सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ? « Khabarhub

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

विद्यालय फर्किने प्रतीक्षामा बालबालिका



काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट औपचारिक रूपमा सुरु भइसकेको छ । २६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले पठनपाठन भने २१ गतेदेखि तोकेको थियो । यद्यपि, धेरै स्थानीय तहले यसअघि नै विद्यालय सञ्चालन गरिसकेका छन् । संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ ।

सोमबारदेखि भने सरकारकै निर्णयअनुसार देशभरका विद्यालयमा नियमित पठनपाठन सुरु हुँदैछ । तर, सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानका कारण विस्थापित भएका धेरै बालबालिका भने विद्यालय जानबाट वञ्चित भएका छन् ।

पछिल्ला आठ दिनदेखि सरकारले काठमाडौँ उपत्यकाका जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान सञ्चालन गरिरहेको छ । डोजर चलाएर बस्ती खाली गराइएपछि त्यहाँ बसोबास गर्ने परिवार अहिले विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिन बाध्य छन् । यसको प्रत्यक्ष असर बालबालिका, वृद्धवृद्धा र बिरामीमाथि परेको छ ।

कीर्तिपुरस्थित राधास्वामी सत्संगमा सञ्चालित होल्डिङ सेन्टरमा रहेका बालबालिकाको मनमा विद्यालय, किताब र भविष्यबारे अनेक प्रश्न भेटिए । कक्षा ६ मा अध्ययनरत एक बालकले नयाँ शैक्षिक सत्र सुरु भइसके पनि आफ्नो पढाइको अवस्था अन्योलमै रहेको सुनाए । ‘मैले मेरो रिजल्ट पनि थाहा पाएको छैन, पास भएँ कि के भयो,’ उनले थपे, अब त पढ्ने कि के गर्ने थाहा छैन ।

सेल्टरमा रहेका उनलाई साथीहरुले नयाँ पुस्तक लिन रहर रहेको सुनाए । ‘नयाँ किताब लिन मन लागेको छ, पाइने हो कि होइन कुन्नी,’ उनले शंका व्यक्त गरे ।

उनीहरूलाई वैशाख १२ गते थापाथली बस्तीबाट सरकारले त्यहाँ सारेको हो । उक्त बस्तीमा करिब १४५ परिवार बसोबाँस गर्दै आएका थिए । उनीहरु मध्ये केही होटलमा बसेका छन भने केहीलाई सत्संगमा ल्याइएको हो ।

ललितपुरस्थित प्रगति शिक्षा सदन माध्यमिक विद्यालयमा उनीसँगै उनका दाजु पनि कक्षा ६ मा अध्ययनरत छन् । दाजुलाई पनि विद्यालय कहिले र कसरी जाने भन्नेबारे स्पष्ट जानकारी छैन ।

‘मलाई त स्कूल जान मन लागेको छ । हामी स्कूल जाने भनेर यहाँ कसैले केही भनेको थाहा छैन,’ उनले बताए । उनको परिवारमा छ जना सदस्य छन् ।

‘ममी घरमै बस्नुहुन्छ, काम गर्नुहुन्न । बाबाले लेबरको काम गर्नुहुन्थ्यो,’ उनले भने । तर, बस्ती हटाउने अभियानपछि उनका बाबा पनि काममा जान सकेका छैनन् ।
होल्डिङ सेन्टरमा बसाइ त्यति असहज नलागेको बताउँदै उनले बालसुलभ चाहना पनि राखे । ‘खेल्नलाई फुटबल पाइएको छ । अब ब्याडमिन्टन पनि ल्याइदिनु न,’ उनले अनुरोध गरे ।

त्यहीँ भेटिएका अर्का बालक सोनु तामाङको कथा अझ मार्मिक छ । पारिवारिक कलहका का रण उनको बाल्यकाल नै तनावमा बित्यो । त्यसैले पढाइमा निरन्तरता दिन नसकेको उनी बताउँछन् ।

‘म ८ मा हुनुपर्ने, ५ कक्षामा छु,’ उनले संकोचपूर्वक भने । किन उमेर अनुसार कक्षामा पुग्न नसकेको भनेर प्रश्न गर्दा उनले भने, ‘स्कूल चेन्ज गरी गरी लेट भयो । लकडाउनले गर्दा पनि ढिला भएको हो,’ उनले सुनाए ।

तर अहिले उनको सबैभन्दा ठूलो चिन्ता फेरि पढाइ छुट्छ कि भन्नेमा छ । ‘अब पढ्न पाएन भने फेरि ढिला हुन्छ भन्ने पिर लागेको छ,’ उनले लामो सुस्केरासहित भने ।

सोनु थापाथली बस्तीमा आमा बाबुसँग बस्दै आएका थिए । आमा अहिले उनीसँग छैनन् । ‘ममी, बाबा र म बसेको हो । झगडा परेर ममी जानुभयो । बानेश्वरमा बस्नुहुन्छ, उनले भने,’ सुरुमा त मलाई पनि लग्नुभएको थियो । फेरि थापाथलीमै छोडिदिनुभयो ।’

अब आमाले उनलाई आफूसँगै नराख्ने बताउँदा उनको पीडा झन् गहिरो सुनिन्थ्यो । ‘आमाले चैतमा थापाथलीमै ल्याएर छोडिदिनु भयो । अहिले यहाँ बाबा र म मात्रै छौँ,’ उनले सुनाए ।

अर्का बालक भने होल्डिङ सेन्टरमा बसे पनि थापाथली बस्तीकै न्यास्रो लागेको सुनाउँछन् । ‘डिब्बाको खाना हुँदा त पुगेको थिएन, अहिले त यहीँ थालमा थपेर खान पाइएको छ । मिठो छ । खेल्नलाई बल दिनुभएको छ । मलाई त उतै रमाइलो लाग्थ्यो, जान पाइँदैन होला, घर पनि भत्काइसक्यो,’ उनले भने ।

उनका अनुसार उनीसहित सात जनाको परिवार थापाथली बस्तीमा बस्दै आएको थियो । पठनपाठनबारे सोध्दा भने उनले उल्टै प्रश्न गरे,‘ घर नै भत्काइसक्यो, कसरी जानु ?,’ ।

अनामनगरमा भेटिएका आदित्य श्रेष्ठले भने हामीमार्फत प्रधानमन्त्रीलाई नै प्रश्न सोधे । ‘बालेन अब त खुसी भयो होला नि ?,’।

त्यस प्रश्नभित्र विस्थापनको पीडा आक्रोशमार्फत स्पष्ट झल्किन्थ्यो । उनलाई सबैभन्दा बढी पीडा त साथीसँग छुट्नु थियो ।

‘यहाँ मेरा २०–२५ जना साथी थिए । अब उनीहरू टाढा भए,’ उनले भने । आदित्यको परिवार अनामनगर, धोबीखोला किनारको सार्वजनिक जग्गामा बनाइएको टहरामा आठ वर्षदेखि बस्दै आएको थियो ।

‘बाबा र दिदी दुबईमा हुनुहुन्छ । मम्मीले पनि न्यू प्लाजामा काम गर्नुहुन्छ । हामी, ठुलोम्मी सबै यहाँ बस्थ्यौँ,’ उनले सुनाए ।

अहिले भने उनीहरू नजिकै डेरा खोजेर सरेका छन् । आदित्य मध्यबानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् ।

थापाथली, मनोहरा र बल्खुका खोला किनारका सार्वजनिक जग्गामा सञ्चालित विद्यालयहरू पनि हटाइएको छ । यसले ती बस्तीका बालबालिकामात्र होइन, आसपासका क्षेत्रबाट ती विद्यालयमा अध्ययन गर्न जाने अन्य विद्यार्थीसमेत प्रभावित भएका छन्।


यसैबीच, विस्थापित बालबालिकाको शिक्षालाई निरन्तरता दिन पहल सुरु भएको छ । आइतबार राधास्वामी सत्संग व्यास आश्रममा सञ्चालित होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई संस्थागत विद्यालयमा आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था गर्ने विषयमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी विद्यालयका प्रतिनिधिहरूसँग छलफल गरेकी छन् ।

राष्ट्रियसभा गृहमा भएको छलफलमा प्याब्सन र एनप्यासनका केन्द्रीय, जिल्ला तथा महानगरस्तरीय पदाधिकारी सहभागी थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ९ : ५४ बजे

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट