पहिलो महाधिवेशनअघि नै रास्वपामा गुटबन्दी « Khabarhub

पहिलो महाधिवेशनअघि नै रास्वपामा गुटबन्दी

नेताहरू भन्छन्, ‘सभापति र वरिष्ठ नेतामा तलमाथि हुँदैन’



काठमाडौं- दुई सातापछि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनलाई लिएर नेता-कार्यकर्ता उत्साहित छन् । पार्टी स्थापनाको चार वर्ष पूरा भएको अवसरमा असार ७ गते महाधिवेशन गर्न लागेको हो । रास्वपाको स्थापना २०७९ को असार ७ गते भएको थियो ।

पहिलो महाधिवेशनले पार्टीलाई एकताबद्ध, दृढ, थप ऊर्जावान र विचारमा स्पष्ट बनाउने महामन्त्री कवीन्द्र बुर्लाकोटी बताउँछन् । ऐतिहासिक पहिलो महाधिवेशनलाई लिएर पार्टीका नेताहरु उत्साहित रहेको बुर्लाकोटीले खबरहबसँगको कुराकानीमा जानकारी दिए ।

महाधिवेशनले पार्टीलाई नयाँ इतिहासतर्फ लैजाने र गर्विलो सन्देश दिने उनले बताए । महाधिवेशन नजिकिँदै गर्दा अब कसरी नेतृत्व चयन हुन्छ ? पदाधिकारी र केन्द्रीय सदस्यमा को-को समेटिन्छन् भन्ने चासो पनि बढ्न थालेको छ ।

महाधिवेशनअघि पार्टीले विधान संशोधनको जिम्मा सहमहामन्त्री विपिन आचार्यलाई दिएको छ । यद्यपि विधानमा के के संशोधन हुँदैछ भन्नेचाहिँ स्पष्ट छैन । संशोधित विधान आएपछि पार्टीको महाधिवेशनबारे थप कुराहरू क्लियर हुँदै जानेछ । सभापति रवि लामिछानेको भारत भ्रमण सकिएलगत्तै संशोधित विधान सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

भारत भ्रमण पूरा गरी रास्वपा प्रतिनिधिमण्डल शुक्रबार स्वदेश फर्किँदैछ । भारतमा सत्ता सञ्चालन गरिरहेको भारतीय जनता पार्टी भाजपाको सांगठनिक संरचनाको अनुभव समेटेर रास्वपाले विधानलाई मजबुत बनाउने चर्चा छ । यसैकारण पनि विधानलाई बलियो र अन्तर्राष्ट्रिय अभ्यास अनुरुप बनाउन विपिनलाई पनि रविले भारत भ्रमणमा लगेको धेरै नेताहरूको विश्लेषण छ ।

पार्टीको विधान मस्यौदा सार्वजनिक नभइसकेकाले कति सदस्यले महाधिवेशन प्रतिनिधि भएर उपस्थित हुन्छन् भन्ने विषय अहिलेसम्म यकिन छैन । तर कोषाध्यक्ष लिमा अधिकारी २३ या २४ सदस्यहरु महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी हुने आँकलन गर्छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार महाधिवेशन प्रतिनिधिले सुरुमा केन्द्रीय कमिटी र केन्द्रीय कमिटीमा सदस्यले सचिवालय चयन गर्नेछन् ।

आचार्यसँगै विधान संशोधन कार्यदलमा काम गरिरहेका एक नेताका अनुसार यो विधानमा धेरै तलमाथि हुने सम्भावना छैन । विधानमा पार्टीको सचिवालय टिमले कोषाध्यक्ष र सहकोषाध्यक्ष छनोट गर्नसक्ने पनि व्यवस्था छ । त्यो व्यवस्था पनि यताउता हुने सम्भावना कम रहेको ती सदस्यको भनाइ छ ।

केन्द्रीय कमिटीमा अनगिन्ती आकांक्षी

पहिलो महाधिवेशन मर्यादित, सभ्य र भव्य रुपमा सम्पन्न हुनेमा नेताहरु ढुक्क छन् । तर पार्टीको केन्द्रीय सदस्यका लागि करिब चार-पाँच सय आकांक्षी हुँदा केन्द्रीय सदस्यको भने निर्वाचन हुने अवस्था रहेको पार्टीका सचिवालय सदस्यहरु बताउँछन् । महामन्त्री बुर्लाकोटी पनि स्वाभाविक रुपमा ठूलो पार्टी भएकाले आकांक्षीहरू धेरै हुने बताउँछन् ।

