‘पहिला हिमाल देख्दा गौरव लाग्थ्यो, आजकल खतरा महसुस हुन्छ’ « Khabarhub

‘पहिला हिमाल देख्दा गौरव लाग्थ्यो, आजकल खतरा महसुस हुन्छ’



मेरो नाम छेतेन ग्याल्पो हो। म रसुवाको स्याफ्रुबेंसीको स्थानीय बासिन्दा हुँ र रसुवा चेम्बर अफ कमर्समा पनि आबद्ध छु । सँगसँगै, नाका क्षेत्रमा व्यापार व्यवसायको काम पनि गर्दै आएको छु । मेरो बाल्यकाल काठमाडौँमै बित्यो र स्नातक तहको अध्ययन सकिएपछि, आफ्नै ठाउँमा केही गर्नुपर्छ र आफ्नै ठाउँ नै सबै कुराले सम्पन्न छ भन्ने सोचेर स्याफ्रुबेसी फर्किएँ । हाम्रो ठाउँ आर्थिक रूपमा र व्यापारिक दृष्टिकोणले निकै सुगम छ, जहाँ बाहिर भौतारिनु पर्दैन, व्यवसाय गर्ने आफ्नै उपयुक्त वातावरण छ ।

हामी त तल्लो तहमा बस्ने, हिमाल नचढेको र हिमाल नजिकै पुगेको पनि नभएको मान्छे हौँ । पहिला-पहिला हिमाल देख्दा अपार खुसी र गर्व लाग्थ्यो, तर अहिले आएर यही हिमाल नै निकै खतरनाक बन्दै गएको महसुस हुन थालेको छ । यस पटकको पहिरोले मेरा परिवारका छ जना सदस्यलाई लग्यो र पाँचवटा घर सखाप पार्‍यो । मेरो आर्थिक र वित्तीय आधार नै त्यहीँ थियो, किनकि हामीले बाहिर अन्यत्र लगानी गरेका थिएनौँ, आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने हाम्रो सोच थियो।

यस घटनाबाट हामीले गम्भीर पाठ सिक्नुपर्ने बेला आएको छ। आज विज्ञान र प्रविधिको युग भनिए पनि, प्रकृतिसँग जोडिएका यी कुराहरूलाई हामीले गम्भीर रूपमा मध्यनजर गर्नै पर्छ। हाम्रो आवाज कति माथिसम्म पुग्छ वा पुग्दैन थाहा छैन, तर यहाँहरूले यत्रो भेला गरेर जुन निचोड निकाल्नुभएको छ, यो आवाजलाई सम्बन्धित ठाउँसम्म पुर्‍याइदिनुहुन आग्रह गर्न चाहन्छु।

हाम्रो स्थानीय समुदायको तल्लो तहको सोचबाट हेर्दा, सरकार होस् वा यो प्रविधि र आधुनिक क्षेत्रसँग जोडिएको संसार, सबैले प्राकृतिक प्रकोप र इको-ब्यालेन्स (पर्यावरण सन्तुलन) लाई उच्च प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ। हिमालको माथिल्लो लेभलमा पछिल्लो १०-१५ वर्षको अन्तरालमा जुन डरलाग्दो विनाशकारी परिवर्तन आएको छ, त्यसको असर माथिदेखि तलसम्म सबैले भोग्नुपरेको छ र ठुलो क्षति भएको छ।

मेरो व्यक्तिगत विचारमा, यसपटक हाइड्रोपावरहरूले पनि यसमा धेरै असर पुर्‍याएको देखिन्छ। हाइड्रोपावरले प्रदूषण घटाउने, आर्थिक स्रोत बढाउने र कम लागतमा ऊर्जा दिने कुरा आफ्नो ठाउँमा होला, तर यसपटक माथिबाट आएको बाढीले ड्यामहरूलाई कसरी तहसनहस बनायो, त्यो गम्भीर छ। ड्यामहरू कहाँ र कस्तो ठाउँमा बनाउने भन्नेबारे सोच्नुपर्छ, किनकि बस्ती त ड्यामभन्दा पछि बनेको होइन, जुजुबाजीको पालादेखि नै त्यहाँ हाम्रा धेरै गाउँहरू बसोबास गर्दै आएका छन्।

सन् २०१५ मा लाङटाङमा आएको हिमपहिरो एउटा ठुलो चेतावती थियो र यसपटकको रसुवाको घटना पनि हामीलाई चेतावनी नै हो। हामीले यसअघि छ-सात महिना अगाडि पनि यस्तै समस्या भोगेका थियौँ, तर त्यो यसपटकभन्दा धेरै कम थियो। त्यसबेला हामीले “अब योभन्दा ठुलो विपद् आउँदैन” सोचेर कुनै पनि पूर्वतयारी र सावधानी अपनाएनौँ।

आजको यो भेटघाट र भेलाबाट हामीलाई केही न केही सहयोग र निकास मिलोस् भन्ने गहिरो आशा राख्दै, मेरो भनाइ यहीँ अन्त्य गर्छु। धन्यवाद।

(राजधानीको दरबारमार्गमा इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिज एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआर र खबरहबले सोमबार ‘जलावायु पीडितदेखि जलवायु नेतृत्वसम्म’ विषयक अन्तरक्रिया कार्यक्रममा स्याफ्रुबेंसीका स्थानीय छेतेन ग्याल्पोले राखेको मन्तव्यको सम्पादित संक्षिप्त अंश)

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ७ : १९ बजे

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

दाङ- दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ ।

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि

नेपाल प्रत्यायन केन्द्रको उद्घाटन

काठमाडौँ– सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका ‘नेपाल प्रत्यायन

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

बागलुङ– बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय

भारतीय विदेश सचिव मिश्रीले आज प्रधानमन्त्री शाहलाई भेट्दै

काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज