काठमाडौं– नेपाली कांग्रेसका सांसद सन्दीप रानाले महत्वकांक्षी बजेटले जनतामा निराशा बढाउने जोखिम रहेको बताएका छन् । इन्स्टिच्युट अफ स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले बुधबार राजधानीको दरबारमार्गमा आयोजना गरेको आगामी आर्थिक वर्षको बजेट अन्तक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले बहुमतको सरकार र अर्थशास्त्रीको छवि भएका अर्थमन्त्रीप्रति नागरिकले ठूलो अपेक्षा राखेकोमा बजेटले आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट आधार दिन नसकेको टिप्पणी गरे । ‘आयात र निर्यातको सन्तुलन मिलाउन तथा उत्पादन र रोजगारी बढाउन सरकारले विशेष ध्यान दिनुपर्थ्यो, तर बजेटको आकार र उपलब्ध स्रोतबीच ठूलो अन्तर देखिन्छ,’ उनले भने ।
सांसद रानाले बजेटलाई आफ्नो बाल्यकालको अनुभवसँग तुलना गर्दै सरकारले दक्षिणा आउने भरमा उधारो खाएजस्तै स्रोतविहीन बजेट ल्याएको टिप्पणी समेत गरे । ‘म गाउँमा हुर्किएको मान्छे, खाजाको लागि घरबाट रेगुलर पैसा पाइन्नथ्यो । केही साथीले स्कूलमा बर्खे बिदाअघि खानेकुरा बेच्न ल्याउँदा दशैँमा पाएको दक्षिणाबाट पैसा तिर्छु भनेर खाइन्थ्यो । दक्षिणा पाइएन भने तिर्न अफ्ठ्यारो हुन्थ्यो । त्यसले मित्रतामा पनि कहिलेकाहीँ समस्या पार्दथ्यो,’ उनले भने ।
स्रोत पक्का नभएको बजेट ल्याउँदा जनतामा आशा जगाउने तर नतिजा नआउँदा पुनः निराशा छाउने अवस्था नहोस् भन्दै उनले सरकारलाको ध्यानाकर्षण समेत गराए । रानाले बजेटबारे सरकारसँग पटक–पटक छलफल र सुझाव दिने प्रयास भए पनि सुनुवाइ नभएको गुनासो गरे । कांग्रेसले सकारात्मक काममा सरकारलाई साथ दिने तर देशको हितविपरीत निर्णय भए खबरदारी गर्न नछोड्ने उनले बताए ।
संसद् अवरुद्ध भएको प्रसंग उल्लेख गर्दै उनले सभामुखसँग सदन सञ्चालनको वातावरण बनाउन आग्रह गरे। ‘सम्माननीय सभामुखज्यूले सदन सुचारु गरिदिनुभयो भने देशहितका विषयमा छलफल गरेर बजेट पारित गर्न हामीले पनि चाहेका छौँ,’उनले भने ।













प्रतिक्रिया