‘पार्टीको पहिलो महाधिवेशन हो । आकांक्षीहरू त भइ नै हाल्नुहुन्छ । त्यसलाई व्यवस्थापन गरेर जान्छौँ । सरकारमा रहेको र १८२ सिट प्राप्त गरेको दलमा पक्कै पनि आकांक्षीहरु बढी नै हुनुहुन्छ ।’ बुर्लाकोटी भन्छन्, ‘आकांक्षी बढ्नुभयो भन्दैमा हामीले भद्दा केन्द्रीय कमिटी पनि बनाउँदैनौँ । विधान मस्यौदामा साथीहरुले काम गरिरहनुभएको छ ।’

हालको विधानलाई हेर्ने भने १२९ जना केन्द्रीय कमिटी बन्ने अवस्था देखिन्छ । पार्टी सभापतिले २२ जना थप्न सक्ने प्रावधानका साथै प्रदेशका पार्टी सभापति केन्द्रीय कमिटीमा रहने व्यवस्था छ । पार्टीको शीर्षस्थ स्रोतले दिएको जानकारी अनुसार केन्द्रीय कमिटीलाई भने विधानले थप्न सक्ने देखिन्छ ।

‘केन्द्रीय कमिटीको सङ्ख्या थपिए पनि २०० बढी नकटाउने पार्टीको सोच छ ।’ ती सदस्यले भने, ‘अहिले पार्टीको महाधिवेशनको हल्लाखल्ला सुरु भइसकेकाले करिब ४–५ सय केन्द्रीय कमिटीका लागि आकांक्षी देखिनुहुन्छ ।’

पार्टीबाट निर्वाचित १८२ जना सांसदहरू पनि केन्द्रीय सदस्यका सोझै आकांक्षी हुन् । यस्तै, विभिन्न विभागका अध्यक्ष तथा सभापतिहरू, संसदबाहिरका शीर्ष नेतृत्व, देशभरबाट पार्टीसँग विभिन्न मुद्दा, विषयमा सहकार्य गर्दै आएका नेता र विभिन्न पार्टी छाडेर रास्वपामा समाहित भएका नेताहरूलाई मिलाउनुपर्ने भएकाले केन्द्रीय सदस्यमा ४०० सय बढीले इच्छा जाहेर गरिसकेको स्रोतले जानकारी दियो ।

गुटको खेती कतिको मौलाउला ?

रास्वपामा विभिन्न पार्टी परित्याग गरेर प्रवेश गर्नेको समूह पनि ठूलो छ । विवेकशील साझाबाट आएको समूह, खगेन्द्र सुनार निकट समूह, जेन-जी अभियन्ताको समूह, वरिष्ठ नेता बालेन्द्र शाहको समूह, नागरिक उन्मुक्ति पार्टीको समूह र स्वतन्त्र व्यक्तिहरू अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा आकांक्षी देखिएका छन् । पार्टी नेताहरूले दिएको जानकारी अनुसार विभिन्न समूहहरूलाई मिलाएर नेतृत्व चयन गर्ने तयारी भए पनि केन्द्रीय कमिटीमा भने स्वतन्त्र रुपले छाडिदिने अवस्था छ । केन्द्रीय कमिटीमा विधानले अधिकार दिएका व्यक्तिहरूलाई स्वतन्त्र रूपले लड्न दिने र सचिवालय टिम बनाउँदा भने सर्वसम्मत रुपमा समूह मिलाएर नेतृत्व चयन गर्ने तयारी रहेको बताइन्छ ।

पार्टीका एक शीर्ष नेताले भने, ‘केन्द्रीय कमिटीको निर्वाचनमा स्वतन्त्र हिसाबले विधानले तोकिएको व्यक्तिलाई लड्न दिने र पछि सचिवालयमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन हुने सम्भावना छ । सचिवालयमा पनि सभापति, वरिष्ठ नेता र केही उपसभापति बाहेकका अरु पदहरूमा निर्वाचन हुन सक्छ ।’

गुटगत राजनीति अन्त्य गर्नकै लागि राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्यमा सर्वसम्मत रुपमा विधानले तोकिएका व्यक्तिहरुलाई लड्न दिने तयारी गरेको नेताहरू बताउँछन् । यता पार्टीको अर्को पक्षले दिएको जानकारी अनुसार केन्द्रीय कमिटीमा समूहगत प्रतिस्पर्धा नभएपनि भित्री रूपमा एकले अर्कालाई समर्थन गर्ने स्थिति छ ।

‘सोझै रूपमा लिस्ट बाँडेर यसको यो समूह हो भन्ने अभ्यासलाई निरुत्साहित गर्नेछौँ । भित्री रूपमा कसैले केही गर्‍यो भने हामीले जान्ने कुरा भएन,’ ती नेता भन्छन्, ‘फलानोको यो समूह, फलानोको यो समूह हो भनेर पर्चा बाँड्ने काम हामी गर्दैनौँ । केन्द्रीय समितिको निर्वाचन बिल्कुल स्वतन्त्र ढंगबाट हुन्छ । सचिवालयमा मिलेसम्मको कुराहरू मिलाएर जाने त छँदैछ ।’

केन्द्रीय समितिमा गुटगत राजनीतिको अन्त्य भए सचिवालयमा पनि त्यसले प्रभाव पार्ने नेताहरूको विश्वास छ । तर केन्द्रीय समितिको निर्वाचनमा जितेका नेताहरूले भने यता सचिवालयको नेतृत्व चयन गर्दा विभिन्न पक्षहरूलाई मिलाएर जाने सम्भावना रहेको विवेकशीलबाट रास्वपा प्रवेश गरेका एक नेताले जानकारी दिए ।

सभापति, वरिष्ठ नेता र एक उपसभापति निर्विकल्प हुने दाबी

रास्वपाका महामन्त्रीले केही समयअघि सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशनपछिको नेतृत्व पनि रवि लामिछानेले गर्ने बताएका थिए । उनले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र लामिछानेबीच गहिरो समझदारी भइसकेकाले नेतृत्वका लागि कुनै विकल्प नरहेको दाबी गरे ।

यता पार्टीको वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहको समूह पनि शाहलाई सभापति बनाउने विषयमा अहिलेसम्म खुलेर बोलेको छैन । बालेनले भूपदेव शाह वा अर्को कुनै व्यक्तिलाई सभापतिमा उठाउन सक्छन् भन्ने सूचना आएपनि अहिले त्यस्तो अवस्था नरहेको बालेनका विश्वासपात्रहरू बताउँछन् । ‘प्रधानमन्त्री बालेनले पार्टीको नेतृत्वको विषयमा लोभ गर्नुहुन्न र अरुलाई पनि उहाँले उठाउनुहुन्न । उहाँ पार्टीमा वरिष्ठ नेता नै रहनुहुन्छ । यो कुरामा तलमाथि हुन्छजस्तो लाग्दैन । किनभने हामीहरूबीच गहिरो समझदारी छ,’ ती नेताले भने, ‘उहाँले महामन्त्रीमा भूपदेव शाहलाई पठाउनुभएको छ । उहाँलाई पुनः त्यही पोस्टमा आफैँले उठाउन सक्ने प्रबल सम्भावना छ । अरु एकदुई जना नेतालाई पनि सचिवालयमा व्यवस्थापन गर्नुहोला ।’

विवेकशीलबाट पार्टी प्रवेश गरेको रञ्जु दर्शना र समीक्षा बाँस्कोटा लगायतको टिम पनि सचिवालयमा समेटिने सम्भावना रहेको नेताहरु बताउँछन् । यता खगेन्द्र सुनुवारको समूह र जेन-जी अभियान्ताहरूमध्ये केही नेताहरु पनि सचिवालयमा आउनसक्ने सम्भावना रहेको बताइन्छ । जेन-जीहरू सचिवालयमा आउन नसकेको अवस्थामा केन्द्रीय कमिटीमा भने पक्कै समावेश हुने ती नेताको विश्वास छ ।

