बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन « Khabarhub

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका हुन् । 

राप्ती उपत्यका (देउखुरी) मा आज भएको आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रदेशको कूल बजेटको करिब १५ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको उनले जानकारी दिए । 

‘स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन दिएका छैनौँ । सङघीय सशर्तको बजेट कार्यान्वयनमा विशेष ध्यान दिन जरुरी छ’, मुख्यमन्त्री आचार्यले भने, ‘गत वर्ष सङ्घीय सशर्तको बजेट फिर्ता भएको देखियो । सङ्घबाट आएको बजेट खर्च गर्न सकेनौँ भने उतै फर्किएर जाने हो ।’

सङ्घबाट प्राप्त हुने बजेट क्रमशः घट्दै गइरहेको अवस्थामा उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने मुख्यमन्त्री आचार्यले बताए । प्रदेश र स्थानीय तहबीच समन्वय गरेर स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए  ।

मुख्यमन्त्री आचार्यले कुपोषण न्यूनीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्नेसमेत बताए । स्थानीय तहसँग समन्वय गरी कुपोषण बढी देखिएका तराईका दक्षिणी क्षेत्रमा कार्यक्रम केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । पोषण सुधारका लागि स्वास्थ्य सेवासँगै नागरिकको चेतनास्तर अभिवृद्धिमा ध्यान दिनुपर्ने उनले बताए ।

विद्यालय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले विद्यालय तहबाटै स्वस्थ जीवनशैली र पोषणसम्बन्धी चेतना विकास गर्न आवश्यक रहेको बताए । स्वास्थ्यका विभिन्न सूचकमा सुधारका संकेत देखिएको भए पनि खोपको सूचकमा थप सुधार आवश्यक रहेको उनले बताए ।

प्रदेश मातहतका अस्पतालको व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिँदै मुख्यमन्त्री आचार्यले अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्नुपर्ने बताए । अस्पताललाई क्रमशः आत्मनिर्भर बनाउने गरी विशेष योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । 

निजी तहबाट चलेका अस्पताल नाफा कमाउँदै जाने तर सरकारी अस्पताल घाटामा रहने अवस्थाको अन्त्य गर्न चुहावट नियन्त्रणका लागि विशेष योजना बनाउनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए । 

‘समीक्षा गर्दा हाम्रा कमी कमजोरी कहाँ छन् भनेर पत्ता लगाउनुपर्छ । कमजोरी समाधान गर्ने योजना बनाउनुपर्छ’, मुख्यमन्त्री आचार्यले भने । स्वास्थ्य क्षेत्रमा निराशाजनक अवस्था नरहेको उल्लेख गर्दै उनले उपलब्धिलाई संस्थागत गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउनुपर्ने बताए ।

प्रदेश स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले स्वास्थ्य क्षेत्र प्रदेशका करिब ५२ लाख नागरिकसँग प्रत्यक्ष जोडिएको विषय भएकाले संवेदनशील भएर काम गर्नुपर्ने बताए । 

स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको प्राथमिकता निर्धारण गरी समाधानको स्पष्ट योजना बनाउनुपर्ने उनको भनाइ छ । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने उनले बताए ।

स्वास्थ्य सचिव विकास देवकोटाले रुपन्देहीमा ठूलो अस्पताल निर्माण भइरहेको जानकारी दिँदै प्रदेशमा स्वास्थ्य सेवाको क्षेत्रमा क्रमिक सुधार भइरहेको बताए । स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्रलाल अर्यालले प्रदेशका प्रमुख स्वास्थ्य सूचक र चुनौतीबारे प्रस्तुतीकरण गरे । 

उनले मातृ मृत्युदरमा सुधार आएको जानकारी दिँदै राष्ट्रिय खोप कार्यक्रमको सूचक भने लक्ष्यअनुसार अघि बढ्न नसकेको बताए । खोपको सूचक घट्नुका कारण पहिचान गरी सुधारका उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । 

रुपन्देही, नवलपरासी र पाल्पामा होम डेलिभरी शून्यमा झारिएको भए पनि कपिलवस्तुमा अझै घरमै सुत्केरी हुने अवस्था रहेको उनले बताए । रासस
 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ०८ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा