सोविताको विवादित भनाइको पक्षमा रिपोर्ट बनाउने ‘फ्याक्टचेक’ के हो ? « Khabarhub

सोविताको विवादित भनाइको पक्षमा रिपोर्ट बनाउने ‘फ्याक्टचेक’ के हो ?

सम्पादक भन्छन् : तथ्य नस्वीकारी संस्थाको नियतमाथि प्रश्न उठाउनु गलत


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले ८ जनवरी २०१९ मा ‘दाजुभाइ टक शो’ नामक युट्युब च्यानलमा दिएको अन्तवार्ताको एउटा क्लिप अहिले भाइरल भइरहेको छ ।

४७ : ३६ मिनेट लामो उक्त अन्तर्वार्तामा गौतमले बलात्कारसम्बन्धी राखेको दृष्टिकोण लगातार विवादित बनिरहेको छ । उक्त दृष्टिकोणबारे उनले यसअघि नै आफूले गलत बोलेको भन्दै माफी मागिसके पनि अझै यसबारे सामाजिक सञ्जालमा प्रश्न उठाउने क्रम रोकिएको छैन। कानुनकी विद्यार्थीसमेत रहेकी पूर्वसांसद गौतमले उक्त अन्तर्वार्तामा बलात्कार र अन्य अपराधलाई एउटै भाँडोमा हालेर व्याख्या गरेकी थिइन् ।

गौतमले दिएको पूरा अन्तवार्ताको भिडियोको लिंक

जुन विषय विवादित भएपछि गौतम स्वयम्ले ट्वीटरमार्फत् आफूले भन्न खोजेको कुराले अन्यथा अर्थ लागेर पीडितरूप्रति आघात पर्न गएकामा खेद प्रकट गरेकी थिइन् ।

गौतमको स्टाटस

७ वर्षपछि फेरि चर्चा, बचाउमा ‘फ्याक्टचेक’

नेतृ गौतमले उक्त अन्तर्वार्ता दिएको ७ वर्ष भइसकेको छ । जतिबेला उनी २३ वर्षकी थिइन् । त्यतिबेला उनले सार्वजनिक र सामाजिक जीवन सुरु गरिसकेकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा २०७९ मा जोडिएकी उनी त्यसअघि नै अभियन्ताका रुपमा चिनिएकी थिइन् ।

गौतमको अन्तर्वार्तालाई मानिसहरूले उनी राजनीतिक जीवनमा आउनअघि खासै वास्ता गरेका थिएनन् । ०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा जब उनी काठमाडौं २ बाट विजयी भइन्, तबदेखि अन्तर्वार्ताको एउटा क्लिप भाइरल बन्न पुग्यो ।

तर नेतृ गौतमले सांसदमा निर्वाचित भएपछि २०७९ मै उनले आफ्नो उक्त पुरानो भनाइप्रति खेद प्रकट गरेसँगै उक्त विषय सेलाएको थियो ।

तर, केही दिनअघि मात्रै पत्रकार ईश्वर अर्यालको फेसबुक स्टाटस र राजु पहारीले उक्त अन्तर्वार्ताको मुख्य विवादित भिडियो क्लिप सेयर गरेका आधारमा ‘नेपालफ्याक्टचेकडटओआरजी’ले मूल ‘सन्दर्भ काटेर फैल्याइएको सोविता गौतमको ‘बलात्कार र थप्पड’ सम्बन्धी भनाइ भ्रामक’ शीर्षकमा समाचार नै तयार पार्यो ।

केही दिनअघि मात्रै अनलाइनखबर र फ्याक्टचेकले सहकार्यको सहमति गरेलगत्तै उक्त समाचार यही मंगलबार छापियो ।

फ्याक्टचेकले नेतृ गौतमले ‘बलात्कार र थप्पड एउटै हो’ नभनेकी, १४ मिनेट लामो प्रसंग भएको भिडियोमध्येबाट १५ सेकेन्डको भनाइ काटेर भ्रम छर्न खोजिएको दाबी गर्दै समाचार तयार पारेको छ । जुन समाचार रिपोर्ट वास्तविक अन्तर्वार्तामा गौतमको अभिव्यक्तिसँग मेल खाने देखिँदैन ।

नेपाल फ्याक्टचेकले तयार गरेर अनलाइनखबरमा प्रकाशित समाचार

के भनेकी थिइन् गौतमले ?

४७ : ३६ मिनेट लामो उक्त अन्तर्वार्ताको १५ मिनेट ५० सेकेन्ड वरिपरि अन्तरवार्ता लिने व्यक्तिले गौतमलाई महिला सशक्तिकरण, बलात्कारको घटना र त्यसलाई रोक्न के–के गर्न सकिन्छ भनेर धारणा मागेका छन् ।

जवाफमा गौतमले आफ्नो धारणा यसरी प्रष्ट पारेकी छन् ।

तपाईंले एकदमै समयसान्दर्भिक कुरा उठाउनुभयो, अहिले महिला अधिकारको कुरा भन्दा पनि ‘वुमन इम्पावरमेन्ट’, महिला शशक्तिकरणको विषयलाई म जोड दिने गर्छु । किन भनेदेखि महिला अधिकारमा मैले अघि पनि भनेको थिएँ, अधिकार मैले कसैलाई पनि राख्न दिएको छैन, म एउटा स्वतन्त्र नागरिक नेपालमा कानुनतः सबै जनालाई होइन, बराबर भनेर संविधानले पनि भनेको छ । त्यो हिसाबले गर्दाखेरि मैले कसैलाई मेरो अधिकार दिएको छैन म आफैँ स्वतन्त्र छु, के गर्ने भन्ने कुरा ममा निहित छ ।

मैले गर्ने भनेको कुरा चाहिँ महिला सशक्तिकरणको हो । अब महिला सशक्तिकरणको कुरा गर्दाखेरि चाहिँ जहिले पनि हामी आफैँभित्र नै कमजोर भइरह्यौँ, कहिल्यै पनि हामीलाई हामी महिलाहरूले एकदम स्ट्रोङ छु, कोही नभए पनि म बाँच्न सक्छु भन्ने कुरा कहिल्यै पनि सोच्न सकेनौँ । त्यसकारणले गर्दा पछाडि छौँ जस्तो लाग्छ ।

बलात्कारको कुरा जोड्नुभयो । यो बलात्कार भन्ने शब्दलाई मैले अहिले ब्याख्या गर्यो भनेदेखि कति दर्शकहरूबाट नराम्रो कमेन्ट पनि आउन सक्छ । तर, मलाई ‘पर्सनल्ली’ के लाग्छ भन्दा बलात्कार भनेको भावनासँग जोडिएको विषय हो, त्यो भएको कारणले गर्दा यसलाई चाहिँ ठूलो ‘ग्लोरिफाई’ गरिन्छ के । के के न भएको जस्तो गरिन्छ ।

फेरि बीचमा प्रश्नकर्ताले यसरी सोध्छन् : नाबालिगहरूमा विशेष गरेर टार्गेट हुन्छ, भइरहेको छ पछिल्लो समयमा, हामीले कञ्चरपुरको घटना हेर्यौँ, मात्रै १५ वर्षको नानी थिइन् (निर्मला पन्त प्रकरण), होइन, १३ या १५ वर्ष, त्यसैगरेर अन्य नाबालिगलाई पनि जोडिएको थियो के । नाबालिग, किनकी उनीहरूले डिफेन्स गर्न सकिरहेको हुँदैनन्, विशेष गरेर टार्गेट गरिरहेको हुन्छ । यो कुराहरूलाई जोड दिनुस् न ।

गौतमले फेरि उक्त प्रश्नको थप व्याख्या गर्दै यसरी जवाफ दिएकी छन् : बलात्कार हुनुमा चाहिँ मैले ‘मिस वेस्टर नेपाल’लाई ट्रेनिङ दिँदै गर्दाखेरि पनि यो भनेको थिएँ र जहाँ बलात्कारको इस्यु उठ्छ, त्यो बेलामा म भन्ने गर्छु । बलात्कार एक दुईवटा केस मात्रै ‘एक्सिडेन्टली’ हुन्छ, अब झ्याप्प केटी देखियो समायो, बलात्कारका कुरा, एकदम ‘रेयर केस’ हुन्छ के । त्यो बलात्कार हुन धेरैजसो, प्रायःजसो केसमा चाहिँ सिलसिलाबद्ध घटना भएका हुन्छन् के ।

