राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट « Khabarhub

राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कास्की– दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले खेलाडी छनोटलगायत तयारीलाई तीव्र गति दिएको छ । कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लागि यहाँका खेल सङ्घले तयारी अघि बढाएका हुन् ।

गण्डकी प्रदेश आर्चरी सङ्घले प्रतियोगिताका लागि २२ खेलाडी छनोट गरेको छ । सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित आर्चरी मैदानमा दुई दिनसम्म सञ्चालन भएको छनोट प्रतियोगिताबाट विभिन्न इभेन्टमा १२ पुरुष र १० महिला खेलाडी छनोट भएको गण्डकी आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए ।

छनोट भएका खेलाडीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछन् । छनोट प्रतियोगितामा मुस्ताङ, म्याग्दी, बागलुङ र कास्कीका गरी ३४ खेलाडी सहभागी भएका थिए । सहभागीमध्ये २४ पुरुष र १० महिला खेलाडी थिए ।

प्रतियोगिताको रिकर्भ ओपन पुरुषतर्फ कास्कीका अशिम शेरचन सर्वाधिक ६२७ अङ्क प्राप्त गर्दै छनोट भए । त्यस्तै बागलुङका दुर्गा घर्ती मगरले ६१७, मुकेश रोका मगरले ५७९ र खड्कबहादुर घर्ती मगरले ५७४ अङ्क प्राप्त गर्दै छनोटमा स्थान बनाए ।

रिकर्भ ओपन महिलातर्फ कास्कीकी रोजिना थापा मगर ५०४ अङ्क प्राप्त गर्दै शीर्ष स्थानमा रहिन् । अनुश्का शेरचनले ४७९, रिना गुरुङले ४७३ र सलिना गुरुङले ४१५ अङ्क प्राप्त गर्दै छनोट भए ।

कम्पाउण्ड पुरुषतर्फ कास्कीका सुरेश गुरुङले सर्वाधिक ६७६ अङ्क प्राप्त गरे । यसै इभेन्टमा म्याग्दीका सुमन गुरुङ तथा कास्कीका करुण बराल र खम्बा गुरुङ पनि छनोट भए । महिलातर्फ कास्कीका मोनिका राना र निता केसी छनोट भएका छन् ।

त्यसैगरी, स्ट्यान्डर्ड पुरुषतर्फ बागलुङका महित घर्ती मगर र रामबहादुर घर्ती मगर तथा म्याग्दीका प्रवेश फगामी र मिलन जुम्जाली छनोट भए । महिलातर्फ कास्कीका सैनानी श्रेष्ठ, जयल इशा आचार्य, सलिना गुरुङ र आरधना थापा छनोट भएका छन् ।

प्रतियोगितामा जिल्लागत रूपमा कास्कीबाट १७, बागलुङबाट छ, म्याग्दीबाट छ र मुस्ताङबाट पाँच जना खेलाडीको सहभागिता रहेको थियो । राष्ट्रिय खेलकुदका लागि आर्चरी लगायतका अन्य खेल सङ्घहरूले पनि छनोट प्रतियोगिता लगायतका तयारी सुरु गरेका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीले राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा निर्धारित मापदण्डअनुसार प्रक्रिया अघि बढाउन, आवश्यक तयारी गर्न तथा प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न सम्बन्धित जिल्ला खेलकुद विकास समितिलाई आग्रह गरिसकेको छ ।

परिषद्ले स्थानीय तह, जिल्ला खेलकुद विकास समिति तथा सम्बन्धित सरोकारवालाबीच समन्वय गरी निर्धारित समयभित्र छनोट प्रतियोगिता सम्पन्न गर्न अनुरोध गरेको छ ।

परिषद्ले खेलाडी छनोटलगायत गण्डकी प्रदेशको टोली निर्माणका लागि आवश्यक बजेटका लागि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरिसकिएको जनाएको छ ।

यसअघि गण्डकी प्रदेशको पोखरामा २०७९ साल असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो ।

नवौँमा गण्डकी प्रदेश प्रदेशमा पहिलो हुन सफल भएको थियो । नवौँको समापनका अवसरमा दुई वर्षपछि कर्णालीमा १०औँ संस्करण गर्ने घोषणा गरिएपनि चार वर्षपछि बल्ल प्रतियोगिता हुन लागेको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ७ : ४९ बजे

नेपाल प्रत्यायन केन्द्रको उद्घाटन

काठमाडौँ– सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका ‘नेपाल प्रत्यायन

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

बागलुङ– बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय

भारतीय विदेश सचिव मिश्रीले आज प्रधानमन्त्री शाहलाई भेट्दै

काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज

राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट

कास्की– दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले खेलाडी छनोटलगायत

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल