काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले सांसद आशा लामासहित पाँच जना प्रदेशसभा सदस्यलाई पार्टीको ह्विप उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधेको छ।
राप्रपा बागमती प्रदेश संसदीय दलले प्रदेशसभा बैठकमा अनुपस्थित भएर मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको सरकारलाई विश्वासको मत दिने पार्टीको निर्णय र ह्विप उल्लंघन गरेको भन्दै पाँच सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
राप्रपाको बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागी हुने र नेकपा एमालेका तर्फबाट प्रस्तावित मुख्यमन्त्रीलाई समर्थन गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार एमाले, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाको संयुक्त सरकार गठन भएको र किरण थापा मगर मुख्यमन्त्री नियुक्त भएका थिए। राप्रपाका तर्फबाट गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति र राजु विष्ट प्रदेश सरकारमा सहभागी भएका छन्।
मुख्यमन्त्री थापा नेतृत्वको सरकारले भदौ ८ गते प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको थियो। त्यसअघि भदौ ७ गते बसेको राप्रपा संसदीय दलको बैठकले सबै सांसदलाई प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन तथा मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो।
संसदीय दलका प्रमुख सचेतकले जारी गरेको ह्विपविपरीत सांसदहरू भदौ ९ गते प्रदेशसभा बैठकमा अनुपस्थित भएको आरोप लगाइएको छ। संसदीय दलको भदौ १७ गते बसेको बैठकले ह्विप उल्लंघन गर्ने सांसदहरूलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
राप्रपाले पार्टी विधान तथा पार्टी संसदीय दलको विधान, २०७९ अनुसार कारबाही किन नगर्ने हो भन्ने विषयमा २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएको छ। तोकिएको समयभित्र स्पष्टीकरण पेश नगरे आवश्यक कारबाही अघि बढाइने पत्रमा उल्लेख छ।












प्रतिक्रिया