काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता भएपछि त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको आशंका गरिएको छ।
बरमुडाबाट बोस्टनतर्फ उडेको विमान शनिबार बेपत्ता भएको थियो। विमान सञ्चालन गर्ने कम्पनी ल्याटिट्युड एयर एम्बुलेन्सले आइतबार विमानमा रहेका आफ्ना चार कर्मचारी, एक बिरामी र बिरामीका परिवारका एक सदस्यको मृत्यु भएको आशंका गरिएको जनाएको छ।
अमेरिकी तटरक्षक बलले आइतबार साँझ म्यासाचुसेट्सको नान्टकेट द्वीपको तटमा विमानको खोजी अभियान अन्त्य गरेको छ। त्यसअघि शनिबार साँझ समुद्रमा विमानको भग्नावशेष फेला परेको थियो। उक्त भग्नावशेष बेपत्ता विमानकै भएको पहिचान गरिएको अधिकारीहरूले बताएका छन्।
फ्लाइट ट्र्याकिङ सेवा फ्लाइटअवेयरका अनुसार विमानले शुक्रबार राति स्थानीय समयअनुसार ११ बजेर ४० मिनेटमा बरमुडास्थित एलएफ वेड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो। विमान शनिबार बिहान करिब १ः३० बजे बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका थियो।
तर शनिबार बिहान करिब १ बजे अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) को विमानसँग सम्पर्क विच्छेद भएको थियो।
विमानमा सवार व्यक्तिहरूको खोजीका लागि अमेरिकी तटरक्षक बलले समुद्री क्षेत्रमा उद्धार तथा खोजी अभियान सञ्चालन गरेको थियो। भग्नावशेष फेला परेपछि पनि सम्भावित जीवित यात्रुको खोजी जारी राखिएको थियो। अन्ततः सबै यात्रुको जीवित रहने सम्भावना नरहेको निष्कर्षसहित अभियान अन्त्य गरिएको हो।
विमान दुर्घटनाको कारणबारे भने तत्काल स्पष्ट जानकारी सार्वजनिक भएको छैन।














प्रतिक्रिया