झापाको अर्जुनधारामा धनीपुर्जा वितरणको तयारी « Khabarhub

झापाको अर्जुनधारामा धनीपुर्जा वितरणको तयारी


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिकामा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले सङ्कलन गरेको सात हजार ३०१ दाबीको पहिचान, छानबिन र प्रमाणीकरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

नगरपालिकाका भूमि शाखा प्रमुख चूडामणि निरौलाका अनुसार ११ वटै वडाले पहिचान र प्रमाणीकरणका लागि सातदिने सूचना प्रकाशन गरिसकेका छन् । 

‘नयाँ सूचीकरणअनुसार अर्जुनधारामा ७२९ जना भूमिहीन सुकुम्वासी, २१२ जना भूमिहीन दलित र छ हजार ३६० जना अव्यवस्थित बसोबासी रहेका छन्’, उनले भने, ‘हाल प्राप्त निवेदनका आधारमा पहिचान, प्रमाणीकरण र दाबीविरोधको प्रक्रिया अघि बढिरहेको छ ।’

उनका अनुसार सरकारले भूमि समस्या समाधान समिति गठन गरेपछि जेठ २० गतेपछि लगत सङ्कलन तथा दाबी विरोधको सातदिने सूचना जारी गर्दै कामलाई नयाँ चरणमा अघि बढाइएको हो । 

‘अव्यवस्थित बसोबासीले आफ्नो जग्गाको विवरणसहित सेतो फारम र भूमिहीन सुकुम्वासीले रातो फारम भरेर बुझाएका छन्’, निरौलाले भने, ‘तोकिएको मापदण्डका आधारमा वास्तविक लाभग्राही पहिचान गरिनेछ ।’

प्रमाणीकरणपछि वडास्तरीय सहजीकरण समितिले राजनीतिक दलका प्रतिनिधिसहित दाबी विरोधमाथि छलफल गर्नेछ । त्यसपछि वडा हुँदै नगरपालिकामा फाइल पठाइने र नगर कार्यपालिकाको निर्णयपछि जिल्ला भूमि समस्या समाधान समितिमा पठाइने व्यवस्था रहेको निरौलाले बताए । 

उनले भने, ‘जिल्ला भूमि समस्या समाधान समितिमा पठाइएका फाइलको अन्तिम प्रक्रियापछि मात्रै जग्गाधनी प्रमाण पुर्जा वितरण हुन्छ ।’

नगरपालिकाले केही परिवारलाई भने यसअघि नै पुर्जा वितरण गरिसकेको छ । वडा नं ११ मा गत असारमा १४४ जना र यही साउन ७ गते थप १७ जना गरी १६१ जना अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरिएको छ । भूमि शाखाका अनुसार वडा नं १ का करिब १२५ परिवार र वडा नं २ का करिब ४२ परिवारको पुर्जा वितरण प्रक्रिया अन्तिम अवस्थामा पुगेको छ ।

तर केही वडामा अभिलेख व्यवस्थापनको समस्या देखिएको छ । वडा नं ७ का वडाध्यक्ष गोविन्द खड्काका अनुसार करिब ४५ जना अव्यवस्थित बसोबासीको प्रमाणीकरण भइसकेर राजस्वसमेत बुझाइसकेको अवस्थामा नगरपालिकाको भवनमा गत भदौको जेन्जी आन्दोलनमा भएको आगलागीका कारण कागजात नष्ट भएपछि पुनः प्रक्रिया मिलाउनुपर्ने अवस्था आएको छ ।

नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले भूमि समस्या समाधानलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए । “कार्यालय समय बिहान ९ बजे भए पनि हामीले बिहान ७ बजेदेखि नै सेवा प्रवाह गरिरहेका छौँ’, उनले भने, ‘कर्मचारीहरूले अतिरिक्त समय र बिदाको दिनसमेत काम गरिरहनुभएको छ ।’

जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिव तथा नापी कार्यालय भद्रपुरका प्रमुख शिवप्रसाद लम्सालका अनुसार झापाका १५ वटै स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन, छानबिन, प्रमाणीकरण तथा पुर्जा वितरण प्रक्रिया अघि बढिरहेको छ ।
 

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १२ : ४२ बजे

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले

हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे

उद्योगमन्त्री यादवको निर्देशनपछि एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन

यमननजिकै आक्रमणपछि लाल सागरमा डुब्यो भारतीय जहाज

साना- इरान-अमेरिका द्वन्द्वको असर लाल सागरमा पनि देखिएको छ। स्ट्रेट