काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक पहल तीव्र पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई विशेष दूत स्टिभ विट्कफ र जारेड कुश्नर शनिबार मस्को पुगेका छन्।
अमेरिकी दूतहरू विट्कफ र कुश्नरले रूस–युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे रूसी अधिकारीहरूसँग छलफल गर्ने बताइएको छ। मस्कोमा वार्ता सम्पन्न गरेपछि उनीहरू युक्रेनको राजधानी किएभ जाने अपेक्षा गरिएको छ।
दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा घातक द्वन्द्वमध्ये एक मानिएको रूस–युक्रेन युद्धमा देखिएको कूटनीतिक गतिरोध अन्त्य गर्न अमेरिकाले पछिल्लो प्रयासस्वरूप दूतहरूलाई मस्को पठाएको हो। विट्कफ र कुश्नरको यो भ्रमणलाई युद्ध अन्त्यका लागि नयाँ वार्ता अघि बढाउने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने अमेरिकी दूतहरूको सम्भावित किएभ भ्रमणलाई लक्षित गर्दै रूसले राजधानीका दुई विमानस्थलमा रातभर आक्रमण गरेको आरोप लगाउनुभएको छ। उहाँले निप्रो क्षेत्रमा नागरिक लक्ष्यमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको पनि बताउनुभएको छ।
जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा विमानस्थलमाथि भएका रूसी आक्रमण अमेरिकी पक्षले युक्रेन भ्रमणका लागि विमान प्रयोग गर्ने सम्भावनाबारे छलफल तथा तयारी गरिरहेका समयमा भएको प्रतिक्रिया भएको बताउनुभएको छ। युक्रेनी पक्षबाट कूटनीतिक प्रयासमा कुनै अवरोध वा खतरा नहुने उहाँले बताउनुभएको छ।
अमेरिकी दूतहरूको भ्रमणअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने किएभमा आक्रमण तीन दिनका लागि रोक्न आदेश दिनुभएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी राष्ट्रपतिले मध्यरातदेखि तीन दिनसम्म किएभमा आक्रमण नगर्न आदेश दिएको बताउनुभयो।
पेस्कोभका अनुसार अमेरिकी वार्ताकारहरूले किएभसँग सम्बन्धित वार्ताको तयारी तथा सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको हो। अमेरिकी दूतहरू मस्कोबाट किएभ जाने तयारीमा रहेको बताइएको छ।
एक वरिष्ठ युक्रेनी अधिकारीले अमेरिकी दूतहरू आइतबार किएभ पुग्ने अपेक्षा गरिएको बताएका छन्। अमेरिकी सञ्चारमाध्यम एक्सियोसले भने विट्कफ र कुश्नरले शनिबार रूसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने जनाएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना दूतहरूले युद्ध अन्त्यका लागि शान्तिको सम्भावना परीक्षण गर्ने बताउनुभएको छ। उहाँले विट्कफ र कुश्नरलाई ‘दुई उत्कृष्ट वार्ताकार’को संज्ञा दिँदै उनीहरूले यसअघि पनि राम्रो काम गरेको बताउनुभयो।
ट्रम्पले दूतहरूलाई युद्ध अन्त्य गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा अध्ययन गर्न पठाइएको बताउँदै उनीहरूसँग युद्ध अन्त्य गर्ने प्रस्ताव रहेको पनि बताउनुभयो।
विट्कफ र कुश्नर यसअघि गाजा तथा इरानमा युद्धविरामसम्बन्धी वार्तामा पनि संलग्न हुँदै आएका छन्। उनीहरू यसअघि भएका कूटनीतिक प्रयासका क्रममा पटकपटक मस्को पुगेका थिए।
यसैबीच, रूस र युक्रेनले पछिल्ला दिनमा लामो दूरीका हवाई तथा क्षेप्यास्त्र आक्रमण तीव्र बनाएका छन्। युद्ध सुरु भएयताकै उच्च स्तरमा नागरिक हताहत बढिरहेको बताइएको छ।
वासिङटनका अन्य अन्तर्राष्ट्रिय कूटनीतिक प्राथमिकता तथा इरानसँग सम्बन्धित युद्धका कारण रूस–युक्रेन शान्ति प्रयास प्रभावित हुँदै आएको अवस्थामा अमेरिकी दूतहरूको पछिल्लो मस्को भ्रमणलाई वार्तालाई पुनः गति दिने प्रयासका रूपमा हेरिएको छ।
अब विट्कफ र कुश्नरले मस्को तथा किएभमा गर्ने वार्ताले रूस–युक्रेन युद्ध अन्त्यका लागि नयाँ सहमतिको आधार तयार गर्न सक्छ वा सक्दैन भन्नेमा अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ।












प्रतिक्रिया