प्रचण्डसँग ओलीले भने : नयाँहरूले देशलाई संकटमा लाँदैछन्, नयाँ शिराबाट मिलेर अघि बढ्नुपर्ने भयो « Khabarhub

प्रचण्डसँग ओलीले भने : नयाँहरूले देशलाई संकटमा लाँदैछन्, नयाँ शिराबाट मिलेर अघि बढ्नुपर्ने भयो

राष्ट्रियसभा निर्वाचनमै सहकार्य गर्न प्रस्ताव



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भेटवार्ता भएको छ।

मानभवनस्थित विवादित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा आइतबार बिहान भएको यो ओलीको चहानाअनुसार भएको नेकपा नेताहरू बताउँछन ।

भेटबारे प्रचण्डनिकट एकजना नेताले पुष्टि गरेका छन् । उनका अनुसार प्रचण्ड भारतको नयाँदिल्लीतिर उड्नुअगाडि ओलीले टेलिफोन गरेर भेटौँ भनेका थिए ।

ओली र प्रचण्डबीच ललितपुरको मानभवनस्थित अधिकारीको समर्थकको घरमा एक्ला एक्लै वार्तामा बसेको ती नेताले बताए ।

‘ओलीले विगतका गल्ती भुलेर नयाँ शिराबाट अगाडि बढ्न प्रस्ताव गर्नु भएछ । ओलीको संकेत अनुसार राष्ट्रिय सभा निर्वाचनमै सीट बाँडफाँट गरेर जान सक्ने अवस्था आउन सक्छ । त्यसका लागि हामी यताबाट पनि तयार हुनुपर्‍यो’, उनले भने, ‘हाम्रो संयोजकज्यूले मिलेर जान सकिने विकल्पमा कुरा गर्न सकिने बताउनु भएछ ।’

प्रचण्डसँग टेलिफोनमा कुराकानी भएको जानकारी गराउँदै नेकपाका ती नेताले भने, ‘ओलीले हाम्रो साथ खोजेछन् । भारत जाँदा पनि राष्ट्रियताका मुद्दा र पछिल्लो राजनीतिबारे एमाले र नेकपाको एकै धारणा हुनुपर्ने कुरा राख्नुभएछ ।’

२०८१ असार १७ गते एमाले अध्यक्ष ओलीले माओवादीसँगको गठबन्धन तोडेर कांग्रेससँग मिसिएयता यी दुई नेताहरूबीच वान टु वान वार्ता भएको थिएन ।

दुई नेताहरू औपचारिक रूपमा यसरी बसेर लामो समय कुराकानी गरेको यो पहिलोपटक हो ।

दुई नेताबीच राष्ट्रिय सभामा विश्वासको वातावरण बनाएर सहमतिसहित जाने गरी ओलीले तयार रहन प्रचण्डलाई भनेका छन् ।

प्रचण्डले यस अगाडिका घटनाक्रम सुनाउँदै छलफल गरेर कुराकानी अगाडि बढाउने बताए । ओलीले प्रस्ताव गरे पनि प्रचण्ड विश्वस्त भएका छैनन् ।

‘ओलीले नयाँहरूले देशलाई देश संकटमा लान्छन् भनेर प्रचण्डसँग मिल्नुपर्ने जनाउ दिनु भयो’, ती नेताले भने, ‘संयोजकले यसबारे पार्टीभित्र र ओलीसँग पनि थप छलफल आवश्यक रहेको बताउनु भएको छ।’

भेटमा ओलीले राष्ट्रियता र सीमा अतिक्रमणबारे भारतलाई नेपाली राजनीतिक दलहरू एकैठाउँमा रहेको जानकारी गराउनसमेत प्रचण्डलाई आग्रह गरे ।

माधवलाई थियो जानकारी

एकजना नेताका अनुसार एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताबारे प्रचण्डले माधव नेपाललाई जानकारी गराएका थिए। माधवले ओलीसँग भेट्दैमा केही नहुने बताउँदै छलफल गर्न भनेको ती नेताको दाबी छ।

‘नेकपाका सहसंयोजक माधव कमरेडले पनि ओलीलाई भेट्नुस् भन्नुभएको रहेछ’, स्रोतले भन्यो, ‘ओलीकै कारण देशमा यति धेरै भएको छ । भेटेर उनका कुरा सुन्दैमा केही बिग्रिँदैन ।’

ओलीले के सहकार्य चाहेका हुन् ?

