सदाले बताए । सुरेन्द्र सदाको पनि तीन छोराछोरी छन् । कमाउने साहारा सम्पर्कविहीन भएपछि घरमा चुहो बल्न छोडेको छ । पत्नी द्रोपतीदेवी सदाले बताइन् ।
सोही ठाउँका सोही पावर हाउसमा कार्यरत अरूण सदा बाढी आउनुभन्दा एक हप्ता अगाडि घर आएका थिए । पुनः त्यहीँ जाने तर्खरमा थिए । अचानक बाढी आएको सुनेपछि जान रोकिएका थिए ।
यस सदा (मुसहर) बस्तीका तीन जना युवा सम्पर्कविहीन भएसँगै उक्त टोल शोकमा डुबेको छ ।












प्रतिक्रिया