काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र कटानका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडक आगामी ६ दिनभित्र पूर्ण रूपमा सुचारु हुने अनुमान गरिएको छ ।
सडक विभागका अनुसार हाल विभिन्न खण्डमा पहिरो पन्छाउने, कटान मर्मत गर्ने तथा नयाँ ट्रयाक खोल्ने कार्य निरन्तर भइरहेको छ ।
सडकको वर्तमान स्थिति अनुसार घासा-कोरला खण्डमा पहिरो हटाई यातायात दुईतर्फी रूपमा नै सञ्चालन भइरहेको छ । त्यसैगरी तातोपानी क्षेत्रमा नदीले काटेको सडकमा ब्याककटिङ तथा टेवा पर्खाल निर्माण गरी यातायात पुनः सुचारु गराइएको छ । राहुघाटदेखि सिरुवारीसम्म भने एकतर्फी सडक खुलेको छ र पोखरेबगर नजिकैको रातोपानी खण्डमा पनि नयाँ ट्रयाक खुलाइएको विभागले जनाएको छ ।
अर्कोतर्फ, केही खण्डहरूमा भने पहिरो र कटानका कारण अत्यधिक क्षति पुगेको छ। रातोपानीका दुई ठाउँमा र भीरकाटे नजिक मानिस समेत पैदल हिँड्न नमिल्ने गरी सडक टुटेको छ । यस्तै, बेगखोला नजिकै करिब १०० मिटर सडक पूर्ण रूपमा काटेको छ भने बैसेरीको पुरानै पहिरो गएको स्थानमा अझ ठूलो पहिरो खसेको विभागले जनाएको छ ।
विभागका अनुसार मर्मत कार्यअन्तर्गत हाल पोखरेबजार पुलको एप्रोच निर्माण भइरहेको छ भने कुनेटोमा ब्याकफिलिङको काम जारी छ । सोमबार बिहानदेखि मुख्य कटान तथा पहिरो गएको अति संवेदनशील क्षेत्र (क्रिटिकल सेक्सन) मा मर्मतको काम सुरु गरिनेछ ।
उक्त मुख्य खण्डको काम सम्पन्न हुन करिब दुई दिन लाग्ने अनुमान गरिएको छ र सबै कार्य सम्पन्न भई समग्रमा अब ६ दिनभित्र बेनी-जोमसोम बाटो पूर्ण रूपमा सुचारु हुने विभागको भनाइ छ ।














प्रतिक्रिया