पहिलो अटेम्प्ट के हुन्छ ? ‘मे बी’ जिस्क्याउने हुनसक्छ, ओ मैयाँ के छदेखि लिएर हुनसक्छ, फलो गर्नेदेखि लिएर हुनसक्छ । अनि हामी नेपाली समाजमा चाहिँ के गर्छौं भनेदेखि त्यो पहिलो इन्सिडेन्ट जब हुन्छ नि, त्यो सिलसिला सुरू हुने पहिलो अवस्था जुन हुन्छ, त्यसलाई नै हामी रोक्न खोज्दैनौँ के । हामीमात्रै नभएर बुवाआमा भनम्, हाम्रो समाजले पनि त्यसलाई रोक्न खोज्दैन के ।

जिस्क्यायो भनेदेखि ए छोड्दे, त्यस्तै हो भनेर हिँड्ने गरिन्छ होइन । तर, हामी महिलाहरूले चाहिँ त्यो पोइन्टमा नै स्टप हुन सक्नुपर्छ के । त्यो पोइन्टमा नै स्टप गराउन सक्नुपर्छ । किन जिस्क्यायो मलाई ? होइन, मलाई कसैले जिस्क्याउने, त्यो त दुव्र्यवहार हो । मलाई कसैले दुव्र्यवहार गर्ने अधिकार कोहिसँग पनि छैन । त्यो पोइन्टमा स्टप हुनपर्छ ।

र, इनकेस ती घटनाहरू भए होइन, नहुनु भइहाल्यो, अब त्यसलाई के गर्ने भन्ने कुरा पनि आउँछ । पुर्नस्थापनाका कुराहरू होइन ? हाम्रो समाजमा चाहिँ बलात्कार एक त त्यो व्यक्ति स्वयंले म बलात्कृत भएँ, अब मेरो जिन्दगी सकियो भन्ने सोचेको हुन्छ, पीडित स्वयंले । अनि अर्को कुरा समाजले पनि विचरा ऊ बलात्कार भयो भनेर एउटा विचरा भन्ने पक्षहरू हुन्छन् भने अरू केही मान्छेहरू हुन्छन्, जसले अब यो बलात्कार भई यो सिद्दिई, यसलाई कसले बिहे गर्ने यस्ता खालका कुराहरू उठ्ने गर्छन् ।

तर, म चाहिँ के भन्छु भनेदेखि जबसम्म त्यो बलात्कृत महिला, जसलाई चाहिँ उसको शरीरमा कुनै पनि हानी नोक्सानी भाको छैन, बलात्कृत भइसकेपछि पनि उसलाई केही पनि भाको छैन भनेदेखि बलात्कृत हुनु र उसलाई कसैले झापड लगाउनुमा कुनै पनि फरक छैन भन्छु के म । किन भनेदेखि त्यो बलात्कृत हुनु पनि एउटा घटना थियो र झापड लगाउनु पनि एउटा घटना थियो । यो दुवै महिला हिंसाअन्तर्गत पर्ने कुरा हुन् ।

अब ऊ बलात्कृत भएकी छे भनेदेखि त्यो भयो उसको शरीरमा कुनै पनि हानी नोक्सानी छैन, उसलाई एउटा कुनै समयमा एउटा दुर्व्यवहार भएको थियो, त्यसपछाडि उसको जिन्दगी स्वतन्त्र छ नि त । उसले जे पनि गर्न सक्छे । उसलाई केही पनि नराम्रो कुराहरू छैन, यति हुँदाहुँदै पनि हामी समाज कस्तो गर्छौं भनेदेखि ऊचाहिँ कामै नलाग्ने हो, उसको जिन्दगी नै सकियो जसरी ट्रिट गर्छौँ के । अलिकति हामीले ‘कन्सेप्ट’ पनि बदल्नुपर्ने अवस्था छ ।

बलात्कृत भन्नेवित्तिकै एकदमै छिछि–दुरदुर गर्नुपर्ने अवस्था पनि छैन र विचरा भन्नुपर्ने अवस्था पनि छैन । बलात्कृत भएको र कसैले झापड हानेको अथवा उसको कसैले हात भाँचिदिएको, खुट्टा काटिदिएको त्यो ‘इक्वेल’ घटनाहरू हुन् । त्यसलाई हामीले ‘इक्वेल्ली, सिभियरली’ नै हेर्नुपर्ने हुन्छ ।