ओलीले चुनावी सहकार्य अथवा मोर्चाबन्दीबारे अहिले नै प्रस्ताव गरिसकेका छैनन् । राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने संकेत भने गरेका छन्।

भदौ २३ र २४ गतेको आन्दोलनपछि अप्ठेरोमा परेका ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिल्न प्रचण्डसँग भेट गरेको स्रोतको दाबी छ।

‘अहिलेलाई अरू कुरा भन्दा माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनमा सहकार्यको संकेत गर्नुभएको रहेछ । नेपाली कांग्रेसको विवादले नेकपासँग मिल्ने मुडमा ओली पुग्नुभयो’, एमाले स्रोत भन्छ,‘जेन-जी आन्दोलनले देश अस्थिरता जाने डर बढिरहेको छ। कम्युनिष्टहरू मिलेर राष्ट्रिय सभामा सकारात्मक सन्देश दिन सकिने भनेर भेट्नुभएको हो। प्रतिनिधि सभामा नेकपा र एमाले मिल्ने कुरा भएको छैन। राष्ट्रिय सभामा एक हुने कुरा भएको साँचो हो ।’

एमाले नेताहरूका अनुसार राष्ट्रिय सभामा नेकपा र एमालेको सहकार्यमा विश्वासिलो वातावरण बने प्रतिनिधि सभामा पनि सहकार्य गर्ने तहमा ओली पुग्ने छन् ।

प्रतिनिधि सभामा सहकार्य हुँदैन

नेकपाका नेताहरू राष्ट्रिय सभामा तालमेल गरेर जाने स्थिति भए पनि प्रतिनिधि सभामा एमालेसँग सहकार्यको अवस्था नभएको बताउँछन्।

जेन-जी आन्दोलनले पछिल्लो समय पुराना दलहरूलाई पाठ सिकाएको छ । फागुन २१ को चुनावमा एमालेसँग गठबन्धन अथवा सहकार्य गरेर जाने अवस्था अहिलेसम्म नरहेको ती नेताको दाबी छ।

‘राजनीतिक दलहरूको परीक्षण संकटको बेला नै हुने हो। हामीले माधवजीहरूसँग एकता गरेर ठूलो पार्टी बनाएका छौँ । नेकपालाई बहुमत ल्याउन एमालेसँग मिलेर जानुपर्ने अवस्था छैन’, ती नेताले भने, ‘हामीले बुझिसकेका छौँ कि संकटको सारथी ओली होइन । बरु नयाँ विचार र क्षमता भएका साथीहरूसँग मिलेर जान सकिन्छ।’

यता एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले चुनावमा कसैसँग सहकार्य नगर्ने बताएका छन्। च्यासल र पेरिस डाँडाबीच सहकार्य हुँदैछ रे नि भन्ने प्रश्नमा उनले भने, ‘माधव नेपाल र प्रचण्डजीहरूसँग अध्यक्ष ओली अहिले सहकार्य गर्न तयार हुनुहुन्न । राष्ट्रिय सभाबारे छलफल हुनु स्वभाविकै हो तर प्रतिनिधिसभामा एमाले एक्लै अगाडि बढ्छ।’

गुरुङ जेन-जी आन्दोलनपछि एमालेले देशभरूपमा संगठन व्यापक परिमार्जन गरेको बताउँदै निर्वाचन जित्न कसैको सहारा नचाहिने बताउँछन्।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ४ : १९ बजे

बाजुरा एमालेमा जुटेन सहमति : नरेश रोकायासहित ११ जनाको नाम सिफारिस

बाजुरा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

खोटाङको धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको

भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत

टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा

काठमाडौं – आईसीसी टी-२० विश्वकपका लागि बंगलादेशले टिम घोषणा गरेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।