काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
ऊर्जा मन्त्रालयमा मङ्गलबार भएको भेटमा नेपाल–भारतबीच ऊर्जा व्यापार, जलविद्युत् आयोजना निर्माण, विपद् प्रतिकार्य तथा पूर्वसूचना प्रणालीलगायत विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा मन्त्री श्रेष्ठले नेपालले हालै सामना गरेका शृङ्खलाबद्ध विपद्का घटनामा सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिएका थिए । उनले दुई देशबीच विद्युत् व्यापार विस्तार गर्न, नेपालमा सञ्चालित जलविद्युत् आयोजनाहरू समयमै सम्पन्न गर्न तथा ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउन भारतसँग सहकार्यका लागि आग्रह गरेका थिए ।
जवाफमा भारतीय विदेश सचिव मिश्रीले ऊर्जा क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको बताएका थिए ।
भेटमा ऊर्जा सचिव डा. जगदीश्वर कर्माचार्यसहित मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो । भारतीय पक्षबाट नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए ।














प्रतिक्रिया