भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान « Khabarhub

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धारको कार्य तीव्र रूपमा भइरहेको छ ।

त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले हेलिकप्टरमार्फत खोज, राहत तथा उद्धारको काम गरिरहेका छन् ।

नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीका अनुसार बाढी आएको १०औँ दिनसम्म ३ हजार २ सयभन्दा बढी नेपाली नागरिक तथा २ सय ७० भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको छ ।

प्रभावित क्षेत्रका सातवटै टनेलमा नेपाली सेनाको टोली परिचालन गरिएको उनले जानकारी दिए । त्रिशूली–३ ‘ए’ को टनेलभित्र १ सय ७० मिटरसम्म पुगेर दुई जना नेपाली नागरिकलाई जीवितै उद्धार गर्न सफल भएको र अन्यको खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ को टनेलभित्र ३० मिटरसम्म पुगेर माटो तथा लेदो हटाउने काम भइरहेको छ । रसुवागढीको टनेलमा २ सय ७५ मिटरसम्म प्रवेश गरेर खोजी तथा उद्धार कार्य अघि बढाइएको महासेनानी रेश्मीले जानकारी दिए।

उनका अनुसार विदुरको इन्द्रेणीघाटमा तुइन सञ्चालनमा ल्याइसकिएको छ भने देवीघाटमा अर्को तुइन निर्माण भइरहेको छ । साथै, बेलिब्रिज निर्माणको कामसमेत सुरु गरिएको छ ।

हवाई उद्धारका अतिरिक्त रसुवा र धुन्चेका विभिन्न १९ स्थानमा जमिनमै फौज परिचालन गरी खोजी, उद्धार तथा राहत वितरणको काम निरन्तर भइरहेको सेनाले जनाएको छ ।

त्यस्तै, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीसँग छलफल गरी आवश्यकता पहिचान भएका स्थानमा अत्यावश्यक सामग्री ढुवानी सुरु गरिएको बताए।

नुवाकोटलाई केन्द्र बनाएर रसुवालगायत प्रभावित क्षेत्रमा खाद्यान्नसँगै लत्ताकपडा, औषधि तथा अन्य आवश्यक उपकरण वितरण गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

रेग्मीका अनुसार राहत सामग्री ढुवानी तथा वितरणका लागि दुईवटा हेलिकप्टर ‘डेडिकेटेड’ परिचालन गरिएको छ । शव व्यवस्थापन तथा सम्बन्धित कार्यका लागि थप दुईवटा हेलिकप्टरको व्यवस्था गरिएको उनले बताए।

उनले बाढीका कारण अवरुद्ध सडक खुलाउन सडक विभागसँग समन्वय गरी साना तथा ठूला सवारीसाधन सञ्चालनयोग्य बनाउन तीव्र गतिमा काम भइरहेको बताए ।

बेत्रावतीलगायत आवश्यक स्थानमा बेलिब्रिज राख्ने काम अघि बढाइएको उनको भनाइ छ । विपद् प्रतिकार्यमा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो क्षमता र स्रोतअनुसार समन्वय गरेर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ४ : २१ बजे

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको