काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान र भविष्यबारे गम्भीर छलफल तथा संवाद गर्ने थलो भएको बताएकी छन् ।
पार्टीको आजदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उपसभापति भुसालले लोकतन्त्रका लागि लामो समय सङ्घर्ष गरेको कांग्रेसले आफ्नो वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यको बाटो तय गर्नुपर्ने बताउनुभएको हो ।
‘विसं २००४ देखि लोकतन्त्रका लागि सङ्घर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलोको रूपमा यो महाधिवेशन हुन गइरहेको छ’, उनले भनिन् ।
उपसभापति भुसालले महाधिवेशन केवल पद व्यवस्थापन र नेतृत्व चयनका लागि मात्रै नभएको बताइन् । कांग्रेसका नेता–कार्यकर्ता मात्रै नभई लोकतन्त्र र कांग्रेसमा विश्वास गर्ने सबैले पार्टीको अवस्थाबारे आत्मसमीक्षा गर्ने अवसरका रूपमा महाधिवेशनलाई लिनुपर्ने उनको भनाइ थियो ।
‘यो महाधिवेशन पद व्यवस्थापन गर्नका लागि मात्र भइराखेको छैन, यो महाधिवेशन कांग्रेसका नेता र कार्यकर्ता मात्रै होइन, लोकतन्त्रमा र कांग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलो बन्नुपर्छ’, उपसभापति भुसालले भनिन् ।
कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले १५औँ महाधिवेशनले पार्टीलाई नयाँ गति प्रदान गर्ने बताए । उक्त महाधिवेशनको कांग्रेस सभापति गगनकुमार थापाले उद्घाटन गरेका थिए ।














प्रतिक्रिया