यो बलात्कृत भएको एकदमै ठूलो जघन्य अपराध अनि पछाडिबाट कसैले उसको हात काटदियो भनेदेखि त्योचाहिँ सामान्य अपराध भनेर नहेरौँ । यसलाई चाहिँ नेपाली समाजमा महिलाहरूले अथवा महिला अधिकारवादीहरूले बढीजस्तो ‘फोकस’ गरेर बलात्कार भन्ने शब्दलाई समाचार पत्रमा पनि बलात्कार भन्ने यत्रो ठूलो हेडलाइन राखिने गरिन्छ होइन ? त्यो शब्द नै यस्तो मान्न थालिसक्यौं कि एकदमै खतरा शब्द हो की भन्न थालिसक्यौँ हामीले, यसलाई चाहिँ हामीले अलिकति ‘जेनरलाइज’ गरौँ, सामान्य हो, भनेर ट्रिट गर्यौँ भनेदेखि सायद बलात्कार भइसकेपछि पनि पुनस्र्थापना हुनका लागि पनि महिलाहरूलाई सजिलो हुन्छ जस्तो लाग्छ ।

सोविताले विवादित भिडियोमा प्रष्टसँग भनेको विषयसम्बन्धी सानो क्लिपलाई भ्रामक भनिरहेका नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठले यसबारे आफ्नो बचाउ गरेका छन् ।

उनले उक्त विषयमा गरिएको फ्याक्ट चेकसम्बन्धी विवरण सार्वजनिक गर्दै स्पष्ट प्रमाणसहित भ्रामक रहेको पुष्टि गरिसकेको जिकिर गरेका छन् ।

‘नेपालफ्याक्टचेकले स्पष्ट प्रमाणसहित यो भ्रामक सूचना भएको पुष्टि गर्दा पनि धेरैले त्यसलाई ‘बचाउ’ वा ‘सफाइ’ भन्दै अस्वीकार गरे। यो अहम् र मनोविज्ञानको द्वन्द्व हो। धेरैका लागि प्रमाण स्वीकार्नु भनेको ‘म गलत थिएँ र म झुकिएँ’ भनेर स्वीकार्नु हो’, उनले जिकिरसहित भनेका छन्, ‘आफ्नो अहम्का कारण मानिसहरू तथ्यलाई स्वीकार्नुको सट्टा तथ्य जाँच गर्ने संस्थाको नियतमाथि नै प्रश्न उठाउन सहज मान्छन् । सोविता गौतमले समाजको दृष्टिकोण बदल्न प्रयोग गरेको ‘एनालोजी’ लाई कन्फरमेसन बायसले ‘अपराधको न्यूनीकरण’ का रूपमा व्याख्या गरिदियो, जसले गर्दा केही व्यक्तिका लागि प्रमाणले पनि काम गर्न सकेन।’

बलात्कार र झापडबारे के भन्छ कानुन ?

मुलुकी अपराध संहिता, २०७४ मा कसैलाई कुटपिट गर्न नहुने व्यवस्था गरिएको छ । उक्त ऐनको दफा १९२ (४) मा कुटपिट गरेर अंगभंग गराउनेलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । जहाँ महिलालाई अलग, पुरुषलाई कुटपिट र अंगभंग गर्दा अलग सजायको व्यवस्था गरिएको पाइँदैन ।

त्यही ऐनको दफा ११४ र १९५ मा पनि कुटपिट र अंगभंग गराएकोमा लाग्ने कानुनी व्यवस्था छ । ती दफामा पनि पुरुष र महिलालाई हुने भिन्न सजायको व्यवस्था गरिएको छैन ।

तर, सोही ऐनको परिच्छेद १८ मा करणीसम्बन्धी कसुरको व्यवस्था छ । जसको दफा २१९ मा जबरजस्ती करणी गर्न नहुने र कसरी करणी गरिएमा र कुन उमेरको व्यक्तिलाई करणी गरिएमा कस्तो सजाय हुने भन्ने कानुनी व्यवस्था स्पष्ट गरिएको छ ।

हाडनाता, थुनामा रहेको व्यक्ति, आफ्नो संरक्षणमा रहेको व्यक्ति, कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्ति, यौन दुर्व्यवहार, बाल यौन दुरूपयोग, अप्राकृतिक मैथुन र पशु करणी गर्न नहुने र सो गरेमा हुने सजायको व्यस्था सो परिच्छेदअन्तर्गतका दफाहरूमा स्पष्ट गरिएको छ ।

नेपालका विद्यमान सबै ऐन तथा कानुनले झापड वा कुटपिट र बलात्कारलाई एकै ढंगले हेर्ने र सजाय गर्ने व्यवस्था गरेको पाइँदैन ।

के हो नेपाल फ्याक्टचेक ?

जोसुकैले सजिलैसँग हेर्न मिल्नेगरी युट्युबमा सार्वजनिक भएको सोविता गौतमको ७ वर्ष अगाडिको भिडियोमा उनले बलात्कारसम्बन्धी विषयमा के बोलेकी छन् ? उनले भन्न खोजेको आशय के हो ? र, सो भनाइ विश्वव्यापी र नेपालको बलात्कारलाई हेर्ने तथा लिनेसम्बन्धी कानुनी र सामाजिक मूल्य मान्यताअन्तर्गत पर्छ कि पर्दैन भनेर धेरैले हेर्न सक्छन् ।

तर, नेपाल फ्याक्टचेकले नेपाली समाजमा सेलाइसकेको विषयलाई चुनावी समयमा किन फेरि चर्चामा आउनेगरी समाचार रिपोर्ट बनाएर सञ्चारमाध्यमलाई प्रकाशन गर्न लगायो भनेर साधारण प्रश्न उठ्दा उक्त संस्था के हो भनेर जान्नुपर्ने हुन्छ ।

नेपाल फ्याक्टचेकको वेबसाइट

नेपाल फ्याक्टचेकको वेबसाइटमा गएर हेर्दा उक्त संस्था गैरनाफामुलक संस्था भनेर उल्लेख गरिएको छ । जसको परियोजना संयोजकमा उज्ज्वल आचार्य छन् । सम्पादकमा उमेश श्रेष्ठ राखिएका छन् । यसका साथै संस्थाले सहसम्पादक, तथ्यजाँचकी र प्रदेशस्तरमा निगरानीकर्ता पनि राखेको छ ।

उक्त संस्थाले ‘सेन्टर फर मिडिया रिसर्च–नेपाल’ र ‘माइसंसार डटकम’को संयुक्त पहलमा नेपाल फ्याक्टचेक सञ्चालन गरिएको उल्लेख गरेको छ ।

गैरसरकारी संस्थाका रुपमा सञ्चालित यस संस्थाले पछिल्लो समय निर्वाचन आयोगसँग पनि सहकार्य गरेको जनाएको छ । त्यसैगरी केही अनलाइनसहितका सञ्चारमाध्यमसँग पनि निर्वाचनको मुखमा फ्याक्ट चेक गर्ने भन्दै सम्झौता गरिएका विवरण भेटिएका छन् । यसअघि सञ्चारमाध्यममा प्रकाशित समाचारमा मात्रै तथ्य जाँच गरिरहेको यो संस्थाले अचेलका दिनमा सामाजिक सञ्जालमा आएका फोटो र भिडियोसहितका विवरणको पनि तथ्य जाँच गरिरहेको छ ।

संस्थाले आफूलाई गैरनाफामूलक भनेकोमा मोटो आर्थिक स्रोत भने एसियादेखि अमेरिकासम्मका विभिन्न संस्थाबाट जुटाएको छ । जसमध्ये उक्त संस्थालाई सबैभन्दा ठूलो आर्थिक स्रोत उपलब्ध गराउने अमेरिकाका विवादित अर्बपति जर्ज सोरसको संस्था ओपन सोसाइटी फाउन्डेसन पनि छ । जसले नेपाल फ्याक्टचेकलाई पछिल्लो ५ वर्षमा ४६ लाख ७० हजार रुपैयाँ उपलब्ध गराएको विवरण भेटिएको छ ।

नेपाल फ्याक्टचेकको आर्थिक स्रोत

स्रोत : मानुस सर्च इन्जिनको सहायतामा खोजी गरिएको ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ६ : ३३ बजे

जथाभावी पार्किङ गरिएका बस नियन्त्रणमा

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरिएका १५ वटा

मुस्ताङको साङ्तास्थित मतदानस्थल सार्न प्रस्ताव

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ अन्तर्गत पर्ने साङ्ता गाउँको मतदानस्थल

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो

कास्की– घरेलु टोली नेपाल पोखरामा जारी १९ वर्ष मुनिको साफ

प्रलोपा अध्यक्ष परियार भन्छन् : पार्टी एकढिक्का छ, नेताहरू निर्वाचनमा होमिएका छन्

काठमाडौं- डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील

बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद

ढोरपाटन– बागलुङमा ठूलो सङ्ख्यामा भरुवा बन्दुक बरामद गरिएको छ ।