कााठमाडौँ– नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचार भ्रमपूर्ण र अपुष्ट रहेको दाबी गर्दै आधिकारिक सूचना पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।
कम्पनीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय खरिद प्रक्रियासम्बन्धी भ्रमपूर्ण तथा अपुष्ट समाचारहरू सार्वजनिक भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
टेलिकमले प्रचलित ऐन, कानुन तथा सुशासनका मूल्य र मान्यताअनुसार आफ्नो कामकारबाही सञ्चालन गर्दै आएको स्पष्ट पारेको छ । कम्पनीका अनुसार दूरसञ्चार उपकरण तथा सेवा खरिद गर्दा कम्पनीको आर्थिक विनियमावली, सम्बन्धित कार्यविधि, सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी स्ट्यान्डर्ड बिड डकुमेन्टका आधारमा आवश्यक प्रक्रिया अपनाइने गरिएको छ ।
कम्पनीले सहरी क्षेत्रदेखि देशका अति विकट स्थानसम्म गुणस्तरीय दूरसञ्चार सेवा विस्तार गर्दै आएको उल्लेख गर्दै नयाँ प्रविधिको अवलम्बन, सेवाको गुणस्तर अभिवृद्धि तथा सरकारका नीतिगत लक्ष्य पूरा गर्न विभिन्न काम गर्दै आएको जनाएको छ ।
नेपाल टेलिकमले आफ्नो ऐतिहासिक पृष्ठभूमि, संस्थागत प्रतिष्ठा, जनविश्वास र ग्राहकको भरोसालाई महत्त्वपूर्ण सम्पत्तिका रूपमा लिएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।
खरिद प्रक्रियालगायत कम्पनीका गतिविधिबारे समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि आवश्यक आधिकारिक विवरण कम्पनीका प्रवक्ता, सूचना अधिकारी, सहप्रवक्ता तथा सूचना तथा प्रकाशन शाखाबाट सहज रूपमा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा अपुष्ट तथा भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न र कम्पनीको संस्थागत हित तथा प्रतिष्ठा अभिवृद्धिमा सकारात्मक सहयोग पुर्याउन सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।














प्रतिक्रिया