एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका कारण सर्वसाधारणको ज्यान जाने जोखिम अझै कायमै रहेको भन्दै संयुक्त राष्ट्रसंघले तत्काल जोखिम न्यूनीकरणका उपाय अपनाउन आग्रह गरेको छ।
संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार विस्फोटक पदार्थको जोखिमले मानिसहरूको जीवन र सुरक्षामा मात्र नभई उनीहरूको आवतजावत, रोजगारी तथा परिवारको जीविकोपार्जनमा समेत प्रत्यक्ष असर पारिरहेको छ।
कार्यालयका अनुसार पछिल्लो एक सातामा सिरियाका छ वटा प्रान्तमा विस्फोटक पदार्थसँग सम्बन्धित १२ वटा घटना भएका छन्। ती घटनामा नौ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये छ जना बालबालिका रहेको जनाइएको छ।
उत्तरी सिरियाको रक्का प्रान्तमा विस्फोटक पदार्थसँग सम्बन्धित सबैभन्दा धेरै घटना भएका छन्। युद्ध समाप्त भएको लामो समय बितिसक्दा पनि विभिन्न क्षेत्रमा छाडिएका विस्फोटक अवशेषले सर्वसाधारणका लागि गम्भीर खतरा सिर्जना गरिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
सन् २०२४ डिसेम्बर ८ देखि हालसम्म सिरियाभर विस्फोटक पदार्थसँग सम्बन्धित एक हजार चार सयभन्दा बढी घटना अभिलेख गरिएको छ। ती घटनाबाट करिब दुई हजार पाँच सय सर्वसाधारण प्रभावित भएका छन् भने ८८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको तथ्याङ्क छ।
संयुक्त राष्ट्रसंघका अनुसार दुई तिहाइभन्दा बढी विस्फोटक पदार्थसम्बन्धी घटना कृषि तथा पशु चराउने क्षेत्रमा भएका छन्। यसका कारण किसान, पशुपालक तथा ग्रामीण क्षेत्रमा आवतजावत गर्ने मानिसहरू विशेष जोखिममा परेका छन्।
जोखिम न्यूनीकरणका लागि सिरियामा ठूलो स्तरमा बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थ हटाउने अभियान तत्काल सञ्चालन गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ। साथै, सर्वसाधारणलाई विस्फोटक पदार्थको जोखिमबारे सचेत गराउने, प्रभावित तथा घाइतेलाई आवश्यक सहायता उपलब्ध गराउने र जोखिमयुक्त क्षेत्र पहिचान गरी सफा गर्ने कार्यलाई प्राथमिकता दिनुपर्नेमा मानवीय क्षेत्रमा कार्यरत संस्थाहरूले जोड दिएका छन्।
यस्ता प्रयासले विस्थापित तथा प्रभावित सर्वसाधारणलाई सुरक्षित रूपमा घर फर्किन र विस्फोटक पदार्थको जोखिमबाट मुक्त हुँदै आफ्नो दैनिक जीवन पुनः सुरु गर्न सहयोग पुग्ने संयुक्त राष्ट्रसंघले जनाएको छ।












प्रतिक्रिया