वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन्। घटनामा सात जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।
बोलिभियाका रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोका अनुसार राजधानी ला पाजबाट करिब ३० किलोमिटर दक्षिणपश्चिममा रहेको वियाचाको सैन्य परिसरमा स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब २ः३० बजे विस्फोट भएको हो। उक्त परिसरमा पाइरोटेक्निक सामग्री भण्डारण गरिएको थियो।
जस्टिनियानोले लगातार दुईवटा विस्फोट भएको पुष्टि गर्दै पहिलो विस्फोट भण्डारण गरिएको पाइरोटेक्निक सामग्रीका कारण भएको हुन सक्ने बताएका छन्। दोस्रो विस्फोटको कारण र त्यसमा प्रयोग भएको सामग्रीबारे भने अनुसन्धान भइरहेको उनले जानकारी दिए।
रक्षा मन्त्रालयका अनुसार मृतक र बेपत्ता हुनेहरू सैन्य परिसरमा कार्यरत सैनिकहरू हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रमा लगिएको जनाइएको छ।
विस्फोटपछि स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका दृश्यमा सैन्य परिसरबाट बाक्लो कालो धुवाँ आकाशतर्फ उठिरहेको देखिएको थियो। विस्फोटको प्रभाव आसपासका घरहरूमा समेत परेको छ। केही घरका झ्याल फुटेका, छाना क्षतिग्रस्त भएका तथा विभिन्न स्थानमा भग्नावशेष छरिएको जनाइएको छ।
प्रहरीको प्रारम्भिक विवरणमा कम्तीमा ५९ जना घाइते भएको बताइए पनि पछिल्लो सरकारी विवरणअनुसार घाइतेको सङ्ख्या ८१ पुगेको हो। घाइतेमध्ये ५२ जना सर्वसाधारण रहेको प्रारम्भिक प्रहरी प्रतिवेदनमा उल्लेख थियो।
विस्फोटपछि अग्निनियन्त्रक तथा उद्धार टोली सैन्य परिसरमा पुगेका थिए। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। सुरक्षाका लागि त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्नुका साथै उद्धार तथा खोजी कार्यमा दर्जनौँ प्रहरी अधिकारी परिचालन गरिएको एएफपीले जनाएको छ।
बोलिभियाका राष्ट्रपति रोड्रिगो पाजले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार, घाइते तथा प्रभावितप्रति समवेदना प्रकट गरेका छन्। उनले घटनाको पूर्ण, प्राविधिक र पारदर्शी अनुसन्धान गर्न निर्देशन दिए ।
‘हामीले घटनाको कारण स्पष्ट रूपमा स्थापित गर्नुपर्छ, सुरक्षा प्रोटोकल पालना भए–नभएको पुष्टि गर्नुपर्छ र आवश्यक परे जिम्मेवारी निर्धारण गर्नुपर्छ,’ राष्ट्रपति पाजले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन् ।
यसैबीच, वियाचा नगरका अधिकारीहरूले घटनाप्रति शोक व्यक्त गर्दै तीन दिनको शोक घोषणा गरेका छन्।
रक्षा मन्त्रालयले विस्फोटमा सैन्य हतियार भने विस्फोट नभएको स्पष्ट पारेको छ। रक्षामन्त्री जस्टिनियानोले अहिले सरकारको प्राथमिकता घाइतेहरूको उपचार, प्रभावित परिवारलाई सहयोग तथा बेपत्ताहरूको खोजी र पहिचान गर्नु रहेको बताएका छन् ।












प्रतिक्रिया