महाधिवेशनपछि सभापतिमा रवि नै दोहोरिएको खण्डमा वरिष्ठ नेताको जिम्मेवारी वालेन्द्रले पाउनेछन् । विधानको व्यवस्था अनुसार पार्टीमा तीन जना उपसभापति रहने व्यवस्था छ । त्यस अनुसार एक जना उपसभापति स्वर्णिम वाग्ले नै रहने सम्भावना छ । अर्का उपसभापति डोलप्रसाद अर्याल सभामुख भएकाले वालेन्द्र पक्षले एक उपसभापतिमा पठाउने सम्भावना देखिन्छ ।

बालेनले उपसभापति नपठाएको खण्डमा विवेकशील साझा हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा २०७९ को निर्वाचनमै प्रवेश गरेका विराजभक्त श्रेष्ठको नाम पनि अगाडि देखिन्छ । यस्तै, महिला उपसभापति रहने विधानअनुसार अहिले पार्टी कोषाध्यक्ष लिमा अधिकारीको सम्भावना रहेको स्रोतको दाबी छ ।

स्रोतले दिएको जानकारी अनुसार रवि पक्षले प्रतिभा रावललाई पनि उपसभापति बनाउन खोजेको छ । उनी अहिले पार्टीको सहप्रवक्ता तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा छिन् । हुन त पार्टी सचिवालय सदस्य सोबिता गौतमको पनि उपसभापतिमा नाम उठेको छ । यता पदाधिकारीमा बसुमाया तामाङलाई सहभागी गराएर पदाधिकारी टीम समावेशी बनाइनुपर्ने कतिपयको आवाज छ ।

पार्टीको महामन्त्रीका लागि पनि धेरै जना आकांक्षी छन् । विधानमा पार्टीको महामन्त्री एक जना रहने प्रावधान रहेपनि राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहको टिम मिलेर दुईजना महामन्त्री बनाएका छन् । पार्टी स्थापनाकालदेखि सहमहामन्त्रीको रूपमा काम गरेका कवीन्द्र बुर्लाकोटी महामन्त्री छन् ।

विधानले दुईजना महामन्त्री राख्न चाहेको खण्डमा बालेनले भूपदेवलाई महामन्त्रीको जिम्मेवारीमा कन्फर्म गर्ने नेताहरूको दाबी छ । यता पार्टी सभापति रवि पक्षबाट महामन्त्रीका लागि शिशिर खनाल, मनिष झा, कवीन्द्र बुर्लाकोटी, विपिनकुमार आचार्य, दीपक बोहरा लगायतका नेता देखिन्छन् ।

महामन्त्रीको आकांक्षीमा योभन्दा बढी नेताहरू थपिनसक्ने बताइन्छ । बालेन पक्षबाट दुई महामन्त्री भएमा भूपदेवको पद सुरक्षित रहे पनि रविपक्षका महामन्त्रीको भने पद सुरक्षित देखिँदैन । यता पार्टीको प्रवक्तामा पनि धेरैजना नेताहरूको आकांक्षी छन् । प्रवक्ताका लागि दीपक बोहरा, रविका पुराना सहयोगी प्रमोद न्यौपाने, यज्ञमणि न्यौपाने, डा तोसिमा कार्की, निशा डाँगी लगायतको चर्चा छ ।

अहिले प्रवक्ताको जिम्मेवारीमा मनिष झा छन् । धेरैले मनिषको जिम्मेवारी सभापति लामिछानेले दीपक बोहरालाई दिने समेत बताउँछन् । यता केन्द्रीय सदस्यमा निर्वाचित भएको खण्डमा प्रवक्ताको जिम्मेवारीमा प्रमोद न्यौपानेको नाम पनि अगाडि देखिन्छ ।

नयाँ विधान सार्वजनिक नभएकाले वर्तमान विधान अनुसार एक जना सभापति तीन जना उपसभापतिमध्ये एक जना महिला अनिवार्य, एक महामन्त्री, एक सहमहामन्त्री, एक जना कोषाध्यक्ष, एक जना सहकोषाध्यक्ष र एक जना पार्टी प्रवक्तासहित दुईजना सहप्रवक्ता रहने व्यवस्था छ ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ७ : ५४ बजे

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि