दोलखा– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी दोलखामा बुधबारदेखि नेपाली सेना परिचालन गरिएको छ ।
सरकारले निर्वाचनलाई पूर्णरूपमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने लक्ष्य राखेकाले निर्वाचनको एक महिना अगाडिदेखि नै सुरक्षाकर्मीहरू कार्यक्षेत्रमा खटाइएका हुन् ।
दोलखाको भौगोलिक विकटता र विगतका निर्वाचनमा देखिएका निर्वाचनका सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै गृह मन्त्रालयले यस क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले संवेदनशील सूचीमा राखेको छ ।
सोही संवेदनशीलतालाई मनन गर्दै करिब एक हजारको संख्यामा सैनिक जवानहरू परिचालन गरिएको जनाइएको छ ।
जिल्लाका विभिन्न रणनीतिक स्थानहरूमा आफ्नो उपस्थिति बलियो बनाउने सेना तथा सुरक्षाकर्मीहरूको योजना रहेको छ ।
निर्वाचन पूर्व नै ठुलो संख्यामा सुरक्षा फौज परिचालन हुनुको मुख्य उद्देश्य आम मतदातामा सुरक्षाको सुनिश्चितता प्रदान गर्नु रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
सेनाको उपस्थितिले सम्भावित अवाञ्छित गतिविधिहरूलाई निरुत्साहित गर्ने र निर्वाचन प्रक्रियालाई विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
सुरक्षा निकायहरूले स्थानीय प्रशासनसँग समन्वय गरी मतदान केन्द्र र मतपेटिका ढुवानी मार्गहरूको सुरक्षालाई समेत उच्च प्राथमिकतामा राखेका छन् ।

५२ वटा मतदान स्थल अति संवेदनशील सुचीमा
यता दुई नगरपालिका र सात गाउँपालिकामा रहेका ९५ मध्ये ५२ वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ ।
विगतका निर्वाचनमा भएका हिंसात्मक घटना, बुथ कब्जा र भौगोलिक विकटताका कारण हुनसक्ने सुरक्षा संवेदनशीलतालाई अध्ययन गरेर ५२ मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।
उनका अनुसार २८ मतदान स्थललाई संवेदनशील र १५ मतदान स्थललाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ ।
विगतका निर्वाचनमा भएका घटना तथा निर्वाचन केन्द्रित नकारात्मक गतिविधिम रोक्न यस पटक सिङ्गो जिल्लाको सुरक्षालाई मजबुत राखिने र विगतका घटना दोहोरिन नदिने बताए।
दोलखामा यस पटकको निर्वाचनमा कुल एकलाख ७० हजार ३० जना मतदाता रहेका छन्।एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दोलखामा १४ दलका उम्मेदवार सहित ३३ जनाले उम्मेदवारी दिएका छन् । मुख्यगरी दोलखाको निर्वाचनमा ५ दल बिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको हो ।
निर्वाचन आउन करिब ४ साता बाँकि रहँदा जिल्लाका उम्मेदवार अहिले मतदाता भेटघाट र घरदैलो अभियानमा केन्द्रित बनेका छन् । सुवाश बस्नेत/दोलखा













प्रतिक्रिया