चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने भएको छ । वन्यजन्तुको आहार, बासस्थान र जैविक विविधता संरक्षणलाई लक्षित गरी घाँसे मैदान तथा सिमसार क्षेत्र व्यवस्थित गर्ने कामलाई प्राथमिकतामा राखिएको हो ।

निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार लक्ष्यअनुसार १२५ हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने काम सम्पन्न भइसकेको छ भने बाँकी क्षेत्रमा व्यवस्थित गर्ने काम अघि बढिरहेको छ ।

सूचना अधिकारी तिवारीले भने, ‘चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने लक्ष्य रहेको छ । त्यसमध्ये १२५ हेक्टर व्यवस्थित गर्ने काम सम्पन्न भइसकेको छ भने बाँकी काम कार्यान्वयनको चरणमा छ ।’

निकुञ्जभित्र रहेका ५८ भन्दा बढी प्राकृतिक तालतलैया तथा सिमसार क्षेत्रले जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । तिनको संरक्षण तथा व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा चारवटा नयाँ पोखरी निर्माण गर्ने कार्यक्रम रहेको सूचना अधिकारी तिवारले जानकारी दिए । तीमध्ये एउटा पोखरी निर्माण सम्पन्न भएको छ भने बाँकी तीनवटा निर्माणको प्रक्रियामा रहेका छन् ।

घाँसे मैदान र सिमसार क्षेत्र व्यवस्थित गर्ने कार्यन्वयनले वन्यजन्तुलाई आवश्यक आहार तथा पानीको उपलब्धता सहज बनाउनुका साथै उनीहरूको प्राकृतिक बासस्थान संरक्षणमा सहयोग पुग्ने निकुञ्जको अपेक्षा छ । विशेषगरी एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तुको संरक्षणलाई प्राथमिकतामा राखेर व्यवस्थित तथा संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार घाँसे मैदान व्यवस्थित गर्नका लागि यस वर्ष अघिल्ला वर्षको तुलनामा ठूलो कार्यक्रम आएको छ । करिब १६ सयदेखि १७ सय हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम अघि बढाउने योजना रहेको उनले बताए।

घाँसे मैदान व्यवस्थापनसँगै वन्यजन्तु अवलोकनका लागि मचान निर्माण गर्ने योजना रहेको वरिष्ठ संरक्षण अधिकृत पुनले जानकारी दिए । निकुञ्जको पूर्वी क्षेत्र, लामिताल र सुखिभार क्षेत्रमा मचान निर्माण गर्ने योजना छ । लामिताल र सुखिभार क्षेत्रमा मचान निर्माणको तयारी भइरहेको उनले बताए। ती मचान तीन तलासम्मका हुनेछन् । 

माथिल्लो तलामा वन्यजन्तु अवलोकन गर्ने भ्यू प्वाइन्ट र तल्लो तलामा पर्यटकका लागि आराम गर्ने स्थान बनाउने योजना रहेको उनले बताए। एउटा मचान निर्माणमा करिब रु ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । अहिले त्यसको विस्तृत लागत अनुमान तयार गर्ने काम भइरहेको छ ।

मचानसँगै पोखरी तथा वाटर होल व्यवस्थापन गर्दा वन्यजन्तुको अवलोकन सम्भावना बढ्ने र पर्यटकलाई निश्चित स्थानमा बसेर वन्यजन्तु हेर्न सहज हुने उहाँको भनाइ छ । वन्यजन्तुलाई अनावश्यक रूपमा बाधा नपुग्ने गरी पर्यटकको गतिविधि व्यवस्थित गर्ने उद्देश्यले यस्तो संरचना निर्माण गर्न लागिएको हो ।

निकुञ्जले घाँसे मैदान, तालतलैया तथा सिमसार क्षेत्रको व्यवस्थापनलाई निरन्तरता दिँदै वन्यजन्तुको बासस्थान संरक्षण र पर्यापर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ७ : ५२ बजे

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५०

कार्कीको पक्षमा सर्वोच्चले किन दिएन अन्तरिम आदेश ? यी हुन् तीन आधार

काठमाडाैँ – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर

बनेपामा चलचित्र स्टुडियो निर्माण अघि बढाउन सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपामा प्रस्तावित अत्याधुनिक

सुदूरपश्चिममा एनपीएल ट्रफी टुर : मङ्सिर १३ देखि २० गतेसम्म कहाँ कहाँ पुग्छ ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को ‘च्याम्पियन्स ट्रफी