काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने बताका छन् ।
आइतबार काठमाडौको खुल्लामञ्चमा कांग्रेसको महाधिवेशनलाई शुभकामना दिँदै अध्यक्ष लिङ्देनले विगत ६ महिनाको घटनाक्रमले मान्छे फेरेर मात्र समस्याको समाधान नहुने देखिएको भन्दै वर्तमान व्यवस्था र संविधानमा समेत त्रुटिहरू रहेकाले ती कमजोरीहरूलाई सुधारेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
उनले संविधान गीता, बाइबल वा कुरान जस्तो चलाउनै नहुने अपरिवर्तनीय दस्ताबेज नभएकाले यसमा देखिएका त्रुटिहरू सच्याउनुपर्ने धारणा राखे । अध्यक्ष लिङ्देनले देश बिग्रँदा कुनै एउटा दल वा सत्तामा बस्नेहरूको मात्र नभई सिङ्गो देश र सबै नागरिकको क्षति हुने चेतावनी दिए ।
राजाले राजनीतिक दलहरूलाई, दलहरूले राजालाई, र दलहरूले एक–अर्का वा दलभित्रका अन्य गुटहरूलाई गर्ने निषेधको राजनीतिले देशलाई सङ्कटको मुखमा पुराएको भन्दै उनले अब निषेधको राजनीति छाडेर नयाँ समझदारी र सहकार्यको बाटो रोज्नुपर्नेमा जोड दिए ।
उनले देशलाई निकास दिनका लागि राजा, राजनीतिक दलहरू तथा नवयुवा पुस्ता सबैलाई एकै ठाउँमा राखेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने जिकिर गरे । यस्तो सहमतिले कसैलाई नहराउने र सिङ्गो देशले जित्ने वातावरण बन्ने उनको भनाइ छ ।














प्रतिक्रिया