मुस्ताङको साङ्तास्थित मतदानस्थल सार्न प्रस्ताव « Khabarhub

मुस्ताङको साङ्तास्थित मतदानस्थल सार्न प्रस्ताव


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ अन्तर्गत पर्ने साङ्ता गाउँको मतदानस्थल सार्न प्रस्ताव गरिएको छ । हिमपात र अत्यधिक चिसोका कारण मतदान गर्न कठिनाइ हुने भन्दै स्थानीय वडा कार्यालयले मतदानस्थल स्थानान्तरणका लागि सम्बन्धित निकायमा लिखित अनुरोध पठाएको हो ।

जोमसोमदेखि उत्तर–पश्चिमतर्फ मुस्ताङ–डोल्पा सडकको सिमानामा पर्ने साङ्ता गाउँ मुस्ताङकै सबैभन्दा कान्छो गाउँ हो । विसं २०२२ मा पत्ता लागेको यस गाउँमा हाल १३ घरधुरी बसोबास गर्छन् । विसं २०७९ को संघीय तथा प्रादेशिक निर्वाचनमा यहाँ ३४ मतदाता थिए भने आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक हुँदा ३९ मतदाता कायम भएका छन् ।

साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालयलाई मतदानस्थल तोकिएको छ । तर हिमपात र चिसोका कारण गाउँमा केही याकचौँरी हेर्ने गोठालाबाहेक कोही नबस्ने अवस्था रहेकाले मतदानस्थल सार्न प्रस्ताव गरिएको वडासदस्य छिरिङ पाल्साङ गुरुङले जानकारी दिए । उनका अनुसार गाउँका अधिकांश नागरिक हिमपात र चिसो छल्न फल्याक, धाकार्रजुङ, कागबेनी र जोमसोमलगायत स्थानमा आफन्तकहाँ बसिरहेका छन् ।

‘फागुन २१ गते मतदानका दिन गाउँ फर्किन हिमपात र चिसोको जोखिम धेरै हुने भएकाले मतदानस्थल सार्न आग्रह गरिएको हो,’ वडासदस्य गुरुङले भने।

मुस्ताङको पाक्लिङदेखि मुस्ताङ–डोल्पा सिमानासम्म सडक ट्र्याक खुलेको भए पनि साङ्ता गाउँबाट याकखर्कसम्मको सडक अत्यन्तै चुनौतीपूर्ण र कष्टकर छ । करिब चार हजार ५०० मिटर उचाइबाट जाने मुस्ताङ–डोल्पा सडक एक महिनादेखि हिमपातले अवरुद्ध छ । साङ्ताका बासिन्दा गर्मीयाम सुरु भएपछि मात्रै चैत–वैशाखमा गाउँ फर्किने तयारीमा छन् ।

साङ्ता गाउँ समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा अवस्थित छ । यहाँका नागरिक कृषि र पशुपालनमा निर्भर छन् र वर्षमा करिब सात महिना मात्रै गाउँमा बसोबास गर्छन् । पहिले जाडोयाममा गाउँ नजिकैको ‘घोक’ भन्ने स्थानमा अस्थायी बसाइँ सर्ने गरे पनि पछिल्ला वर्षहरूमा जोमसोम आसपासका क्षेत्रमा बस्न थालेका छन् । केही मतदाता पोखरा र काठमाडौँमा पनि बसोबास गर्दै आएका छन् ।

यही अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले जिल्ला सुरक्षा समिति, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदानस्थल सार्न प्रस्ताव पठाएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले साङ्तास्थित हिमाली आधारभूत विद्यालयको मतदानस्थल सार्न वडा कार्यालयबाट प्रस्ताव प्राप्त भएको पुष्टि गरे। ‘प्रस्ताव प्राप्त भएको छ, तर हालसम्म यसबारे औपचारिक छलफल भएको छैन,’ उनले भने, ‘जिल्लामा बैठक बसेर छलफल गरी उपयुक्त ठहरेमा सिफारिससहित निर्वाचन आयोगमा पठाइनेछ ।’

निर्वाचन आयोगको मतदानस्थल तथा मतदान केन्द्र कार्यविधि २०८१ अनुसार मतदानस्थल हेरफेर, थपघट वा स्थानान्तरण गर्न सकिने व्यवस्था छ । जिल्लाबाट सिफारिस आएमा आयोगले आवश्यक निर्णय लिने प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : २३ बजे

एमाले र प्रलोपाबीच चुनावी तालमेल, रुकुम पश्चिममा जनार्दनलाई भोट हाल्ने सहमति

काठमाडौं- प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी

ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते

संखुवासभा– जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक

शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ

१० न्यायाधीहरुको सरुवा र २० को पदस्थापना (सूचीसहित)

काठमाडौँ – न्याय परिषद्ले जिल्ला न्यायाधीशहरुको सरुवा निकालेको छ ।

जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी